२०७९ माघ २३ गते २१:२६ विकासन्युज
काठमाडौं । काठमाडौंको पेप्सीकाेलास्थित सडकमा पार्किङ गरि राखिएको मन्त्रीको गाडीको टायरमा ट्राफिक प्रहरीले ताला लगाई दियो । मन्त्रीको रंगिन नम्बर प्लेटको गाडीमा ट्राफिकले ह्वील लक गरिदिएपछि उक्त फोटो सामाजिक सञ्जालमा भाइरल भयो ।
कारमा सिट बेल्ट नलगाइ कानुन उल्लंगन गरेको भन्दै बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको समाचारले नेपाली समाजमा चर्चा पाइरहदा नेपालका मन्त्रीको गाडी पनि ट्राफिक कारवाहीमा परेको हो ।
तर ट्राफिक प्रहरीले भने मन्त्रीको इज्जत राख्न भन्दै गाडी धनी मन्त्रालय र सवार मन्त्रीको विवरण गोप्य राखेको थियो ।
बागमती प्रदेशमा दर्ता ००१झ०१३२ को गाडी वागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको नाममा दर्ता रहेको यातायात कार्यालयको रेकर्ड फाइलमा उल्लेख छ । यो गाडीलाई ट्राफिक प्रहरीले शुक्रबार साँझ ह्विल लक गरिदिएको थियो ।
हाल यो गाडी भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले चड्ने गरेका छन् । उनी काठमाडौं आउँदा उनको गाडी ट्राफिक कारवाहीमा परेको हो ।
पार्किङ निषेधित क्षेत्रमा नियम उल्लंघन गरेर पार्किङ गरिराखेको पाइएपछि मन्त्री चढ्ने गाडीलाई ड्युटीमा खटिएका ट्राफिक प्रहरीले ह्विल लक गरिदिएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए ।
‘तोकिएको ठाउँमा मात्र गाडी पार्किङ गर्नुपर्ने नियम छ । यसविपरीत रोक्न नमिल्ने स्थानमा मन्त्रीको गाडी राखिएकाले ड्युटीमा खटिएका ट्राफिक प्रहरीले ह्विल लक गरिदिएका हुन्,’ उनले भने ।
ट्राफिक प्रहरीले गाडी चालकलाई १००० रुपैयाँ जरिवाना तिराएको छ ।
यसअघि ट्राफिक प्रहरीले तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ चढ्ने गरेको गाडी ट्राफिक प्रहरीको कारबाहीमा गरेको थियो । बानेश्वरस्थित फुटपाथमा रोकिराखेको अवस्थामा मन्त्री महासेठ चढ्ने गरेको बा २ झ ४८६२ नम्बरको झण्डावाला गाडी पनि कारबाहीमा परेको थियो ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.