कोहलपुर नगरपालिकाले थाल्यो ऐलानी जग्गाको नापजाँच

  २०७९ माघ २५ गते ९:३२     विकासन्युज

 

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले ऐलानी जग्गाको नापजाँच सुरु गरेको छ । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीका जग्गालाई प्राथमिकतामा राखेर काम भइरहेको कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए ।

कोहलपुर नगरपालिकाको वडा नम्बर १२, १० लगायत वडामा अव्यवस्थितमा फारम भरेका र बाँकी खाली रहेको ऐलानी जमिनसमेत नापजाँच गरिने वडाध्यक्ष वीरेन्द्र बहादुर शाहले जानकारी दिए । वडा नम्बर १२ मा भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थितको एक हजार छ सय ८० कित्ता जग्गा रहेको शाहले उल्लेख गरे ।

यसअघि, लुटबहादुर रावत नगरप्रमुख हुँदा वडा नम्बर १ मा मात्रै ऐलानी जग्गा नापजाँच पूरा भएको थियो । वडा नम्बर १ मा एक हजार पाँच सय ६६ कित्ता नापजाँच भएको थियो । यस्तै, वडा नम्बर २ मा मुक्तिनगर, शक्तिनगर र विकास नगरको एक हजार सात सय ३० कित्ता नापजाँच भएको थियो ।

वडा नम्बर २ मा मात्रै अहिले एक हजार आठ सय ४९ कित्ता जग्गा नापजाँच सम्पन्न भइसकेको छ । वडा नम्बर २ मा ऐलानी जग्गा नापजाँचको काम बुधवार पूरा भएको छ ।

‘हामी निर्वाचित भएर आएपछि भूमिहीन, दलित र सुकुम्बासीलाई जग्गाको स्वामित्व दिने गरी ऐलानी जग्गा नापजाँच कार्यलाई तीव्र पार्ने योजनामा थियौँ,’ नगरप्रमुख आचार्यले भने ।

अबको केही महिनामा नापजाँचको काम सक्ने गरी आफूहरु लागेको नगरप्रमुख आचार्यले बताए । कोहलपुर नगरपालिका भूमि सहजीकरण समितिका संयोजक वडा नम्बर १२ का वडाध्यक्ष शाहले ऐलानी जग्गा नापजाँचमा २१ जनाको अमिन टोली खटिएको जानकारी दिए ।

उनका अनुसार कोहलपुर नगरपालिकाबाट नौ जना, भूमि आयोगबाट छ जना र जिल्ला नापी कार्यालयबाट टोली प्रमुखसहित छ जना गरी २१ जना अमिनको टोली खटिएको छ ।

‘जमिन भएका, तर वर्षौंदेखि लालपुर्जाविहीन अव्यवस्थित बसोबासीलाई जमिनको मालिक बनाउँछौँ,’ उनले भने । कोहलपुर नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासी करिब १७ हजार रहेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.