ऋण लिएर अर्बपति, हजार बाँडेर आन्दोलन

  २०७९ फागुन २२ गते ९:३१     खेमराज शर्मा

पात्र  एकः एउटा बुढो मान्छे बैंक छिर्छन् । उनीसँग १५/२० लाख रुपैयाँ हुन्छ उनीसँग व्यापार व्यवसाय गर्ने आँट, कला, अनुभव केही पनि छैन । बैंकमै राखेर त्यसबाट आउने ब्याजले घर परिवार चलाउने सोच्छन् । तर आइडिया हुँदैन खाता भनेको के हो ? कस्तोमा राख्दा कति ब्याज आउँछ भनेरसम्म थाहा हुँदैन । बैंकको कर्मचारीले मुद्दतिमा धेरै ब्याज आउने र त्यसैमा राख्ने सल्लाह दिन्छन् । उसले त्यसै गर्छन् । बदलामा तीन तीन महिनामा खाताबाट आएको ब्याजले ती वृद्ध मान्छेको आजसम्म घर परिवार चलेको छ । बंैंकको सामन्जस्यता र जनताको बैंकप्रतिको विश्वास यसको मुल आधार हो ।

पात्र  दुईः एउटा युवा विदेश जान लाग्छन्, उसको परिवार अलि खर्चालु छ । परिवारको उसलाई त्यति विश्वास हुँदैन । वा भनौँ विदेशमा रगत पसिना बगाएर एक एक गरेर कमाएको पैसा कतै फजुल खर्च गरेर सक्ने पो हो कि भन्ने डर छ उसलाई । ऊ बैंकमा आई कसो गरुम भनेर सल्लाह माग्छन् । बैंकका कर्मचारी पनि हाँसीहाँसी मुस्कानका साथ परिवारको मासिक खर्च परिवारकै खातामा पठाउनु बाँकी पैसा आफ्नै खातामा पठाउनु र पछि विदेशवाट नेपाल आएपछि तपाईंको खाताको पैसाले तपाईंलाई व्यापार व्यवसाय जे गर्न मन लाग्छ गर्नु, बरु त्यतिखेर पैसा पुगेन भने हामी ऋण दिन्छौं भन्ने सल्लाह दिन्छन् । अनि त्यो युवा बैंकमा खाता खोली अब मैले विदेशमा कमाएको पैसा सुरक्षित हुने भो भनेर हाँसीहाँसी विदेश जान्छन् ।

पात्र तीनः
एउटा साधारण मान्छे गरिखान्छु, आफ्नै देशमा सानो तिनो व्यापार गर्छु भन्ने सोच्छन् तर बैंकले हामी जस्तोलाई के पत्याउँदो हो भनेर डराई डराई आश मारीमारी बैंक छिछर्न् । बदलामा बैंकका मिजाशिला हसिला कर्मचारीले सजिलैसँग लोन मिलाइ दिन्छन्, पत्याउछन्, त्यतिमात्र कहाँ होर व्यापारको आइडिया पनि दिन्छन्, व्यक्तिगत लाभ रत्तिभर नलिई बरु उल्टै कालो चिया खुवाउँछन् । साधारण मान्छे बैंकको ऋणी बन्दछन् । अलि पछि नियमित ब्याज र किस्ता ऋणीले तिरेको कारणले बैंकका कर्मचारी ऋणीलाई व्यापार बढाउन सल्लाह दिन्छन् । ऋणी पनि बैंकको सहयोग पाएर हौसिन्छन् ऋण थप्छन् । व्यापार बढाउछन् । व्यापारमा सँधै एकैनासले फाइदा मात्र हुँदैन कहीले काही सावा ब्याज तिर्न अलि ढिलो हुन्छ तर बैंकर समस्या बुझ्छन् । बजारको अवस्था, कोरोनाकालको व्यापारको घाटा । त्यसैले त ब्याजमा छुट पनि पाउछन् व्यापारीहरुले बैंकबाट ।

पात्र  चारः एउटा महिला सय कढा मासिक दुईको दरले व्यक्तिगत ऋण लिएर गाईवस्तु, खसी, कुखुरा पाल्छिन् । कुखुरा पनि राम्रै छ । गाईले पनि दुध दिइरहेको छ । बेचिरहेकी पनि छिन् । तर आर्थिक उन्नति भने भइरहेको हुँदैन । कसैले उसलाई घरै छेउको लघुवित्तमा महिला उद्यमी कर्जा सस्तो ब्याजमा ऋण लिने सल्लाह दिन्छन् । उनी खुशी हुन्छिन् र त्यसै गर्छिन् । त्यतिमात्र कहाँ हो र उनले लघुवित्त धाइरहनु पर्दैन । कर्मचारी घरमै आउँछन् । कलेक्सनमा उसलाई सजिलो भएको छ । आज उसको सस्तो ब्याजको कारणले उसको आर्थिक उन्नति पनि भएको छ ।

