५० रुपैयाँमा शुरु गरेको व्यापारबाट करोडौंको मालिक बनिन् सीता, भन्छिन्- परिस्थितिले डाक्टर बनायो

  २०७९ माघ १५ गते १८:१७     राजिव न्यौपाने

काठमाडौं । संघर्षका पाटा र बाटाहरू पृथक किसिमका हुन्छन् । सफलताको श्रेणीमा पुग्न निकै मिहिनेत र संघर्ष गर्नुपर्छ । भनिन्छ ‘ठूलो सफलता प्राप्त गर्नका लागि ठूला चुनौतीहरूको सामना गर्ने हिम्मत गर्नुपर्छ ।’ यो भनाईलाई आत्मसाथ गर्दै अघि बढिरहेकी छिन् गोकर्णेश्वरकी सीता थापा ।

आफ्नो कामलाई निरन्तरता दिए सफल बन्न सकिन्छ भन्ने मोटिभका साथ आफ्नो काममा तल्लीन् हुन्छिन् उद्यमी सीता । बुटवलमा जन्मिएकी सीताको परिवार हङकङमा बस्थे । उनी पनि नेपालमा प्लस टुको पढाई सकेर हङकङ पुगिन् । उतै काम गर्न थालिन् । ६/७ वर्ष हङकङमा बिताएकी थापाले पढाईलाई भने निरन्तरता दिन सकिनन् । पछि नेपाल फर्किइन् ।

‘म १७/१८ वर्षको उमेरमा हङकङ गएँ, ६/७ वर्ष काम गरेँ, कामबाट राम्रै कमाइ हुन्थ्यो, त्यसैले पनि पढाइमाभन्दा बढी काममा ध्यान दिएँ,’ उनले भनिन् ।

विदेश बसाईंपछि नेपाल फर्किए लगत्तै सीता ओखलढुंगाका एक युवकसँग विवाह बन्धनमा बाधिइन् । श्रीमान् होटल र ट्राभलको बिजनेस समाल्थे भने सीता घरायसी काममा व्यस्त हुन्थिन् ।

वीरगञ्जमा श्रीमानको व्यापार व्यवसाय राम्रै भइरहेको थियो । तर जब वि.सं. २०६३/०६४ सालमा मधेस आन्दोलन चर्कियो त्यसपछि भने उनको व्यापार घट्दै गयो । यसपछि सीताको परिवार वीरगञ्जबाट काठमाडौं आयो ।

डाक्टरले देखेको जोखिममा जमराको जुसको चमत्कार

मानिसको शरीर हो, सधै एक नाशको हुँदैन । शरीरमा केही न केही रोगका लक्षण देखिइहाल्छ । कसैलाई छिटो कसैलाई ढिलो । त्यसमा सीता पनि अछुतो रहिनन् । उनलाई रोगले च्याप्यो ।

‘म गर्भवती भएपछि टिभीको समस्या देखियो, टिभीको उपचार गर्ने क्रममा फेरी थाइराइड भयो, सो क्रममा बच्चा जन्म भयो, त्यसको लगतै घाटीमा क्यान्सर भयो, अपरेसन गर्न डाक्टरले रिक्स छ भन्यो, लाखौं रुपैयाँ अपरेसनमा खर्च लाग्ने भयो मैले अपरेसन गर्न चाहिँन, सामान्य औषधिको सेवन गरेँ,’ उनले भनिन् ।

समाज सेवामा पनि सीता निकै अग्रसर बनिन् । वि.सं. २०७२ सालमा गएको भूकम्पमा परेका पीडितको सहयोगको लागि उनी निस्किइन् । सो अवसरमा विभिन्न देशबाट स्वास्थ्यकर्मीसहित सहयोगीहरू पनि आए । सहयोग गर्न नेपाल आएका विदेशी नागरिकले भूकम्पमा परी हातखुट्टा भाँचिएका लगायतलाई निःशुल्क उपचार गर्ने क्याम्प चलाएका थिए । सोही क्रममा सीताले स्वदेशी तथा विदेशी स्वास्थ्यकर्मीहरूसँग भेट्ने अवसर पाइन् । उक्त भेटमा उनले आफ्नो स्वास्थ्य समस्या पनि सुनाइन् । र, विदेशी स्वास्थ्यकर्मीले सीतालाई बार्ली तथा व्हिट ग्रास (जमरा) प्रयोग गर्ने सुझाव दिए । सुझाव सुनेर छक्क परिन् सीता । लाखौं रुपैयाँ खर्च गरेर त उपचार हुन नसकेको जमराको रसले के ठिक होला र ? भन्ने उनलाई लागेको थियो । तर पनि उनले सेवन गर्न थालिन् । फलस्वरुप उनलाई विस्तारै ठिक हुँदै गयो ।

‘मेरो सबै रोग जमराको रसले ठिक गरायो, त्यसपछि मैले मजस्तै पीडितलाई सेयरिङ् गरेर जमराको रस पिउन आग्रह गरे, जतिलाई सेयर गरे उहाँहरुलाई पनि ठिक भयो, जमराको रस लिए पछि उहाँहरुले आफ्नो इच्छा अनुसार १/२ सय रुपैयाँ दिन थाल्नु भयो’ उनले भनिन् ।

