२०७९ माघ २६ गते ११:१६ विकासन्युज
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ अन्वेषणका लागि दैलेखमा ४५ रोपनी जग्गा प्राप्ती गर्न स्वीकृति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बेठकले दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर १ जलजलेमा ४५ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिएको हो ।
परियोजना अगाडि बढाउन सरकारले जमिन प्राप्तिको लागि महत्वपूर्ण निर्णय गरेपनि परियोजनाको कार्यान्वयन तर्फबाट काम भने सुस्त रहेको छ । पेट्रोलियम अन्वेषण परियोजनाका लागि सरकारले २०७८ को चैतमा २ वर्षको म्याद थपेको थियो ।
सरकारबाट जग्गा प्राप्तिबारे सैद्धान्तिक निर्णय गराउन परियोजनाको लागि एक वर्ष लाग्यो । त्यस क्षेत्रमा पर्ने निजी जग्गाको मुआब्जा निर्धारण र अधिग्रहण कार्य निकै जटिल र धेरै समय लाग्ने काम हो ।
सरकारले जग्गा प्राप्तीको स्वीकृत दिएपछि जग्गा अधिग्रहणको काम शुरु हुने पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख दिनेश कुमार नापित बताउँछन् । अब सीडीओको अध्यक्षतामा गठन हुने समितिले जग्गाको मुअव्जा निर्धारण लगायतका काम सुरु गर्ने उनले बताए ।
४५ रोपनी जग्गामा नगन्य मात्रामा सरकारी जग्गा रहेको उनले बताए । ‘बाटो, खोला तथा खोल्सामा सरकारी जग्गा पर्छ, परियोजनालाई आवश्यक पर्ने अधिकांश जग्गा व्यक्तिको पर्छ’, उनले भने ।
सीडिओको अध्यक्षतामा समिति
पेट्रोलियम पदार्थ अन्वेषणका लागि ४५ रोपनी जग्गाको मुअब्जा निर्धारण गर्न दैलेख जिल्लाका प्रमुख जिल्ला अधिकारी ९सीडिओ० को अध्यक्षतामा समिति गठन हुनेछ ।
दैलेखका सीडिओ गोगन बहादुर हमाल सरकारको निर्णय अनुसार छिट्टै मुअब्जा निर्धारणको समिति गठन गरेर काम सुरु हुने बताउँछन् । उनको अध्यक्षतामा पेट्रोलियम अन्वेषण परियोजना प्रमुख, जिल्ला मालपोत तथा नापी कार्यालयका प्रमुख, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख तथा स्थानीय तहका प्रतिनिधि सदस्य रहने समिति गठनको तयारी भएको छ ।
उनले उक्त समितिले नेपाल सरकारले तोके अनुसार जग्गा अधिग्रहणको काम गर्ने बताए । ४५ रोपनी जग्गामा ६ वटा व्यक्तिको घर पर्छ भने अन्य खोतीयोग्य जग्गा निर्धारण भएको सीडिओ हमाल बताउँछन् ।
‘पेट्रोलियम पदार्थकको अन्वेषणका लागि यहाँका स्थानीयहरुले धेरै सहयोग गर्नुभएको छ, उहाँहरु छिटो अन्वेषणको काम होस् भन्ने चाहनुभएको छ, उहाँहरुको तर्फबाट अहिलेसम्म कुनै रोकावट छैन्’, उनले भने ।
सरकारले तोके अनुसार र स्थानीय तहमा चलनचल्तीमा आएको मूल्यलाई आधार बनाएर घर तथा जग्गाको छुट्टा छुट्टै मुअब्जा निर्धारण हुने उनले बताए ।
सुर्खेतबाट दैलेखको भैरवी गाउँपालिकासम्म पुग्ने बाटो विस्तारको काम बाँकी नै रहेको उनले परियोजना प्रमुख दिनेश कुमार नापितले बताए । ‘कर्णाली हाइवे र मध्यपहाडी राजमार्ग अन्तर्गत पर्ने बाटो मर्मत तथा विस्तारको काम धेरै स्थानमा बाँकी नै छ’, उनले भने ।
बाटो मर्मत तथा विस्तारको काम सकिएपछि मात्र जलजलेमा पेट्रोलियम पदार्थको अन्वेषणका लागि आवश्यक उपकरण पुर्याउन सकिने उनको भनाइ छ ।
‘हामीले अनुमान गरेकोभन्दा केही ढिलाई भयो, अब आवश्यक तयारीमा लाग्छौुं, उनले भने ।
उनले पहिलो चरणको काम सकिएको भन्दै अन्तिम परिक्षणको काम बाँकी रहेको बताए । ‘एक चरणको काम सम्पन्न भैसकेको छ, अब अन्तिम चरणको काम हुन्छ, पहिला पानी निकाल्ने स्थानको पहिचान भैसकेको छ, अब हामीले पहिचान भएको स्थान र गहिराइमा ड्रिल गरेर पानी निकालिन्छ’, उनले भने ।
उनका अनुसार यसअघि निर्धारण भएको स्थानमा चिनियाँ प्राविधिक टोलीले ४ किलोमिटर गहिराइमा खाड्ल खन्नेर पेट्रोलियम पदार्थको अन्वेषणको काम गर्छन् ।
परियोजनाले आवश्यक सम्पूर्ण तयारी सकेको पत्राचार गरेपछि मात्र चिनियाँ प्राविधिक टोली नेपाल आएर अन्वेषणको काम सुरु गर्ने उनले बताए ।
सन् २०१९ देखि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण कार्य अघि बढाइएको थियो । नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि यसअघि सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरेको थियो ।
खानी तथा भूगर्व विभागले यसअघि नै दैलेखको श्रीस्थान, पादुका, कोटिला, दैलेख बजार तथा कर्णाली राजमार्ग आसपासका क्षेत्रमा ड्रिलिङको काम गरेको थियो ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.