एक महिना अघि नै सुरु भयो रानाथारू समुदायको होली

  २०७९ माघ २४ गते ७:०५     विकासन्युज

काठमाडौं । अन्य समुदायको भन्दा पृथक तरिकाले मनाउने रानाथारू समुदायको होली माघ पूर्णिमादेखि सुरु भएको छ । यो समुदायमा माघ महिनाको पूर्णिमाको दिन होलीको प्रतीक पुतला स्थापना गरी होलीको सुरुआत गरिन्छ । यस दिन दाजुभाइहरू गुइँठा, काठदाउरा, तोरीको सुकेको डाँठ एकै ठाउँमा थुपार्छन् ।

गाउँको चौकीदारले घरघरबाट ल्याएको पूजा सामग्रीसहित यसरी होली राख्ने परमपरागत चलनलाई रानाथारू भाषामा ‘होरी धरन’ भनिन्छ । यसको उद्देश्य होलीलाई मथुराबाट आफ्नो गाउँसम्म बोलाउने वा निमन्त्रणा गर्ने हो भन्ने जनविश्वास रहेको जानकारहरू बताउँछन् । यसरी होलीको प्रतीक स्थापना गर्ने काम गरिसकेपछि उपस्थित सबै मिलेर ढोल बजाउने, गीत गाउँदै नाच्ने प्रचलन रहिआएको छ ।

रानाथारूहरूमा होलीको प्रतीक स्थापना गरेको दिनदेखि एक महिना अर्थात् फागुन महिनाको पूर्णिमाको दिनसम्म खेलिने होलीलाई जिउँदो होली भनिन्छ । प्रायः दैनिकजसो बेलुकीको खाना खाइसकेपछि गाउँको कुनै एक घरमा जम्मा भई सबै दाजुभाइ, दिदीबहिनीहरू मिलेर अबेर रातसम्म जिउँदो होली खेल्ने चलन रहेको कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनाका धनबहादुर रानाले बताए ।

‘माघ पूर्णिमादेखि हरेक दिन बेलुकी खाना खाएर होली खेल्छौं, यसलाई जिउँदो होली भनिन्छ, फागुन महिनाको पूर्णिमापछिको आठ दिन मृत होली खेलिन्छ,’ उनले भने ।

उनले होली राना समुदायको महान् पर्व भएको बताए । रानाथारू समुदायमा दुई चरणमा होली पर्व मनाइने गरिन्छ । पहिलो चरणअन्तर्गत माघ पूर्णिमादेखि फागुन पूर्णिमासम्म जिउँदो होली मनाइन्छ भने त्यसपछिको आठ दिनको समय मृत होली मनाउने प्रचलन छ । फागु पूर्णिमापछि रानाथारू समुदायमा बल्ल रौनक छाउँछ ।

गाउँभरिका महिला पुरुष, वृद्धदेखि बालकसम्म सबैजना होलीमा रमाउँछन् । होली खेलेकै घरमा खाना खाने र रातभरि होली खेलेर रमाइलो गर्ने गरेको कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ का साहेव राना बताउँछन् ।

‘हिजोदेखि हामीले होली खेल्न सुरु गरिसकेर फागुन पूर्णिमासम्म एक महिना हरेक राति होली हुन्छ, फाुगन पूर्णिमापछि दिनमा परम्परागत पहिरनमा होली खेल्छौँ त्यसलाई मृत होली भनिन्छ,’ उनले भने ।

रानाथारू समुदायका जानकारहरूका अनुसार हिरण्यकश्यपुले विष्णु भगवान्का भक्त आफ्नो छोरा प्रह्लादलाई अग्निमा नजल्ने वरदान पाएकी आफ्नी बहिनी होलिकासँग आफ्नो काखमा राखेर जलाउने भनी आदेश दिएका थिए ।

प्रह्लादले पनि आफ्नो बुबाको कुरा नकाटी फुपू होलिकाको काखमा बसे । जब होलिकालाई आगो लगाइयो, त्यस समय होलिका जलेर राख भइन् भने प्रह्लादलाई अग्निले केही गर्न सकेन । त्यस दिनदेखि असत्यमाथि सत्यको विजय भयो भनेर होली पर्व रानाहरूले मनाउँछन् । होलीको गीतमार्फत मथुराबाट होली मगाउने प्रचलन रहेको छ । परम्परागतरूपमा मनाइँदै आएको होली १ महिना ८ दिनसम्म खेलिने भए पनि पछिल्लो समय यो समय छोटिँदै गएको वसन्ती रानाले बताए ।

‘पहिलाको जस्तो रौनक अहिले हुँदैन बिस्तारै कम हुँदै गएको छ, युवाहरू कोही पढाइमा, कोही रोजगारीमा लागेका छन् होली जान्ने कम छन्,’ उनले भने । उनले फागुन पूर्णिमाको दिन होली दहनपछि आठ दिन मृत होली मनाउने बताए । होली दहन गरेको ठाउँमा चामल चढाएर सु–स्वास्थ्य र लामो आयुका लागि आशीर्वाद माग्ने चलन रहेको राना बताउँछन् ।

महिलाहरूले घगरिया, अङिया, फतुई (सिक्काको माला) र पुरुषले घगिया पहाना, तुल फेरा (परम्परागत पहिरन) लगाएर रातभरि होली खेल्ने प्रचलन छ । पछिल्लो समय डिस्को डिजेमा मात्रै सीमित हुने र होली खेल्ने समय पनि छोटिँदै गएकोप्रति पाका पुस्ताले चिन्ता व्यक्त गरेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.