‘सहकारीमा टाठाबाठाले मात्रै लाभांश पाए, राजनितिज्ञले संस्था चलाउँदा समस्या आयो’

  २०७९ फागुन ६ गते १३:४२     विकासन्युज

काठमाडौं । सहकारी विभागमा उपरजिष्ट्रार टोलराज उपाध्यायले सहकारीमा टाठाबाठाले मात्रै लाभांश पाउने अभ्यास रहेको बताएका छन् । सहकारी विभाग र नेपाल सहकारी पत्रकार समाजको संयुक्त आयोजनामा सञ्चालित कार्यक्रममा आफ्नो प्रस्तुती राख्दै उनले सहकारी संस्थाहरुले वितरण गर्ने लाभांश टाठाबाठाले मात्रै पाउने बताएका हुन् । उनले सेयर सदस्य भएपनि पहुँच नभएकाहरुले भने नपाउने धारणा राखे ।

शनिबार सहकारीको सुशासन, नियमन र प्रवर्द्धनको विषयमा पस्तुति राख्दै उनले राजनीतिक मान्छेले नै सहकारी संस्था चलाउँदा समस्या आएको बताए । उनका अनुसार सहकारीमा स्वनियमनको विषय ल्याउँदा पनि नै समस्या आएको हो ।

यस्तै, उपरजिष्ट्रार उपाध्यायले संविधानमा उल्लेख सहकारीका विषयलाई जानकारी गराउँदै अब विभाग सधैंभरी बतासे तथ्यांक लिएर अगाडि नबढ्ने बताए ।

‘अहिले सहकारीको संख्या र संस्थाको हरेक सूचकको विषयमा यकिन तथ्यांक कसैलाई थाहा छैन, अब हामी तथ्यांक बनाउँछौं, त्यसमा लागि स्थानीय तहहरुसँग समन्वय गर्छौं’ उनले भने ।

२०७५ मा संघीय सरकारले तयार पारेको सुचना प्रणाली (कोपोमिस)मा संघ संस्था आवद्ध हुनु पर्ने अनिवार्य गरेको गरेको बताउँदै उनले कोपोमिसमा आवद्ध हुन २९ हजारले पासवर्ड लिएको र १७ हजार संस्थाले एक पटक लगइन गरेको जानकारी गराए ।

यस्तै, उनले स्थानीय अर्थतन्त्रमा रहेको योगदान र यो क्षेत्रको गुणस्तरको विषयमा पनि समीक्षा गर्नु पर्ने, तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको र सबैको बुझाइमा एकरुपता ल्याउनु पर्ने धारणा राखे ।

शुक्रबारदेखि सुरु भएको सहकारी पत्रकारिता तालिम शनिबार सकिएको छ । तालिममा पाँच जना प्रशिक्षकले प्रशिक्षण दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.