सेती रिभर-६ आयोजनाको सर्वेक्षण गर्न भारतीय कम्पनीले दियो आवेदन

  २०७९ फागुन ४ गते १८:१८     विकासन्युज

काठमाडौं । पश्चिम सेती जलविद्युत् आयोजनासँगै बनाउने भनिएको सेती रिभर-६ (एसआर-६) आयोजनाको सर्वेक्षण अनुमतिपत्र लिनका लागि भारतीय कम्पनी नेसनल हाइड्रोइलेक्ट्रिक पावर कर्पोरेसन (एनएचपिसी) लिमिटेडले आवेदन दिएको छ ।

एसआर-६ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमति लिन एनएचपिसीले आज आवेदन बुझाएको लगानी बोर्ड कार्यालयका उपसचिव रमेश अधिकारीले जानकारी दिए । ‘एनएचपिसीले एसआर-६ आयोजनाको सर्भे लाइसेन्सलाई आवेदन दिएको छ । बैंकको पर्फमेन्स बण्डसहित बुझाइएको आवेदनमाथि लगानी बोर्डले सबै प्रक्रिया हेरेर थप निर्णय लिन्छ,’ अधिकारीले भने ।

सात सय ५० मेगावाट उत्पादन क्षमताको पश्चिम सेती र चार सय ५० मेगावाट उत्पादन क्षमताको एसआर-६ को विस्तृत परियोजना अध्ययनलाई सर्वेक्षण अनुमतिपत्र जारी गर्न लगानी बोर्डको कार्यालय र एनएचपिसीबीच गत भदौ २ गते सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । समझदारीपत्रअनुसार एनएचपिसीले पश्चिम सेती जलविद्युत् परियोजनाको सर्वेक्षण अनुमतिपत्रका लागि सम्झौता भएको मितिले ४५ दिन र एसआर-६ जलविद्युत् आयोजनालाई छ महिनाभित्र आवेदन दिइसक्नुपर्ने हुन्छ ।

पश्चिम सेतीका लागि भने एनएचपिसीले सर्वेक्षण लाइसेन्स लिइसकेको छ । पश्चिम सेती आयोजनाको प्रारम्भिक सर्वेक्षण प्रतिवेदन (इन्स्पेक्सन रिपोर्ट) पनि एनएचपिसीले बुझाइसकेको उपसचिव अधिकारीले जानकारी दिए । ‘पश्चिम सेतीको इन्स्पेक्सन रिपोर्ट आइसकेको छ र त्यसमा लगानी बोर्डले प्रतिक्रिया (कमेन्ट) पनि दिइसकेको छ । एनएचपिसीले अब त्यसलाई थप परिस्कृत गर्छ,’ उनले भने ।

दुई पक्षबीच भएको समझदारीअनुसार एनएचपिसीले सर्वेक्षण अनुमति पाएको दुई वर्षभित्र यी दुवै परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) लगानी बोर्डको कार्यालयमा पेस गर्नुपर्नेछ । परियोजनाको भौगर्भिक, प्राविधिक, सामाजिक, आर्थिक तथा वातावरणीय पक्ष, परियोजनाको अनुमानित लागत, आयोजना निर्माण सुरु तथा सम्पन्न हुने समय र कार्ययोजना, बजार सुनिश्चितता, प्रसारण लाइन निर्माण, वित्तीय स्रोतको उपलब्धतालगायतका विवरण एनएचपिसीले लगानी बोर्डलाई बुझाउनुपर्नेछ । त्यसपछि मात्रै परियोजना विकास सम्झौता (पीडीए)को प्रक्रिया अघि बढ्नेछ ।

पश्चिम सेती र एसआर-६ आयोजना एउटै नदी बेसिनमा ५० किलोमिटरको दूरीमा पर्दछन् । पश्चिम सेती माथिल्लो तटीय र एसआर-६ तल्लो तटीय आयोजना हो । लगानी बोर्डका अनुसार पश्चिम सेती आयोजनाको लागत एक हजार तीन सय २० मिलियन अमेरिकी डलर र एसआर-६ आयोजनाको लागत आठ सय मिलियन अमेरिकी डलर बराबर अनुमान गरिएको छ । गत जेठ २३ मा बसेको लगानी बोर्डको ५१औँ बैठकले यी दुई आयोजनाको विकास तथा लगानीको खाका तयार पार्ने जिम्मा एनएचपिसी लिमिटेडलाई दिने निर्णय गरेको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.