त्यसपछि सीताले जमराको जुस बनाई बिरामीहरूको उपचार गर्ने सोच बनाइन् । त्यसको तालिम लिइन् । विभिन्न रोगका बिरामीहरूले यसको प्रयोग गरेपछि उनीहरूलाई ठिक हुँदै गयो । र, जमराको माग बढ्दै गयो । माग बढ्दै गएपछि यसको व्यापार गर्ने सोच सीतामा आयो । सोही अनुरुप उनले वि.सं. २०७४ सालमा सीता अर्गानिक एग्रो प्राकृतिक जौ र गहुँ ग्रास नेपाल कम्पनी दर्ता गरी व्यावसायिक यात्रा सुरु गरिन् ।

परिस्थितिले बनाएको डाक्टर

सीताले व्यावसायिक यात्रा सुरु गरेको केही समयपछि नै कम्पनीमा बिरामीहरूको चाप बढ्न थाल्यो । जसलाई सीताले जमराको जुस बनाउँदै सेवन गर्न दिन थालिन् । उक्त रस पिएर निको भएका बिरामीहरु धेरै छन् । अहिले विभिन्न रोगका बिरामीहरू परामर्श लिनको लागि सयौं संख्यामा त्यहाँ पुगि रहेका हुन्छन् ।

‘म डाक्टर हुँ, मलाई परिस्थितिले डाक्टर बनायो, म आइडिया स्टुडियोको विद्यार्थी, अस्पतालमा गएर लाखौं रुपैयाँ उपचारमा खर्च गरी उपचार हुन नसकेका बिरामीहरू हामीसँग जोडिन आइपुग्नु हुन्छ,’ उनले भनिन् ।

सीताले क्यान्सर तथा अन्य रोगका पीडितहरूलाई सेवा गर्न थालेको हाल करिब साढे ५ वर्ष भइसकेको छ । उक्त कम्पनीले बिरामीलाई प्राकृतिक थेरापी गर्दै आएको छ ।

त्यस्तै, सीताको अध्यक्षतामा क्यान्सर केयर नेपाल नामक संस्था सञ्चालनमा छ । उक्त संस्थाले आर्थिक वा सामाजिक रूपमा सहयोग गर्दै आएको छ । सो संस्थाको मातहतबाट क्यान्सरका बिरामीलाई आफ्नो कमाइको १० प्रतिशत रकम सहयोग गर्दै आएको उनी बताउँछिन् । कोभिड-१९ पछि अर्को सिनर्जी एग्रो कम्पनी दर्ता गरिन् । पछिल्लो समय बजारमा रासायनिक मलको प्रयोजन भई अर्गानिक उत्पादनको कमीलाई मध्यनजर गर्दै सो कम्पनी सञ्चालनमा ल्याएको उनको भनाइ छ ।

समाजसेवी सीता कृषक पनि हुन् । उनले बाख्रा, कुखुरासँगै मौरी पालन गर्छिन् । उनका अनुसार चितवनमा ३ सय घार मौरी पालन छ भने अन्य व्यवसाय काठमाडौंमा नै छ । सीताले अहिले उपचार सँगसँगै अर्गानिक खाद्य कलेक्सन गरी बिक्री र टिपिकल लोकल नेपाली प्रडक्टलाई लिए काम गर्दै आएकी छिन् ।

वार्षिक करोडौंको कारोबार

सीताले सञ्चालनमा ल्याएको दुई वटा कम्पनीबाट वार्षिक एक करोड रुपैयाँ बराबरको कारोबार हुँदै आएको छ । अर्गानिक एग्रो प्राकृतिक जौ र गहुँ ग्रास नेपाल कम्पनी ५० रुपैयाँको लगानीबाट सुरु भएको सीता सुनाउँछिन् ।

‘मैले ५० रुपैयाँको टपरी किनेर गहुँ अथवा जहुँको जमरा उमारी सेवा दिन थालेको हुँ, कोभिडपछि कृषि कम्पनी बैंकको ऋण लिएर ६८ लाखबाट सुरु गरेँ, अहिले यी दुवै कम्पनीमा डेढ करोडभन्दा बढी लगानी भइसकेको छ,’ उनले भनिन् ।

सीताले आफ्नो कम्पनीबाट नागरिकको जीवन मात्रै होइन रोजगार पनि बचाएकी छिन् । उनको दुई वटा कम्पनीबाट प्रत्यक्ष १५ र अप्रत्यक्ष (पार्टटाइम) २५ जना गरि करिब ४० जनाले रोजगार पाएका छन् ।

यति मात्रै होइन सीताको दुई वटा अर्गानिक मार्ट छन् । जहाँबाट अचार लगायत अन्य अर्गानिक खाद्य वस्तुको बिक्री हुँदै आएको छ । उक्त उत्पादनहरु बिग मार्ट तथा भाटभाटेनीमा भने पठाउने नगरेको उनी बताउँछिन् ।

‘बिग मार्ट तथा भाटभाटेनीमा हामीले आफै सामान लगेर राख्नु पर्छ, राखेर बिक्री भयो भने पैसा आउन ६/७ महिना लाग्छ, यदी बिक्री भएन भने भने फिर्ता पढाई दिन्छ, उल्टै घाटा हुन्छ, त्यसैले त्यहाँ पढाउँदैनौं,’ सीताले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.