२०७९ माघ २२ गते २१:२५ विकासन्युज
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघले गम्भिर ध्यानाकर्षण भएको बताएको छ । आइतबार गरिएको पत्रकार सम्मेलनमा लामिछानेले दिएको अभिव्यक्तिले सञ्चार क्षेत्रमा आधारहीन र पूर्वाग्रही आरोप लगाएको भन्दै ध्यानाकर्षण भएको बताएको हो ।
साथै, लामिछानेले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार गर्दै धम्किपूर्ण अभिव्यक्ति दिएको आरोप महासंघले लगाएको छ । महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा संसदको चौथो ठूलो दलका अध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका व्यक्तिले सञ्चार क्षेत्रप्रति संयम गुमाएर अभिव्यक्ति दिनु समग्र सञ्चार क्षेत्रमाथिको प्रहार भएको समेत बताईएको छ ।
‘लामिछानेको अभिव्यक्तिले कुनै अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी स्वयं अध्यक्ष लमिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीले लिनुपर्छ, सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक रूपमा धम्की दिईनुले नेपालका सञ्चार प्रतिष्ठान र सञ्चारकर्मी असुरक्षित हुनसक्ने तथ्यप्रति महासंघ चिन्ता प्रकट गर्दछ,’ महासंघको विज्ञप्तिमा उल्लेख छ ।
सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित सामग्रीप्रति चित्त नबुझे प्रचलित विधि र पद्धतिअनुसार अघि बढ्न सकिने प्रावधान हुँदाहुँदै धम्कीपूर्ण शैलीमा प्रस्तुत हुनु आपत्तिजनक र अशोभनीय कार्य भएको महासंघले बताएको छ ।
‘संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र नागरिक अधिकार पक्षमा निरन्तर संघर्ष गरेको नेपाली प्रेस कुनै पनि दल वा व्यक्तिको धम्कीबाट विचलित हुने छैन,’ विज्ञप्तिमा भनिएको छ ।
यस्तै, नेपाल प्रेस युनियनले पनि रास्वपाका सभापति लामिछानेले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । आमनागरिकबाट जनमत प्राप्त गरेर आएका एक राजनीतिकर्मीले दिएका अभिव्यक्ति अपरिपक्व र अराजनीतिक रहेको युुनियनले बताएको छ ।
‘पूर्व सञ्चारकर्मी लामिछानेले कुनै आधार र प्रमाणबिना सञ्चारमाध्यम, सम्पादक र समग्र पत्रकारितालाई बद्नाम गर्ने गरी दिएका अभिव्यक्ति खेदजन्य छन्,’ युनियनले विज्ञप्तिमा भनिएको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.