२०७९ माघ १७ गते १४:३८ विकासन्युज
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बजारमा छ्यापछ्याप्ती गुणस्तरहीन औषधिहरु बिक्री भइरहेको गुनासो आइरहेको भन्दै सबै ठाउँमा निगरानी बढाउन निर्देशन दिएका छन् ।
मंगलबार औषधि व्यवस्थापन विभागको अनुगमन तथा ब्रिफिङ लिने क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभागलाई यस्तो निर्देशन दिएका हुन् ।
उनले सिमित क्षेत्रको भन्दा पनि अब सबै ठाउँका फार्मेसीहरुको निरीक्षण र नियमन गर्न आवश्यक रहेको बताए । उनले निगरानी र निरीक्षणको विषयमा आवश्यक जनशक्ति नभएको वा अन्य कुनैपनि बहाना नबनाइ प्रतिवद्ध भएर निरीक्षणमा लाग्न आग्रह गरे ।
उनले नागरिकको स्वास्थ्यमा कसैले पनि खेलवाड गर्न नमिल्ने बताउँदै आफूले दिएका निर्देशनहरु प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिए ।
‘बजारमा अहिले पनि गुणस्तरहीन औषधिहरु छ्यापछ्याप्ती छ भन्ने सुनेका छौँ, तपाईहरुले सर्टेन ठाउँको स्याम्पेलिङ गर्नुभयो, पछिल्लो समय ७ प्रतिशत गुणस्तरहीन औषधि भेटियो भन्नुभयो, सबै ठाउँमा पुग्ने हो भने यसको आँकडा बढेर जानसक्छ, यसतर्फ हामीले कुनैपनि हिसावले जनशक्ति छैन, वा यो त्यो छैन भन्ने बहानामा नागरिकको स्वास्थ्यमा खेलबाड गर्नु हुँदैन, त्यसमा सम्पूर्ण रुपले प्रतिवद्ध भएर विभागले आफ्ना कार्य अघि बढाउनुपर्छ,’ उनले भने ।
उनले भने,’मन्त्रालयले के सहयोग गर्नुपर्छ गर्नेछ । यो सवालमा जनशक्ति छैन, केही लिमिटेशनहरु छन् भन्ने लगायतका इत्यादि कुराले गर्न सकेका छैनौँ भन्न पाइँदैन । यो मैले स्पष्ट रुपमा भनेको छु, प्रभावकारी कार्यान्वयन होस् । सातै प्रदेशमा औषधि विभागका कार्यालयहरु स्थापना गर्नुपर्छ, आवश्यक जनशक्ति व्यवस्थापन गर्नुपर्छ, अनुगमन र नियमनलाई प्रभावकारी बनाएर जानुपर्छ ।’
मन्त्री गिरीले स्वास्थ्य विभागमा पूर्वाधारको दुरावस्था रहेको भन्दै पूर्वाधारको निर्माण गरेर अघि बढ्न निर्देशन दिए । उनले विभाग मा ठोस योजनाका साथ अघि बढ्नुपर्ने बताए ।
उनले विभागले चाँडो भन्दा चाँडो कार्ययोजना बनाइ मन्त्रालयमा आफ्ना मागहरु लिएर आउन आग्रह गरे । मन्त्री गिरीले नेपालमा नै अत्यावश्यक औषधि उत्पादन गर्नुपर्ने बताए । उनले नविकरणसम्बन्धी कामहरु अनलाइन प्रणालीबाट गराउन पनि निर्देशन दिए ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.