आर्थिक क्रियाकलापमा नयाँ संकट

  २०७९ माघ २२ गते १९:०९     विकासन्युज

काठमाडौं । दक्षिण एसियामा नव–उदारवादी अर्थ व्यवस्थाको प्रभाव बढ्दै गएकाले आर्थिक क्रियाकलापमा नयाँ सङ्कट देखा परेकामा दक्षिण एसियाली मार्क्सवाद अनुसन्धान सङ्गठनले चिन्ता व्यक्त गरेको छन् ।

यहाँ आज आयोजित कार्यक्रममा विश्वका वामपन्थी कम्युनिष्ट आन्दोलनका अगुवाले उदारवादको संशोधित रुप नवउदारवाद भएको बताउँदै यसले निजी व्यवसाय, उद्यमलाई प्राथमिकता दिने हुँदा सामाजिक सहयोग तथा मूल्य मान्यतामा कमी आउने बताएका हुन् ।

अखिल नेपाल किसान महासङ्घका अध्यक्ष बलराम बाँस्कोटाले नवउदारवादमा आर्थिक उदारीकरण, विश्वव्यापीकरण, निजीकरण, अर्थतन्त्र र समाजमा निजी क्षेत्रको भूमिका बढाउन सरकारी खर्च कटौती, स्वतन्त्र बजार र खुला अर्थतन्त्रको अवधारणाको विकास भएको बताउँदै यस अर्थ व्यवस्थाले सामाजिक तथा सांस्कृतिक मान्यता न्यूनीकरण गर्ने चुनौती ‍औंल्याए ।

नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश इन्चार्ज सावित्रा भुसालले नवउदारवादको प्रयोगले उत्पादनका साधन र स्रोतमा राज्यको नियन्त्रण खुम्चने हुँदा खुला बजार, निजीकरणका रुपमा उद्यमीले बजारमा नियन्त्रण गर्ने र सरकारले आवश्यक हस्तक्षेप गर्न नसक्ने समस्या रहेको बताइन् ।

किसान अगुवा प्रमेश पोखरेलले उत्पादनका सबै क्षेत्रमा नवउदारवादीले प्रभाव पार्ने भए पनि कृषि क्षेत्रमा गरिने नयाँ बीउबिजनका प्रयोगले मौलिक उत्पादन लोपोन्मुख भई सामाजिक पहिचानमा पनि ह्रास आउने खतरा रहेको प्रस्ट पारे ।

भारतका सुजना पुडापाटी, पाकिस्तानका तेमुर रहमान, बङ्गलादेश वर्कर पार्टीका समसिर, दक्षिण अफ्रिकाका बास्ना पिथौसका साथै संयुक्त राज्य अमेरिकाका प्रतिनिधिले यस्तो अर्थ प्रणालीमा पूँजीलाई स्वतन्त्र आवतजावत गर्न निजी क्षेत्रले स्वतन्त्र व्यापारको समर्थन गर्ने, आर्थिक लाभ कायम गर्ने भएकाले राष्ट्रिय पूँजी सञ्चयमा सङ्कट आउने धारणा राखे ।

आर्थिक उदारीकरण र लोककल्याणकारी राज्यमा भएका आर्थिक सुधारका साथै आर्थिक तथा राजनैतिक स्वतन्त्रतामा एकरुपता नहुने विज्ञहरुको सुझाव थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.