२०७९ माघ २५ गते १७:४४ विकासन्युज
काठमाडौं । सेयरधितो राखेर वाणिज्य बैंकहरुबाट ऋण लिएका लगानीकर्ताहरुलाई ठूलो रकमभार परेको छ । एक वर्षको अवधिमा सेयर धितो राखेर कर्जा लिने लगानीकर्ताको लागत करिब ५३.५० प्रतिशतले बढेको छ ।
गत आर्थिक वर्षको मंसिरसम्ममा सेयर कर्जामा औसत ९.१२ प्रतिशत ब्याज तिरेका लगानीकर्ताले चालू आवको मंसिरसम्ममा औसत १४ प्रतिशत ब्याज तिरेका छन् । यो एक वर्षको अवधिमा लगानीकर्ताको लागत ५३.५० प्रतिशतले लागत बढेको हो ।
वाणिज्य बैंकहरुले २०७८ को मंसिरमा ८६ अर्ब ६१ करोड १० लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए । सो समयमा बैंक तथा वित्तीय संस्थाको सेयर धितो कर्जाको ब्याज ९.१२ प्रतिशत रहेको थियो । अहिले लगानीकर्ताहरुको औसत ब्याजदर औसत १४ प्रतिशतभन्दा बढी ब्याज तिर्नु परेको कारण लागत पनि बढेको हो ।
एक वर्षको अवधिमा सेयर धितो कर्जाको ब्याजदर ४.७५ प्रतिशत बिन्दुले बढेको छ भने सेयर धितो कर्जा ३२.१५ प्रतिशतले घटेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार बैंकहरुको सेयर धितो कर्जा लगानी घट्दै गइरहेको छ भने ब्याजदर भने बढ्दै गइरहेको छ ।
बैंक तथा वित्तीय संस्थाले २०७८ को साउनमा ९२ अर्ब ८ करोड ५० लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए । सो समयमा बैंक तथा वित्तीय संस्थाको सेयर धितो कर्जाको ब्याज ८.१४ प्रतिशत रहेको थियो ।
लगानीकर्ताले गत वर्षको मंसिरमा ८४ अर्ब ६१ करोड १० लाख रुपैयाँ बैंकबाट ऋण लिएर औसत ९.१२ प्रतिशत ब्याज तिरेका थिए । गत वर्षको पुसमा लगानीकर्ताले ९.४१ प्रतिशत ब्याजदरमा ८३ अर्ब ७० करोड ५० लाख रुपैयाँ सेयर धितो कर्जा लिएका थिए ।
यस्तै, गत वर्षको माघ महिनामा लगानीकर्ताले १०.३३ प्रतिशत ब्याजदरमा ८२ अर्ब ४४ करोड ७० लाख रुपैयाँ सेयर धितो कर्जा लिएका छन् ।
यस्तै, वाणिज्य बैंकले २०७८ को फागुनमा १०.५९ प्रतिशत ब्याजदरमा ७९ अर्ब ७७ करोड ७७ लाख रुपैयाँ, चैतमा १०.९० प्रतिशत ब्याजदरमा ७८ अर्ब ४० करोड ९० लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् ।
यस्तै, बैंक तथा वित्तीय संस्थाले २०७९ को बैशाखमा ११.९० प्रतिशत ब्याजदरमा ७५ करोड १६ लाख ८० हजार रुपैयाँ, जेठमा १२.०६ प्रतिशत ब्याजदरमा ७१ अर्ब ७१ करोड ३० लाख रुपैयाँ, असारमा १२.२५ प्रतिशत ब्याजदरमा ६४ अर्ब ८१ करोड ८० लाख रुपैयाँ र साउनमा १२.८९ प्रतिशत ब्याजदरमा ६१ अर्ब ५६ करोड ३० लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् ।
चालू आर्थिक वर्षमा वाणिज्य बैंकको सेयर धितो कर्जा घट्दै गएको देखिन्छ । वाणिज्य बैंक भदौमा औसत १३.१२ प्रतिशत ब्याजमा ६० अर्ब ३१ करोड, असोजमा १३.३२ प्रतिशत ब्याजमा ६० अर्ब ३४ करोड, कात्तिकमा १३.९५ प्रतिशत ब्याजमा ५९ अर्ब ९१ करोड र मंसिरमा १४ प्रतिशत ब्याजदरमा ५८ अर्ब ७६ करोड रुपैयाँ कर्जा लगानी गरेको देखिन्छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.