राष्ट्रिय गौरवका आयोजनाको लागत तीन गुणाले बढ्यो, यस्तो छ २४ आयोजनाको प्रगति

  २०७९ फागुन २ गते १०:३३     विकासन्युज

काठमाडौं । राष्ट्रिय गौरवका आयोजना अन्तर्गत रहेका विभिन्न २४ वटा आयोजनाको खर्च न्यून रहेको पाइएको छ । आर्थिक वर्ष २०५५/०५६ सालदेखि हालसम्म सञ्चालित विभिन्न २४ वटा आयोजना समयमा निर्माण सम्पन्न नहुँदा लागत तीन गुणासम्म बढेको पाइएको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको गौरवका आयोजनाको तथ्यांक अनुसार लागत प्रारम्भीक लागतको तुलनामा तीन गुणबढी खर्चको अनुमान गरिएको छ । २०५५/५६ मा सुरु भएको मेलम्ची खानेपानी आयोजनादेखि केही सुरु हुन बाँकी आयोजनालाई समेत राष्ट्रिय गौरवको आयोजनामा राखेको छ । पटक–पटक लागत अनुमान संशोधन गर्दा अधिकांश आयोजनामा लागत बढेको हो ।

उक्त आयोजनाको ६ खर्ब १२ अर्ब १ करोड ३० लाख रुपैयाँ प्रारम्भीक लागत रहेको थियो । समयमा निर्माण सम्पन्न नहुँदा १८ खर्ब ९५ अर्ब ५४ लाख ७९ हजार रुपैयाँ पुगेको छ ।

वर्षौंदेखि विभिन्न कारणले बन्न नसकेका आयोजनाहरू र केही महत्वाकांक्षी भनिएको आयोजनाको शीघ्र निर्माणका लागि गौरवका आयोजनाको घोषणा नेपाल सरकारको निर्णयअनुसार गरिएको थियो । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको कार्यकालमा २०६८/६९ मा १७ वटा आयोजनालाई राष्ट्रिय गौरवको सूचीमा समावेश गरिएको थियो ।

दोस्रो पटक, आव २०७०/७१ मा चारवटा, तेस्रो पटक आव २०७५/७६ मा एउटा, आव २०७६/७७ मा एक र आव २०७७/७८ को बजेट वक्तव्यमार्फत ‘महाकाली सिँचाइ आयोजनालाई गौरवको आयोजनाको रूपमा विकास गरिनेछ’ भनेसँगै हालसम्म राष्ट्रिय गौरवका आयोजनाको संख्या २४ पुगेको छ ।

५ महिनामा १५ प्रतिशत खर्च

अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिना (गत साउनदेखि पुस मसान्तसम्म) को तथ्यांक अनुसार १५ प्रतिशत मात्रै बजेट खर्च भएको हो ।

मुलुकको आर्थिक सामाजिक रुपान्तरण गर्न सघाउ पुयाउने रणनीतिक महत्वका आयोजना, वित्तीय र प्राविधिक रूपमा चुनौतीपूर्ण रहेका ठूला आयोजना र साँस्कृतिक महत्वका २४ आयोजनालाई नेपाल सरकारले राष्ट्रिय गौरवका आयोजनाका रूपमा निर्णय गरी कार्यान्वयनमा ल्याएको छ ।

ऊर्जा, सिँचाई, खानेपानी, सडक, पर्यटन, वन क्षेत्र संरक्षणसँग सम्बन्धित आयोजनालाई गौरवका आयोजनामा समावेश गरेर बजेट विनियोजन गर्दा नै सरकारले उच्च प्राथमिकतामा राख्ने गरेको छ ।

राष्ट्रिय गौरवका आयोजनाहरू मध्ये माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण सम्पन्न भई सकेको, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गत जेठ २ गतेबाट व्यावसायिक उडान सुरु भएको र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन फ्लाइट सम्पन्न भई आन्तरिकतर्फको उडान सञ्चालनमा आएको छ ।

यस्तै, पश्चिम सेती जलविद्युत आयोजनाको निर्माण विधि तयार नहुँदा आयोजना सुरु हुन सकेको छैन भने बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा वितरणको कार्य जारी छ ।

अन्य आयोजनाहरू निर्माणको विभिन्न चरणमा रहेका छन् । चालु आर्थिक वर्षमा राष्ट्रिय गौरवका आयोजनाका लागि सरकारले ९८ अर्ब ९७ करोड ६४ लाख रुपैयाँ विनियोजन गरेको थियो । जसमा चालुतर्फ ३ अर्ब ५७ करोड ७९ लाख रुपैयाँ, पुँजीगततर्फ ८८ अर्ब ५३ करोड ८५ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ६ अर्ब ८६ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

उक्त रकम विनियोजन भएकोमा ६ महिनाको अबधिमा १५ अर्ब ८ लाख अर्थात १५.१६ प्रतिशत मात्र खर्च भएको छ । जसमा चालुतर्फ ८० करोड ७९ लाख रुपैयाँ, पुँजीगततर्फ १४ अर्ब ५ करोड १६ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ १४ करोड १३ लाख रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

कुन आयोजनाको अवस्था के छ ?

मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार ६ महिनाको अवधिमा पुष्पलाल मध्यपहाडी राजमार्गको भौतिक प्रगति १८ प्रतिशत भएको छ । एक हजार ८७९ किलोमिटर (किमी) सडकमध्ये एक हजार २५९ किमी कालोपत्रे भएको छ भने १३७ पुल बनाउनुपर्नेमा ९३ वटा पुल निर्माण गरिएको छ ।

२०६४/०६५ सालमा सुरु भएको उक्त आयोजनाका लागि ३३ अर्ब ६६ करोड रुपैयाँ प्रारम्भिक लागत अनुमान गरिएकोमा बढेर ८४ अर्ब ३३ करोड रुपैयाँ भएको छ ।

हुलाकी राजमार्ग कुल एक हजार ७९२ किमीमध्ये हालसम्म ८९१ किमी कालोपत्रे सम्पन्न गरिएको छ । २१९ कुल पुलमध्ये ११५ पुल निर्माण सकिएको छ । २०६६/०६७ सालमा सुरु भएको उक्त आयोजनाका लागि ४७ अर्ब २४ करोड रुपैयाँ अनुमान गरिएकोमा हाल बढेर ६५ अर्ब २४ करोड रुपैयाँ पुगेको छ ।

यस्तै, २०६४/०६५ सालमा निर्माण सुरु गरिएको उक्तर दक्षिण लोकमार्गका लागि ४१ अर्ब रुपैयाँ अनुमान गरिएकोमा हालसम्म ६६ अर्ब ६० करोड रुपैयाँ खर्च भएको छ । कुल २६८ किमिमध्ये हालसम्म २६३ किमी ट्रयाक खोल्ने कार्य पुरा भएको उल्लेख छ ।

रेल मेट्रा रेल तथा मनोरेल विकास आयोजनाका लागि ७० अर्ब ६२ करोड रुपैयाँ अनुमान गरिएकोमा ९ खर्ब ५५ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।

काठमाडौं तराई मधेस द्रुतमार्ग आयोजनाका लागि १ खर्ब १६ अर्ब रुपैयाँ अनुमान गरिएकोमा १ खर्ब ७५ अर्ब १९ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । पुस मसान्तसम्म उक्त आयोजनको भौतिक प्रगति ९.११ प्रतिशत रहेको छ ।

लुम्बिनी विकास कोष अन्तर्गत ५ अर्ब ५५ करोड रुपैयाँ अनुमान गरिएकोमा १ खर्ब ३२ अर्ब ६० करोड रुपैयाँ खर्च हुने भएको छ । हालसम्म् बृहत्तर लुम्बिनी क्षेत्रको गुरूयोजनाको अवधारणा तयार भएको उल्लेख गरिएको उक्त योजनाको प्रगति २४ प्रतिशत रहेको छ ।

बबई सिँचाई आयोजनाका लागि २८ करोड ७० लाख रुपैयाँ अनुमान गरिएकोमा १ खर्ब ८९ अर्ब ६० करोड रुपैयाँ खर्च हुने अनुमान छ । उक्त आयोजना अन्तरगत पुस मसान्तसम्म हेडवर्कस् निर्माण सकिएको छ ।

रानी जमरा कुलरिया सिँचाई आयोजनाका लागि १२ अर्ब ३७ करोड रुपैयाँ खर्च हुने अनुमान रहेकोमा २७ अर्ब ५० करोड रुपैयाँ खर्च भएको छ । सो आयोजनाका लागि गेट जडानको कार्य सकिएको छ भने पावर हाउसको करिब ९५ प्रतिशत काम सकिएको छ ।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि १ अर्ब २५ करोड रुपैयाँ खर्च हुने अनुमान रहेकोमा २ खर्ब ४९ अर्ब ७० करोड रुपैयाँ खर्च भैसकेको छ । सो आयोजना अन्तरगत तालतलैया सिमसार संरक्षण तथा व्यवस्थापन ४० वटा गल्छी, पहिरो खहरे रोकथाम भएको छ भने ९.१० किमी नदी तथा खोला किनारा स्थिरिकरण ३० हजार विरूवा उत्पादन खरिद सकिएको छ ।

अर्थविद विश्वास गौचन योजना तथा बजेट देशको वास्तविकता तथा क्षमताको आधारमा निर्र्माण नगर्दा न्यून खर्च हुने गरेको बताउँछन् ।

‘चीनले पनि हासिल गर्न नसकेको आर्थिक विकासको लक्ष्य समेतेर आवधिक विकास योजना तयार गछौँ, त्यसै अनुरुप बजेटको लक्ष्य पनि तय गछौँ, अनि कसरी खर्च गर्न सक्छाैं’, उनले भने । उनले महत्वकाक्षीय योजना राख्दा सम्पन्न हुन नसकेको समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.