बैंक आफैमा केहि पनि होइन । बैंक भनेको त आम मानिसको हो । त्यो १५/२० लाख मुद्दतिमा राख्ने बुढो मान्छेको हो बैंक । विदेशमा रगत पसिना बगाएर एक एक गरी कमाएको पैसा जम्मा गर्ने त्यो युवाको हो बैंक । बैंकले त सानो सानो थोरै थोरै ती बुढा र युवा जस्ता लाखौंको जम्मा भएको करोडौं पैसा आफैसँग कहाँ राख्छ र उद्यम गर्छु, आफ्नै देशमा केहि गर्छु, रोजगारीको अवसर सृजना गर्छु, व्यापार व्यवसाय गर्छु भन्नेलाई निश्चित मापदण्ड र नियममा रहेर जनताको पैसा सुरक्षित हुने किसिमले बैंकले ती कुखुरा गाई पाल्ने महिलालाई लगानी गर्छ । बैंकले ती व्यापारीलाई लगानी गर्छ र लगानीबाट आएको ब्याज ती बुढा जस्ता लाखौंलाई दिन्छ । बैंकका कर्मचारीलाई तलव खुवाउँछ । सरकारलाई कर तिर्छ । त्यसपछि नाफा भयो भने लगानीकर्तालाई प्रतिफल दिन्छ । पछिल्लो समय बैंकहरुले निक्षेपकर्तालाई ११/१२ प्रतिशत व्याज दिएका छन् तर बैंकमा सेयर पुँजी लगानी गर्नेको लागि १० प्रतिशत लाभांश दिन पनि नसक्ने अवस्था छ ।

बैंकले जबरजस्ती कसैलाई ऋण लानु भन्दैन । र, भन्न पनि मिल्दैन । हो जनताको पैसा हो सुरक्षित गरिदिनु बैंकको कर्तव्य हो । ऋण लगेपछि सावा ब्याज तिर्नुपर्छ । जनताको पैसा हो तिरेन भने बैंकले कानुनी प्रक्रिया अपनाउँदछ । बैंक भनेको पैसा लिएर पैसा दिने हो । बैंकको आधार दर घट्दा ऋणको ब्याज पनि घट्दछ, आधार दर बढ्दा ब्याज पनि बढ्दछ ।

बैंक नै त हो नि जसले साइकलमा आएको ग्राहकलाई पत्याएर ऋण दिएर, आइडिया दिएर अर्बौको धनी बनाएका छन् । अहिले करोडौको कार चढ्ने भएका छन् । चन्द्र ढकाल, विनोद चौधरी, अन्जन श्रेष्ठ, शंकर अग्रवाल, देविप्रकाश भट्टचन, दुर्गा प्रसाईं जस्त ठूला व्यवसायी बनेका छन् । बैंक नहुँदो हो त उनीहरुको व्यापारमा लगानी बढ्दैनथ्यो । के अनि लाखौंले रोजगारी पाउँथे त ?

जसरी जब बच्चा सानो हुन्छ उसले आफ्नो बाबालाई अनेक प्रश्नहरु सोध्न थाल्छ । बदलामा बाबाले झर्को नमानी आफ्नो सन्तानका हरेक प्रश्नको जवाफ हाँसीहाँसी दिन्छन् । बच्चाले बाबामा आड भरोसा सहयोग देख्छ । सन्तानलाई लाग्दछ मेरो बाबालाई संसारको हरेक कुरा थाहाँ छ । मेरो बाबा मलाई केहि पर्दा मेरो ढाल/कबच बनेर मेरो लागि अगाडि आउँछन् । जब सन्तान अलि ठूलो हुन्छ सन्तानलाई लाग्छ मेरो बाबालाई सबै त होइन अलि अलि थाहाँ छ । सन्तान फेरि अझ अलि ठुलो हुन्छ अनि सन्तानलाई लाग्छ मेरो बाबालाई केहि थाहा छैन । मलाई सहयोग नै गर्दैनन् बाबाले । मेरो बाबा बुढा भए केहि थाहा छैन । के नै पो गरेका छन् र मेरो लागि । तर बाबा भनेको बाबा नै हो सन्तानको जहिल्यै सुःख मात्र सोच्छन् । हो, बैंक पनि एउटा अभिभावक जस्तै हो । सम्झनुस् त तपाईं पहिलो पटक ऋण लिन बैंकमा आउँदा बैंकले कत्ति धेरै सहयोग गरेको क्षण । त्यतिखेर तपाईंलाई लाग्थ्यो बैंक अभिभावक हो । यसले सहयोग गर्यो मलाई । हो, हेर्ने नजर फरक भएको हुनुपर्छ तपाईंको आज । बैंकले त आज पनि सहयोग नै गरिरहेको छ तपाईंलाई । माया गरिरहेकै छ तपाईंलाई ।

