२०७९ माघ २६ गते १०:३६ विकासन्युज
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय तेस्रोपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् ।
विमानस्थलको क्रमिक सुधार भए नभएको विषयमा मन्त्री किराती बिहान साढे ५ बजे अनुगमन गर्न पुगेका सचिवालयले जनाएको छ ।
तेस्रोपटक अनुगमनमा पुगेका उनले विमानस्थलको तुलनात्मक सुधारले आफूलाई थोरै भए पनि खुसी मिलेको बताए । ‘यो नै पूर्ण सुधार होइन, तर, क्रमिक सुधार भएको छ, यसबाट म आंशिक सन्तुष्ट छु, २४ सै घण्टा खटेर एयरपोर्टलाई सुन्दर बनाउने ब्युटिसियनहरुलाई विशेष धन्यवाद छ’, उनले भने ।
एयरपोर्टको शौचालयमा म्युजिक जडान गरिनु, गुनासोका लागि क्युआर कोड संचालनमा ल्याइनुले सेवाग्राहीलाई थोरबहुत सहज बनाउने अपेक्षा रहेको उनले बताए ।
कर्मचारीले हरेक ३० मिनेटमा शौचालय अनुगमनको व्यवस्था समेत एयरपोर्टमा गरिएको छ । यसले आफूलाई नभएर सेवाग्राहीलाई सन्तुष्ट बनाउने मन्त्री किरातीको भनाई छ । सेवाग्राहीको सहजता नै आफ्नो पहिलो प्राथमिकता रहेको उनले बताए ।
उनले भने, ‘यहाँ भएका सुधारहरु मेरा लागि होइन, तपाईंहरुको मिहेनत र परिश्रमले सेवाग्राहीलाई सहज वातावरण बनाउनेदेखि हाम्रो एयरपोर्टप्रति उहाँहरुलाई अपनत्व पनि महसुस गराउनेछ’, उनले भने ।
साथै मन्त्री किरातीले पाँच सय ट्रलीको मूल्यांकन गरी आर्थिक प्रस्तावना समेत तयार गर्न निर्देशन दिएका छन् । १५ सय चक्का लगायत पार्टस् खरीदका लागि बोलपत्र आह्वान पनि गरिएको छ । बिग्रिएका ट्रलीका चक्का मर्मत समेत भएको छ । सँगै उनले सुरक्षा जाँचका लागि स्क्यानरको व्यवस्था गर्न विमानस्थल व्यवस्थापनलाई सुझाव समेत दिएको सचिवालयले जनाएको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.