एक महिनामै ८७ करोडको बीमा पोलिसी सरेन्डर, कसको कति ?

  २०७९ माघ २२ गते १९:०२     विकासन्युज

काठमाडौं । गत पुस महिनामा मात्रै ८७ करोड ४३ लाख रुपैयाँ बराबरको जीवन बीमा पोलिसी समर्पण (सरेन्डर) भएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार एक महिनामा ६ हजार ७८२ वटा बीमालेखबाट सो मात्राको बीमा पोलिसी सरेन्डर भएका हुन् ।

सञ्चालित १८ वटा बीमा कम्पनीका बीमितहरुले एक महिनामै ६ हजार ७८२ वटा बीमालेखबाट पोलिसी निश्चित समय अगावै त्यागेका हुन् । जसमध्ये नेपाल लाइफका बीमितले सबैभन्दा बढी रकमको बीमा पोलिसी सरेन्डर गरेका छन् । सो अवधिमा २ हजार ८३५ वटा बीमालेखबाट ४३ करोड ९७ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएका छन् ।

त्यस्तै, नेपाल लाइफपछि लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को सबैभन्दा बढी रकमको अर्थात ९ करोड ५९ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएका छन् । यो अवधिमा कम्पनीको १६७ वटा बीमालेख समय अगावै समर्पण भएका छन् ।

त्यसैगरी, नेशनल लाइफ इन्स्योरेन्स कर्पोरेशनका बीमितहरुले ८ करोड २३ लाख र राष्ट्रिय बीमा संस्थानका बीमितहरुले ७ करोड ७३ लाख रुपैयाँ बराबरको बीमालेख त्यागेका छन् ।

कसको कति ?
मेट लाइफ, एशियन लाइफ, गुराँस लाइफ, प्राइम लाइफ, युनियन लाइफ र सानिमा लाइफको एक करोडभन्दा बढी वा ५ करोडभन्दा कम रकमको बीमापोलिसी सरेन्डर भएका छन् । जसमा मेट लाइफको ३ करोड ६ लाख, एशियनको ३ करोड ६८ लाख, गुराँसको २ करोड ६ लाख, प्राइमको २ करोड १२ लाख, युनियनको १ करोड ३६ लाख र सानिमा लाइफको एक करोड १३ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएका छन् । एक महिनामै यी ६ कम्पनीका बीमितहरुले क्रमशः ३२७, ४९८, २४६, ३७०, ९५ र ४५ वटा बीमालेख त्यागेका हुन् ।

एक करोड रुपैयाँभन्दा कम रकमको पोलिसी सरेन्डरमा गर्नेमा अन्य ८ कम्पनीका बीमितहरु रहेका छन् । जसमा आईएमई लाइफ, सन नेपाल लाइफ, रिलायन्स लाइफ, रिलायवल नेपाल लाइफ, सिटिजन लाइफ, प्रभु लाइफ, महालक्ष्मी लाइफ र सूर्यज्योति लाइफ इन्स्योरेन्स रहेका छन् ।

यीमध्ये पनि सन नेपाल लाइफको सबैभन्दा कम रकमको बीमा पोलिसी सरेन्डर भएको छ । सरेन्डर भएका बीमालेख संख्याको आधारमा पनि सन नेपालकै सबैभन्दा कम छ । एक महिनामा कम्पनीको १० वटा बीमालेखबाट १० लाख ८४ हजार रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.