१० महिनादेखि पाटन विमानस्थलमा हवाई सेवा बन्द

  २०७९ माघ २६ गते १४:४०     विकासन्युज

बैतडी । पाटनस्थित विमानस्थलमा हवाई सेवा १० महिनादेखि बन्द रहेको छ । धनगढी–बैतडी–धनगढी साप्ताहिकरुपमा हुने गरेको हवाई सेवा १० महिनादेखि बन्द रहेको हो ।

हवाई भाडा महँगो र यात्रु नपाउँदा बन्द हवाई सेवा पुनःसञ्चालन हुन नसकेको जनाइएको छ । ११ करोड रुपैयाँको लागतमा पाटन विमानस्थल कालोपत्र गरेर सञ्चालनमा ल्याइएको भए पनि हवाई उडान भने लामो समयदेखि बन्द रहँदा यहाँ आकस्मिकरुपमा धनगढी जानुपर्ने नागरिक समस्यामा परेका छन् ।

साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएको थियोे । गत चैत १० गते अन्तिम पटक उडान भएको थियो । हवाई सेवा पुनः सञ्चालन अनिश्चित रहेको समिट एयरका प्रतिनिधि कृष्णदत्त भट्टले बताए । आगामी फागुनमा उडान हुनसक्ने भनिए पनि आधिकारिक जानकारी नआएको भट्टको भनाइ छ ।

पाटनदेखि १८ मिनेटको हवाई यात्रा रहेको धनगढीको भाडा पाँच हजार रुपैयाँ रहेको छ । हवाई सेवा बन्द हुँदा आकस्मिकरुपमा बिरामी भएकालाई सुविधा सम्पन्न अस्पातल लैजान तथा अन्य कामका लागि जाने नागरिकलाई समस्या भएको स्थानीय चमन भण्डारीले बताए ।

भाडा पनि महँगो भएकाले घटाएर नियमितरूपमा आउनुपर्ने उनको भनाइ छ । सुदूरपश्चिमकै दोस्रो ठूलो पाटनमा रहेको विमानस्थल हो । पाटनमा विमानस्थल २६ वर्षपछि विसं २०७७ मा पुनःसञ्चालनमा आएको थियोे । विसं २०३६ देखि सञ्चालनमा आएको पाटन विमानस्थल विसं २०५१ देखि भने बन्द थियो । रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.