महँगिने भयो प्रेम दिवस, एउटा गुलाफकै साढे दुई हजार रुपैयाँ

  २०७९ माघ २४ गते १३:३०     विकासन्युज

काठमाडौं । यस वर्ष विगतको तुलनामा गुलाफका फूलहरुको मूल्य बढेको छ । विभिन्न वस्तुहरुको मूल्य बढेसँगै गुलाफका फूलहरुको मूल्य पनि वृद्धि भएको हो । जसका कारण यस वर्षको प्रेम दिवस महँगिने भएको हो ।

यस वर्षको प्रणय दिवसका लागि २ लाख ८० हजार ‘स्टिम’ गुलाफ आयात गरिने भएको छ । भ्यालेन्टाइन्स डे लाई लक्षित गर्दै १ करोड ६० लाख रुपैयाँ बराबरका गुलाफका फूलहरु आयात गरिने फ्लोरिकल्चर एशोसिएसन नेपालका महासचिव विश्वमणि पोखरेलले बताए ।

‘आज प्रणय दिवसको पहिलो दिन हो, कति फुल खपत हुन्छ भन्ने अझैं तथ्यांक आइसकेको छैन, फेब्रुअरी १४ सम्ममा २ लाख ८० हजार ‘स्टिम’ गुलाफका फूल खपत हुने अनुमान गरेका छौं, त्यसको ७ प्रतिशत नेपालमै पनि उत्पादन हुन्छ,’ उनले भने ।

प्रणय दिवसलाई लक्षित गर्दै हालसम्म १८ लाख बराबरको २५ हजार गुलाफका फुल विदेशबाट आएको पनि पोखरेलले जानकारी दिए । उनका अनुसार सजिएको एउटा गुलाफको बुकेटको मूल्य २ हजार ५ सय रुपैयाँसम्म पर्न जान्छ । अन्य धेरै वस्तुहरुको मूल्य बढेको कारण यस वर्ष फूलको मूल्य पनि बढेको व्यवसायीहरु बताउँछन् । नेपाल राष्ट्र बैंकका अनुसार २०७९ पुस महिनामा वार्षिक विन्दुगत थोक मूल्यवृद्धि ९.८२ प्रतिशत रहेको छ ।

‘स्टिम’ गुलाफको मूल्य गत वर्षको तुलनामा केही बढेको उनको भनाइ छ । फूलको गुणस्तर हेरेर मूल्य तय हुने उनले बताए । प्रयाप्त मात्रमा स्वदेशमा फूल उत्पादन नहुँदा विदेशबाट आयात गर्नु पर्ने बाध्यता छ ।

अन्य सिजनको तुलनामा प्रणय दिवसलाई नि लक्षित गरी आयात गरिँदै आएको छ । नेपाली बजारमा प्रणय दिवसका लागि मात्र डेढ लाखभन्दा बढी स्टिम गुलाफको फूलको माग छ । तर, उत्पादनको अवस्था अति न्यून छ । पछिल्लो समय काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेमा मात्र व्यवसायिक रुपमा गुलाफ उत्पादन हुन्छ ।

गुलाफकै लागि करोडौं रुपैयाँ भारतीय बजारमा जाने गर्छ । यो प्रक्रिया हरेक वर्ष प्रेम दिवस आएसँगै चलिरहन्छ । यस वर्ष गुलाफको मूल्य प्रति ‘स्टिम’ १ सय रुपैयाँदेखि बुकेटसहितको साढे दुई हजार रुपैयाँसम्म पर्छ । हाल नेपालमा १० हजार हेक्टर जमिनमा गुलाफ उत्पादन हुने गरेको फ्लोरिकल्चर एशोसियशनले जनाएको छ ।

पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा यस दिवसलाई विशेष महत्वका साथ लिने गरेको पाइन्छ । प्रणय दिवस फेब्रुवरी १४ तारिखमा पर्दछ तर उक्त दिनभन्दा एक हप्ता अघिदेखि नै यसलाई मनाउने प्रचलन रहेको छ । प्रेमको प्रतिक मानिले रातो गुलाफ यस दिवसमा प्रेम जोडीले एकअर्कालाई दिएर मनाउने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.