सत्ता गुम्दाका कुकुर र संकटका बैंकर्स

  २०७९ फागुन १७ गते ११:२२     खेमराज शर्मा

नेपाली राजनैतिक बृत्तमा एउटा भनाई छ । जब जब देशमा सत्ता परिवर्तन हुनलाग्छ वा भनौं सत्तामा बसिरहेकाहरु आफ्नो सत्ता अरुलेनै हडप्ने होकी भन्ने सङ्केत थाहा पाउँछन् तब तब जनताका घरमा कुकुरले दुःख पाउँछन् ।

सत्तामा बसिरहेकाहरु आफनो सत्ता जोगाउन जोडबल गरेर प्रधानमन्त्रीले मन्त्रिलाई निर्देशन दिन्छन् । मन्त्रीले राज्यका निकायका उच्च पदस्थ अधिकारीलाई । उच्चपदस्थ अधिकारीले सचिवलाई, सचिवले सह-सचिव, उपसचिव, अधिकृतलाई, अधिकृतले सुब्बालाई, सुब्बाले खरदारलाई, खरदारले कार्यालय सहयोगीलाई । अनि कार्यालय सहयोगी चाहिँ आफूभन्दा माथिकाको हप्काईको पिडा घरमा गई श्रीमतीलाई र घरकी श्रीमतीले श्रीमान्को रिस बच्चालाई पोख्छिन् । बिचरा बच्चा कसलाई रिस पोखुन् ? घरको आँगनमा खेलिरहेको कुकुरलाई दुई लात्ती हिर्काउँदै पोख्छन्, अन्ततः बिचरा कुकुर चुईंचुईं र कुईंकुईं गर्दै घरको कुनामा गएर रुँदै बस्छ ।

हो, आजको नेपालको बैंकिङ क्षेत्र पनि मर्जर तथा तरलताको संकटले सीईओ, डीसीईओ, मेनेजर हँुदै झन् साना कर्मचारीले त सत्ता परिवर्तन हुँदा कुकुरले दुःख पाएँ झैं गरी दःुख पाईरहेका छन् । एकातिर नेपाल राष्ट्र बैंकको अल्पकालिन दुर दृष्टी देशमा कतिवटा बैंक चाहिने हो र कस्तो नीति बनाउँदा ठिक हुन्छ भन्ने थाहा नभइदिँदा र अर्कोतर्फ बैंकको व्यवस्थापकलाई यति नाफा कमाएर दिन्छु बरु मलाई सीईओ पद देऊ भनेर बचन दिँदा सीईओले डीसीईओ, एजीएम हुँदै बैंकका साना स्तरका कर्मचारीले दुःख पाएका छन्, ठिक त्यसैगरी जसरी आज सत्ता परिवर्तन हुन लाग्दा कुकुरले दुख पाएका छन् ।

आज बंैक तथा वित्तिय क्षेत्रमा काम गर्ने करिव १ लाख कर्मचारीहरुलाई आफ्नै काम थाहा नभएको आभास भएको छ । कहिले डिपोजिट टन्न हुँदा यसरी हुँदैन लोन गर्नुपर्यो, लोनको मार्केटिङ्ग गर्नुपर्यो भन्दै कर्मचारीलाई बैंक व्यवस्थापकले लोनको टार्गेट जबरजस्ती दिने अनि जवरजस्ती र सहज टार्गेट पुर्याउने नाममा जताततै ऋण लगानी गर्नाले आज नेपाली बैंकिङ क्षेत्र जोखिम मात्र होइन लिक्युडिटि क्राइसिसको अवस्थासम्म पुगेको छ ।

