सानिमा रिलायन्सको नामबाट एकीकृत कारोबार गर्दै दुई बीमा कम्पनी

  २०७९ फागुन २१ गते १६:१३     विकासन्युज

फाइल फोटो : प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गर्दै दुई कम्पनीका सञ्चालक

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले आगामी चैत ९ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । दुई कम्पनीले सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार गर्न लागेका हुन् ।

एकीकृत कारोबार गर्न यी दुई कम्पनीले गत फागुन १८ गते नेपाल बीमा प्राधिकरणबाट अन्तिम स्वीकृति पाएका थिए ।

रिलायन्स लाइफ इन्स्योरेन्सका अध्यक्ष तारा चन्द केडियाका अनुसार दुई कम्पनी बराबर हैसियतमा मर्जरमा जान लागेका हुन् । तर मर्जपछि बन्ने कम्पनी सञ्चालक समितिको अध्यक्ष, सीईओ, डीसीईओ लगायतको विषयमा भने हाल टुंगो लागि नसकेको अध्यक्ष केडियाले बताए ।

‘यस विषयमा अब बस्ने बोर्ड बैठकले निर्णय गर्ने छ,’ उनले विकासन्युजसँग भने ।

मर्जरमा जानको लागि यी दुई कम्पनीले गत असार २९ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । उक्त प्रारम्भिक समझदारी पत्रमा रिलायन्स लाइफको तर्फबाट संचालक भरत कुमार तोदी र सानिमा लाइफको तर्फबाट संचालक घनश्याम थापाले हस्ताक्षर गरेका थिए । दुई कम्पनी एक आपसमा मर्ज हुने प्रस्तावलाई फागुन १२ गते सम्पन्न दुबै कम्पनीको साधारण सभाले पारित पनि गरिसकेको छ ।

हाल सानिमा लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब रुपैयाँ र रिलायन्स लाइफको २ अर्ब १० करोड रुपैयाँ छ । १ः१ को अनुपातमा मर्ज भएपछि बन्ने कम्पनीको चुक्ता पुँजी ४ अर्ब १० करोड रुपैयाँ नाघ्ने छ । जुन नेपाल बीमा प्राधिकरण (साविक बीमा समिति) ले तोकेको न्यूनतम पुँजीभन्दा कम हो । प्राधिकरणले जीवन बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.