आईएमई समूह उद्योगमा प्रवेश, कात्तिकबाट पेपर उत्पादन थाल्ने

  २०७९ फागुन २ गते १२:५८     विकासन्युज

काठमाडौं । रेमिट्यान्स, बैंकिङ, बीमा, पर्यटन, जलविद्युत्, व्यापार, सूचना प्रविधिमा लगानी विस्तार गर्दै आएको आईएमई समूहले उत्पादन मूलक उद्योगमा हात हालेको छ । सर्राफ समूहसँगको साझेदारीमा आईएमई समूह कागज उद्योगमा स्थापना गर्दैछ ।

नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज प्रा.लिले महोत्तरीको राम नगरमा ११ विघा जमिन किनेर कागज उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याउँदैछ । यो उद्योगले आगामी दशैंतिहारको बीचमा कागज उत्पादन थाल्ने आईएमई समूहका वरिष्ठ उपाध्यक्ष सुमन पोखरेलले जानकारी दिए ।

उद्योगले उच्च गुणस्तरको पेपर उत्पादन गर्ने जनाइएको छ । ‘हामीले फोटो तथा प्रिन्टमा प्रयोग हुने एफोर साइजको पेपर उत्पादनमा जोड दिन्छौं । बजारको मागअनुसार हामी सबै साइजको कागज उत्पादन गर्न सक्छौं’ पोखरेलले भने ।

नेपालमा वार्षिक करिब ६० हजार मेट्रिकटन कागज खपत हुने अनुमान गरिएको छ । नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिजको उत्पादन क्षमता दैनिक ७५ मेट्रिकटन हुनेछ । ‘कुल पेपर बजारको करिब २५ प्रतिशत बजार हिस्सा लिन सकिने अनुमानसहित दैनिक ७५ मेट्रिकटन उत्पादन क्षमताको उद्योग स्थापना गर्न लागेका हौं’ पोखरेलले भने ।

नेपालीले फोटोकपी वा प्रिन्टर्समा प्रयोग गर्ने सबै कागज हाल विदेशबाट आयात हुने गरेको छ । पेपर आयात प्रतिस्थापन गर्न यस उद्योगले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

यस्तो पेपर उत्पादनको लागि आवश्यक कच्चा पदार्थ पल्पको भने आयात गर्नुको विकल्प छैन । कम्पनीले कच्चा पदार्थ इन्डोनेसिया, भारत वा अन्य देशबाट आयात गर्ने छ । ‘पल्प आयात गर्नुको विकल्प हामीसँग छैन । तर यो उद्योग उच्च भ्यालु एडिसन गर्ने उद्योगमा पर्छ’ उनले भने ।

उद्योगमा आईएमई समूहको ४० प्रतिशत सेयर लगानी रहेको छ । सर्राफ समूहको ३० प्रतिशत लगानी छ । सुनिल गोपाल श्रेष्ठ र ओम ज्ञवालीको १५/१५ प्रतिशत सेयर लगानी छ । यो उद्योगमा करिब १ अर्ब ५० करोड रुपैयाँ लगानी हुने अनुमान गरिएको छ । यस उद्योगमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र एभरेष्ट बैंकले कर्जा लगानी गरेका छन् ।

सर्राफ समूहको कौसल किशोर सर्राफ कागज उद्योगका अनुभवी उद्यमी हुन् । एभरेष्ट पेपर मिल समेत चलाउँदै आएका सर्राफसँग यस क्षेत्रको बारेमा लामो अध्ययन र अनुभव रहेको छ ।

मेसिन राख्ने क्षेत्र, गोदाम, कर्मचारी आवास लगायतको निर्माण कार्य भैरहेको छ । मेसिन खरिदको सम्झौतासँगै आयातको लागि एलसी खोल्ने काम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.