हुलाकी सडकमा पर्ने तीन पुलको निर्माण सकियो, ५ अन्तिम चरणमा

  २०७९ फागुन ४ गते १५:४०     विकासन्युज

झापा । पूर्व–पश्चिम राजमार्गको विकल्पका रुपमा निर्माण गरिएको हुलाकी राजमार्गमा पर्ने आठ पुलमध्ये हालसम्म तीनको मात्र निर्माण काम सम्पन्न भएको छ । बाँकी निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको राजमार्गको झापा खण्ड ४८ किलोमिटर छ भने यहाँ ठूलासाना नदीमा पुल निर्माणाधीन छन् । तीमध्ये कमल, किस्ने र मेचीपुलको निर्माणको काम सम्पन्न भइसकेको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इञ्जिनीयर प्रमोद खतिवडाले जानकारी दिए ।

उनले झापा खण्डमा पर्ने हुलाकी सडकको निर्माण सम्पन्न भए पनि पुलको निर्माण समयमै हुन नसक्दा सडक सञ्चालनमा आउन नसकेको बताए । उनले बन्दै गरेका अधिकांश पुलको ६० देखि ९६ प्रतिशत भौतिक प्रगति भइसकेको बताए ।

उनका अनुसार विसं २०६८ देखि २०७६ सम्ममा ठेक्का लागेका सबै पुलको निर्माणको काम आगामी २०८० साल असार मसान्तभित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ । हुलाकी सडकमा पर्ने विरिङ पुल विसं २०६८ मा लामा मैनाचुली जेभीले ठेक्का लिएर काम सुरु गरेको थियो ।

ठेकेदारको लापरवाही, कोराना महामारी र मुलुकमा राजनीतिक अस्थिरताका कारण सो पुल निर्माणमा ढिलाइ भएको थियो । पटकपटक म्याद थप गरी हाल सो पुलको भौतिक प्रगति ८० प्रतिशत भइसकेको उनको भनाइ छ । उनले तीव्ररुपमा निर्माण भइरहेको विरिङ पुलको तीन महिनाभित्रमा निर्माण सकिने बताए ।

हुलाकी सडकमा पर्ने भुतेनी खोलाको भौतिक प्रगति ८८ प्रतिशत लेहराको ६८ प्रतिशत, सानोमाईको ९० प्रतिशत भइसकेको उनले जानकारी दिए । यसैगरी लामो समय अलपत्र परेको झापा–मोरङ जोड्ने रतुवा खोलाको पुल निर्माणसमेत सुरु भइसकेको छ ।

भद्रपुरको मेची पुलदेखि मोरङको सिमानामा रहेको रतुवा खोलासम्मको करिब ४८ किलोमिटर कालोपत्रसहितको सडक निर्माण सकिएको इञ्जिनीयर खतिवडालेले बताए । सडक दुई लेनको बनेको छ । उनले बस्ती नभएको स्थानमा सात मिटर चौडाइ भएको र बाक्लो बस्ती भएको बजार क्षेत्रमा दुवै सडकको किनारमा नालीसहित १२ मिटरको सडक निर्माण भएको बताए ।

मेचीपुलदेखि राजगढको जनता बजारसम्मको २० किमी सडकको ठेक्का आशिष याक्थुमहाङ जेभी र जनता बजारदेखि रतुवा खोलासम्मको करिब २८ किलोमिटर पिएस गजुरमुखी मोतिदान जेभीले लिएका थिए । पूर्वमेचीदेखि पश्चिम महाकालीको दोधारा–चाँदनी पुलसम्म एक हजार छ सय मिटरको हुलाकी बाटो निर्माणपछि तराई–मधेसका सर्वसाधारणको जीवनस्तर उकास्न मद्दत बताइन्छ ।

त्यसैगरी हुलाकी सडकअन्तर्गतकै चारआली केचनासम्मको सडकको निर्माणको काम अन्तिम चरणमा पुगेको छ । करिब ४० किमी सडकमध्ये ३९ किमी सडकको निर्माण सकिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.