हो, आज दुई चार जना भ्रमित मान्छेहरुले बैंकलाई बच्चाले बाबालाई केहि थाहाँ छैन भने जस्तै बदनाम गराई रहेका छन् । बैंकरलाई कालोमोसो दल्ने कुरा गर्दै हिडिरहेका छन् । उनीहरुलाई आज यो थाहाँ छैन कि नेपालको बैंक तथा वित्तीय संस्थामा चार करोड ८३ लाखभन्दा धेरै निक्षेप खातावालाहरु छन् । उनीहरुले ५४ खर्बभन्दा धेरै रकम बैंकको विश्वासमा राखेका छन् । १८ लाखभन्दा धेरै ऋणीहरु व्यापार व्यवसाय गरिरहेका छन् । दुई चार जना भम्रित मान्छेहरुले व्यक्तिगत स्वार्थको लागि बैंकरलाई नै कालोमोसो दल्ने कुरा गर्दा के त्यो भनेको विश्वासमा राखेको करोडौं निक्षेपकर्ताको अपमान होइन । करोडौंको विश्वासको अपमान होइन । भोलि निक्षेपकर्ता भ्रमित मान्छेहरुबाट सशंकित भई सडकमा आए भने तपाईं त के राज्यले पनि थेग्न सक्दैन । यो तपाईंको कालोमोसो दल्ने प्रयास बैंकरलाई होइन बंैकरको नाममा जनतालाई नै हो । भोलि बैंकिङ क्षेत्र क्रयास भयो भने देश कहाँ पुग्छ । कालोमोसो दल्न खोज्ने ऋणीहरु समयमै संयम बन्नु राम्रो । ऋण लगेर सावा ब्याज तिर्न त तपाईंलाई यत्रो रोइलो छ, तपाईं दुई चार जना सडकमा आउँदा के के न गरे जस्तो भएको होला । भोली रगत पसिना एक एक गरेर कमाएका पैसावाला निक्षेपकर्ताहरु तपाईंकै कारणले असुरक्षित महशुस भए भने र बैंकले पनि सहजिकरणको भूमिका नगरी निक्षेपकर्तालाई तपाईंको पैसा कालोमोसो दल्न खोज्नेहरुले तिर्दिन भन्दैछन् भन्यो भने र तपाईं तिरै देखाइदियो भने त्यो मास त्यतिखेर दुर्गाप्रसाइ र तीनका अराजक समूहलाई घेर्न पुग्ने दिन आउँछ ।

बैंकले ऋण मिनाहा गर्नुपर्छ भनेर भनेर ऋणिहरुको आन्दोलनको नाममा अफवाह फैलाउने दुर्गा प्रसाई आफैले विभिन्न बैंकबाट ५ अर्ब रुपैयाँ भन्दा बढी कर्जा लिएका छन् । बैंकबाट कर्जा लिएर अस्पताल बनाएका छन् । ‘मैले अस्पताल बनाए, हजारौलाई रोजगारी दिएँ, सरकारलाई कर तिरेँ’ भनेर दावी गर्छन् । त्यहि बैंककाे पैसामा उनकाे रवाफ र पहुँच ज्ञानेन्द्र शाह, केपी वली र प्रचण्डसम्म पुगेकाे हाे । प्रचण्ड र केपीलाई खुवाएकाे मार्सी चामलकाे भात पनि बैंकबाट लिएकाे ऋण हाे । बैंककाे पैसामा बनेकाे हस्पतालमा उपचारको क्रममा मृत्यु भएको लास एक रात राखे वाफत २२ हजार पाँच सय रुपैयाँ लिदै अाएकाे छन् प्रसाइले । अनि अहिले बैंकको कर्जा तिर्दिन भन्छन् । दैनिक प्रतिव्यक्ति १ हजार रुपैयाँ बाँढेर बेरोजगारहरुलाई सडकमा भेला गराउँछन् र भाषण गर्छन्, बैंकको ऋण मिनाह हुनुपर्छ, राजतन्त्र स्थापना गर्नुपर्छ । दुर्गाको यो खेती कहिलेसम्म ? भ्रममा मान्छे कहिलेसम्म ?

5 comments on "ऋण लिएर अर्बपति, हजार बाँडेर आन्दोलन"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.