सहकारीद्वारा ७० वर्ष नाघेका वृद्धवृद्धालाई भत्ता वितरण

  २०७९ माघ २६ गते ११:०५     विकासन्युज

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिकास्थित लर्ड बुद्ध सहकारी ७० वर्ष उमेर नाघेका वृद्धवृद्धालाई वृद्धभत्ता वितरण गरेको छ । सहकारीले आफ्नो २१औँ स्थापना दिवसमा २९ वृद्धवृद्धालाई भत्ता वितरण गरेको हो । सहकारीमा आबद्ध वृद्धवृद्धालाई दुई वर्षदेखि भत्ता वितरण गर्न थालेको हो । बुधबार उनीहरुलाई नगरप्रमुख मोहनप्रसाद तुम्बापोले भत्ता वितरण गरेका हुन् ।

सहकारीले जन्मदिन मनाउने, तीर्थाटन गराउने र बुढेसकालको सहारा लौरो उपहार दिनेजस्ता काम गर्दै आएको छ । उमेरभरि सहकारीमा पैसा जम्मा गरेर सहयोग गरेका वृद्धवृद्धालाई सहकारीले सम्मान गरेको सचिव महेन्द्र ढुङ्गानाले बताए । सहकारीले ७० वर्ष नाघेका वृद्धवृद्धालाई प्रत्येक तीन-तीन महिनामा तीन हजार रुपैयाँका दरले भत्ता वितरण गर्दै आएको छ ।

वार्षिकोत्सवका अवसरमा पत्रकार भूमि पाठकलाई नगद पाँच हजार रुपैयाँ एकसहित पुरस्कृत गरिएको थियो । कार्यक्रममा ज्येष्ठ नागरिक कर्णबहादुर राई र सहकारीमा आबद्ध एकल महिलालाई पनि सम्मान गरिएको थियो । यस्तै सहकारीले आयोजना गरेको वक्तृत्वकला प्रतियोगिताका विजयी छात्र-छात्रालाई पुरस्कृत गरिएको थियो । ‘वर्तमान आर्थिक सङ्कट व्यवस्थापनमा सहकारीको भूमिका’ विषयक वक्तृत्वकलामा नगरका १५ विद्यालय सहभागी थिए ।

चन्द्रकिराँतेश्वर माविकी छात्रा निवा चेम्जोङ प्रथम, न्यू प्यागोडा अङ्ग्रेजी माविका भविन्द्र अधिकारी द्वितीय, रेडस्टार आवासीय माविकी मोनिका आचार्य तृतीय तथा मोरङ मेरिगोल्ड अङ्ग्रेजी माविका समीर कार्की र पञ्चायत माविकी गङ्गा भण्डारीले सान्त्वना पुरस्कार प्राप्त गरे । रासस

facebook sharing button

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.