सामान्यतया कर्मचारी भन्नाले कार्यालयमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म बसेर कार्यालयमा आएका सेवाग्राहीको काम गर्ने मान्छे भन्ने बुझिन्छ । वास्तवमा कर्मचारी त बौद्घिक श्रम गर्ने मान्छे हो । त्यो भन्दा बढी समय काम लगाउनुपर्दाको अवस्थामा व्यवस्थापकले अर्को कर्मचारी नियुक्ति गर्नुपर्ने हुन्छ कि त सोही कर्मचारीलाई ओभरटाइम दिएर लगाउन सकिन्छ । तर आज नेपालको जनसंख्या करीब ३ करोड हाराहारी हुँदा “क” वर्गको करिब सबै २१ वटा बैकहरुको व्यक्तिगत खाता संख्यानै करोड भन्दा माथि पुगेको आँकलन छ । खाता त देशभरिको सबै जनसंख्याको खुलिसकेको छ । बैंकिङ च्यानलमा आइसकेकै छ त तर पनि नयाँ खोल्नु पर्ने दवाव किन ? देशको जनसंख्या वृद्धिदर दुई प्रतिशत पुगनपुग छ । बैंकको खाता वृद्धि चाहिँ दश प्रतिशत हुनुपर्ने यो कस्तो बैंक व्यवस्थापकको महत्वकांक्षा हो ? कस्तो टार्गेट हो ? लगानी गर्न अहिले जनतालाई बैंकबाट पैसा चाहिएको बेला उल्टै कर्मचारी डिपोजिट खोज्दै घरघर मार्केटिङ्गमा कसरी जान सक्छन् ?

सर्वप्रथम त कर्मचारी भनेको के हो भन्ने प्रश्नको उत्तर खोज्नु जरुरी छ । अफिसमा काम गर्ने कर्मचारी डिपोजिट खोज्दै मार्केटमा जान मिल्छ कि मिल्दैन ? मिल्छ भने कार्यालयको काम चाहिँ कसले गरिदिने ? के बैंक व्यवस्थापकले मार्केटिङ्गको लागि छुटै कर्मचारी नियुक्त गर्नु पर्दैन ? एउटै कर्मचारीलाई मार्केट पनि कुदाउने अनि कार्यालयमा पनि खटाउने ? मार्केटिङको नाममा राती अवेरसम्म कर्मचारीलाई राख्ने ? टे्रनिङको नाममा शनिवार पनि कार्यालय बोलाउने ? झन् सरकारले त अब आकस्मिक विदाको दिन पनि कार्यालय दश बजेदेखि डेढ बजेसम्म खोल्नुपर्ने ठाडो निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले चाहिँ विदाको दिनमा कर्मचारी बोलाउँदा ओभर टाइम पैशा दिनुपर्छ है भनेर बैक व्यवस्थापकलाई चाहिँ किन भन्न हिचकिचाएको ?

अरु त अरु खुल्ला रुपमा नै आज व्यापारीहरु बैंकको ऋण र व्याज खाएपछि तिर्नु त कता हो कता उल्टै बैंकरलाई जहाँ देख्यो कालोमोसो दल्छौं भन्दै सार्वजनिक कार्यक्रममा भाषण गर्दा त्यसको प्रतिरक्षामा नेपाल राष्ट्र बैंक खै बोलेको ? भोलि कर्मचारीलाई कालोमोसो दलेर सार्वजनिक बेज्जती गरे भने त्यसको जिम्मेवारी कसले लिने ? हेर्दा बैंकर टाइसुट लगाएर अफिस गएको देख्छन् मान्छेहरु । राम्रो जागिर देख्छन् देख्नेहरुले । देख्नेहरुले बैंकरहरुलाई के-के देख्छन् देख्छन् तर आज अभिभावकविहीन जस्ता भएका बैकरहरु भने आफंैले आफैंलाई व्यवस्थापकले दिएको टार्गेटको पीडाले थिचिएर जागिर जोगाउन डिपोजिट खोज्दै ग्राहकको पसलपसल अनि घरघर जाँदा आफंैले आफंैलाई कोट लगाएका माग्ने भन्दा फगत केहि देख्दैनन् । भनौं, सत्ता परिवर्तन हुन लाग्दाको दुःख पाएको कुकुर झैं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.