नेपाली लेखक संघ गण्डकीले दौँतरी शृङ्खला आयोजना गर्ने

  २०७९ फागुन ९ गते १५:३०     विकासन्युज

पोखरा । नेपाली लेखक संघ, गण्डकी प्रदेशले आफ्नो नियमित कार्यक्रमका रूपमा दौँतरी शृङ्खला आयोजना गर्ने भएको छ । संस्थाको फागुन ९ गते बसेको सचिवालय बैठकले कार्यक्रम गर्ने निर्णय गरेको हो ।

सिर्जना तथा लेखनमा समकालीन एउटै पुस्ताका दुई जना स्रष्टालाई मञ्चमा उभ्याएर समकालीन स्वर प्रस्तुत गर्ने हेतुले यस कार्यक्रमको आयोजना गर्न लागिएको संस्थाले जनाएको छ ।

संस्थाको अनुसार दौँतरी शृङ्खलाको पहिलो शृङ्खला ‘शुभारम्भ शृङ्खला’ आगामी चैत्र ११ गते पोखरामा सम्पन्न हुनेछ । शुभारम्भ शृङ्खलामा नेपाली कविताका मानक कविहरू सरूभक्त र तीर्थ श्रेष्ठलाई दौँतरी कविका रूपमा उभ्याउने निर्णय पनि सोही बैठकले गरेको छ ।

‘दौँतरी’ शृङ्खलालाई संस्थाको नियमित कार्यक्रमका रूपमा सम्पन्न गर्दै जाने संस्थाले निर्णय गरेको छ । दौँतरी शृङ्खलामा कविता, गजल, मुक्तक, गीत, बहसलगायत अन्य विविध प्रस्तुति समेट्दै लगिने बताइएको छ ।

सोही अवसरमा संस्थाले अन्य साङ्गठनिक निर्णयहरू पनि गरेको छ । गण्डकी प्रदेशका लमजुङ, कास्की र नवलपुर जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गर्ने विषयलाई पनि प्राथमिकतामा राखेर निर्णय गरिएको संघका अध्यक्ष डा. ईश्वरमणि अधिकारीले जानकारी दिए ।

संस्थाका अध्यक्ष डा। ईश्वरमणि अधिकारीको अध्यक्षतामा उक्त बैठक सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.