२०७९ माघ २६ गते १८:२७ विकासन्युज
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले शुक्रबार चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने तयारी गरेको हो ।
मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्नका लागि राष्ट्र बैंकले शुक्रबार बिहान सञ्चालक समितिको बैठक बोलाएको छ भने दिउसो समीक्षा सार्वजनिक गर्ने बताइएको छ ।
मौद्रिक नीतिको समीक्षा सार्वजनिक हुने भएसँगै धेरैलाई समीक्षा कस्तो आउला भन्ने चासो पनि बढेको छ । राष्ट्र बैंकका एक कार्यकारी निर्देशकका अनुसार यस पटकको मौद्रिक नीति समीक्षामा धेरै फेरवदल हुने छैन । तथापि, वर्तमान अर्थतन्त्रमा देखिएको समसलाई समाधानतर्फ लिनको लागि केही टुल्सहरु प्रयोग गर्नु पर्ने बाध्यता देखिएको उनको भनाइ छ ।
‘अहिले अर्थतन्त्रका सूचकहरु केही सुधारको अवस्थामा छन्, धेरै नीतिहरु नै परिवर्तन गर्नु पर्ने आवश्यकता अहिले छैन, नीतिगत दरहरु चलाउने मनसायमा राष्ट्र बैंक छैन, तथापि साना व्यवसायीहरुलाई एक किसिमको सकस भएको हामीले बुझेका छौं, तिनीहरुको समस्या समाधानको नीति राष्ट्र बैंकले ल्याउँछ, तर ब्याजदर भने घट्ने÷बढ्ने भन्ने हुँदैन,’ स्रोतले भन्यो ।
अहिले उद्योगी व्यवसायीहरु बैंक तथा वित्तीय संस्थाबाट कर्जा नपाएको पाए पनि महँगो ब्याज तिर्नु परेको गुनासो गरिरहेका छन् । सेयर लगानीकर्ताहरु पनि राष्ट्र बैंकले सेयर बजारसम्बन्धि केही लचक अपनाओस् भन्ने चाहन्छन् । तर, राष्ट्र बैंक भने अहिले नै सेयर बजारप्रति लचक बन्ने देखिँदैन ।
राष्ट्र बैंकले सेयरधितो कर्जामा १२ करोड रुपैयाँको सीमा तोकेको छ । लगानीकर्ताहरु सो सीमा राष्ट्र बैंकले हटाओस् भन्ने चाहन्छन् । बैंकहरूले सेयर धितोमा गरेको कर्जा लगानीको लागि राखिने जोखिम प्रावधान घटाइने अपेक्षामा समेत लगानीकर्ताहरु छन् ।
राष्ट्र बैंक स्रोतका अनुसार राष्ट्र बैंक यस पटकको समीक्षामार्फत् एसएमईहरुलाई केही सहज नीति ल्याउने छ । स्वदेशी उत्पादन बढाउनका लागि एसएमईहरुलाई केही सहजीकरण गरिने उनको भनाइ छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.