इन्साइडर ट्रेडिङको अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई दिइँदै, घरजग्गा कारोबारमा एजेन्ट अनिवार्य

  २०७९ माघ २४ गते १६:४६     विकासन्युज

काठमाडौं । सरकारले सेयर बजारमा हुने भित्रि कारोबार (इन्साइडर ट्रेडिङ)  को अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई दिने तयारी गरेको छ । सरकारले धितोपत्र सम्बन्धी ऐन २०६३ संशोधन गरेर सेयर बजारमा हुने भित्रि कारोबारको अनुसन्धानको जिम्मा प्रहरीलाई दिने तयारी गरेको हो ।

कुनै व्यक्तिले सार्वजनिक नभएका धितोपत्रको मूल्यमा असर पार्न सक्ने भित्री सूचना वा जानकारीहरुको आधारमा सेयर कारोबार गरेमा वा अरुलाई कारोबार गर्न लगाएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिन्छ । सरकारले ऐन नै संशोधन गरेर यसको अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई दिन लागेको हो ।

सरकारले यो सँगै डेढ दर्जन बढी ऐनहरु संशोधनको तयारी गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ऐनहरु संशोधन गर्ने प्रस्ताव संसदमा पेस गर्ने निर्णय गरेको बताइएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न ऐनहरु संशाेधनको मस्यौदा मन्त्रिपरिषदमा पेश गरेका थिए । सोही प्रस्ताव मन्त्रिपरिषद बैठकले संसदमा पेश गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले पानी जहाज दर्ता ऐन २०२७ देखि मानव बेचविखन तथा ओसारसार ऐन २०६४ र धितोपत्र सम्बन्धि ऐन २०६३ देखि सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन २०६४ संशोधनका लागि संसदमा पेश गर्ने निर्णय गरेको हो । बैठकले मालपोत ऐन २०३४ पनि संशोधन गर्ने तयारी गरेको छ ।

मालपोत ऐन २०३४ मा तोकेको क्षेत्रफल वा सीमा भन्दा बढीको घरजग्गा सम्बन्धी कारोबार गर्दा अब इजाजत पत्र लिएर मात्र गर्न सकिने गरी व्यवस्था सरकारले गर्न लागेको छ । घरजग्गा कारोबार गर्दा पनि कुनै एजेन्टको व्यवस्था गर्नु पर्ने माग व्यवसायीहरुले गर्दै आएका थिए । अब सो व्यवस्था लागू गर्ने तयारी सरकारले गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.