गार्डियन माइक्रो लाइफमा गोल्छा, राणा र मुरारकासहित ४४ जनाको लगानी (सूचीसहित)

  २०७९ माघ २० गते १७:३१     विकासन्युज

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्समा कूल ४९ करोड ५० लाख रुपैयाँ लगानी जुटेको छ । जीवन लघुबीमा व्यवसाय सञ्चालन गर्नको लागि नेपाल बीमा प्राधिकरणबाट छनोट भएको उक्त कम्पनीमा सो मात्राको लगानी जुटेको हो ।

जसमा ठूला घरानका विभिन्न व्यक्तिसहित कूल ४४ जनाको लगानी छ । शेखर गोल्छा, पशुपति मुरारका, भवानी राणा लगायतका विभिन्न व्यवसायी तथा व्यक्तिहरुले यो कम्पनीमा लगानी गरेका छन् । जसमध्ये हुलास अटोक्राफ्टका शेखर गोल्छाले एक कराेड, पशुपति मुरारकाले ५० लाख र टाइटेनियम क्यापिटलका भवानी राणाले ५ कराेड ५० लाख रुपैयाँ बराबरको लगानी गरेका छन् । गोल्छा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष हुन् भने मुरारका र राणा पूर्वअध्यक्ष हुन् ।

गार्डियन माइक्रो लाइफमा सबैभन्दा बढी लगानी एसजी फिन्कोर्पका शंकरलाल अग्रवालले गरेका छन् । यो कम्पनीमा उनको ११ करोड २५ लाख रुपैयाँ बराबरको लगानी छ । त्यस्तै, एक करोडदेखि १० करोडसम्म लगानी गर्नेमा शेखर गोल्छा, भवानी राणासहित १० जना रहेका छन् । जसमा नेप्बुल्ल्स क्यापिटलका रेणु अग्रवालको ७ करोड ५२ लाख, इन्फिनिटी होल्डिङ्स्का दिपक भट्टको ६ करोड, राजबहादुर शाहको ३ करोड, शुभम दुगडको ३ करोड, मेटा इन्भेष्टमेन्ट कम्पनीका सुजा शाक्यको १ करोड २५ लाख, लिला अग्रवाल, सुलोचना अग्रवाल र प्रिन्टसेल इमेजिंगका निलम देवी जैनको एक/एक करोड रुपैयाँ यस कम्पनीमा लगानी छ ।

त्यसैगरी, व्यवसायी पशुपति मुरारकासहित ७ जनाले कम्पनीमा ५० लाख रुपैयाँ लगानी गरेका छन् । र, ५० लाखभन्दा कम अर्थात १० लाखभन्दा बढी लगानी गर्नेमा अन्य २६ जना लगानीकर्ताहरु रहेका छन् ।

कसको कति लगानी ?

बीमा प्राधिकरणले गत मंसिर ११ गते जीवन (३) र निर्जीवन (४) गरी कूल ७ वटा कम्पनीलाई लघुबीमाको लाइसेन्स दिएको थियो । यससँगै कम्पनीहरुले आआफ्नो कार्यालय स्थापना गरी कम्पनी रजिष्ट्रारमा दर्ता गर्नुपर्ने हुन्छ । र, यी कम्पनीले बीमा ऐनको दफा २८ र २९ बमोजिम नेपाल बीमा प्राधिकरणमा निवेदन दिएर व्यवसाय सञ्चालनको लागि इजाजत लिनुपर्ने व्यवस्था रहेको प्राधिकरणले जनाएको छ । त्यो इजाजत लिने क्रममा पछिल्लो समय प्राधिकरणमा धमाधम निवेदन आउन थालेको प्राधिकरणको भनाई छ ।

७० प्रतिशत पुँजी बैंकमा जम्मा गर्नुपर्ने

छनोटमा परेको कम्पनीहरुमध्ये जीवनतर्फको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स एक हो । जसको मूख्य कार्यालय प्रदेश १ अर्थात मोरङको विराटनगरमा हुने छ । हाल उक्त कम्पनी स्थापना भई कम्पनी रजिष्ट्रारमा समेत दर्ता भइसकेको छ । र, व्यवसाय सञ्चालनको लागि इजाजत लिने क्रममा रहेको सो कम्पनीलाई प्राधिकरणले चुक्ता पुँजी जम्मा गर्नको लागि समेत निर्देशन दिइएको प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए ।

‘कम्पनीलाई ४५ दिनको समयमा तोकिएको पुँजी जम्मा गर्न निर्देशन दिएका छौं,’ अध्यक्ष सिलवालले विकासन्युजसँग भने- ‘कम्पनीले समयमै प्रकृया पुरा गरेमा समयमै व्यवसाय सञ्चालनको लागि इजाजत दिनेछौं ।’

त्यस्तै, इजाजतको लागि अन्य कम्पनीले पनि कम्पनी रजिष्ट्रारमा दर्ता गरी प्राधिकरणमा निवेदन दिइसकेका छन् । यसक्रममा आवश्यक डकुमेन्टहरु पेश नगरेकाहरुसँग थप डकुमेन्ट माग गरिएको समेत प्राधिकरणले बताएको छ ।

प्राधिकरणका अनुसार सम्पूर्ण डकुमेन्टहरु पेश गरेका कम्पनीहरुले रकम जम्मा गर्ने प्रकृयालाई अघि बढाउनुपर्ने हुन्छ । यसअनुसार तोकिएको समयमा कम्पनीहरुले भौतिक पूर्वाधारहरु तयार गर्ने लगायतका विभिन्न शर्तहरु पुरा गर्नुपर्ने प्राधिकरणको भनाई छ । सो अनुसार प्रकृया पुर्याउने कम्पनीलाई प्राधिकरणले समयमै व्यवसाय सञ्चालन गर्नको लागि अनुमति दिनेमा प्राधिकरण रहेको छ ।

सरकारले चालु आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत बीमाको विकास तथा विस्तार गर्न लघुबीमा कम्पनी स्थापना गर्नुपर्ने व्यवस्था गरेको थियो । सोही व्यवस्था अनुसार बीमा प्राधिकरणले गाउँगाउँमा अर्थात निम्न परिवारमा बीमाको पहुँच होस् भन्ने उद्देश्यले ७ वटा कम्पनीलाई लाइसेन्स दिएर प्रकृया अघि बढाएको हो । यससँगै प्राधिकरणले लघुबीमा कम्पनीहरुको चुक्ता पुँजी न्यूनतम ७५ करोड रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ । र, हालसम्म आवश्यक सबै विवरण पेश गरेका लघुबीमा कम्पनीहरुलाई तोकिएको पुँजी पुर्याउन निर्देशन दिइएको प्राधिकरणका अध्यक्ष सिलवालले बताए ।

‘कम्पनीहरुलाई चुक्ता पुँजीको ७० प्रतिशत अर्थात ५२ करोड ५० लाख रुपैयाँ बैंक खातामा जम्मा गर्न र बाँकी ३० प्रतिशत चालु खर्चलाई छुट्याउन निर्देशन दिइएको छ,’ अध्यक्ष सिलवालले बताए ।

उनका अनुसार कम्पनीहरुले बैंक खातामा पैसा जम्मा गर्दां आफ्नो मूख्य कार्यालय जुन प्रदेशमा हो सोही प्रदेशमा रहेको जुनसुकै बैंकमा पैसा जम्मा गर्न सक्ने जनाइएको छ ।

(सम्पादन गरिएको)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.