२०७९ माघ १५ गते १५:४७ विकासन्युज
काठमाडौं । शिवम् सिमेन्टले लगानी विविधिकरण गर्ने विभिन्न कम्पनीको सेयर खरिदमा जोड दिएको छ । कम्पनीले असोज मसान्तसम्ममा ४ अर्ब ४७ करोड ४७ लाख ७ हजार ३७५ रुपैयाँको सेयर खरिद गरेको जनाएको छ ।
कम्पनीले सूचीकृत कम्पनी प्रभु बैंकको ११ लाख २० हजार कित्ता सेयर लिएको छ । शिवम् सिमेन्टले प्रभु बैंकको संस्थापक समूहको १० लाख कित्ता सेयर किनेको र बोनस सेयरबाट एक लाख २० हजार कित्ता सेयर थपिएको कम्पनीले जनाएको छ ।
शिवमले विभिन्न कम्पनीको सेयर खरिद गरी लगानी विविधिकरण गर्ने नीति लिएको सोही अनुसार लगानी सम्बन्धि निणर्यहरु भैरहेको कम्पनीका निवर्तमान अध्यक्ष सुरेन्द्र कुमार गोयलले बताए ।
शिवम् सिमेन्टले एससिएल इन्भेष्टमेण्ट कम्पनीमा ५५ कारेड ५० लाख रुपैयाँ लगानी गरेको छ । ‘यो शिवम् सिमेन्टको सहायक कम्पनी हो, यसमा १०० प्रतिशत लगानी हाम्रो छ, सिमेन्ट उद्योगको लागि आवश्यक खानी क्षेत्रमा लगानी गर्नको लागि यो इन्भेष्टमेन्ट कम्पनी खोलेको हौं,’ उनले भने ।
शिवमले सबैभन्दा धेरै लगानी होङ्शी सिमेन्टमा गरेको छ । शिवमले सहायक कम्पनी शिवम् होल्डिङग्स लिमिटेड मार्फत होङ्शी शिवम् सिमेन्ट प्रा. लि. मा ३ अर्ब ७० करोड ७१ लाख ३५ हजार रुपैयाँ लगानी भएको छ ।
होङ्शीले गत वर्षको नाफाबाट ९ प्रतिशतका दरले बोनस सेयर दिएपछि कुल लगानी त्यति पुगेको उनले बताए । गत आर्थिक वर्षको नाफाबाट आएको उक्त आम्दानीलाई शिवमले चालु आर्थिक वर्ष २०७९/८०को आम्दानीमा बाँधेको पनि उनले बताएका छन् ।
अहिलेसम्म विभिन्न कम्पनीमा गरी ४ अर्ब ४७ करोड ४७ लाख ७ हजार ३७५ रुपैयाँ रहन पुगेको उनले जनाए । शिवमको चुक्ता पूँजी ४ अर्व ४० करोड रहेकोमा पुँजी भन्दा बढी विभिन्न कम्पनीको सेयरमा लगानी भएको उनले बताए।
शिवमले गत वर्षको नामबाट सेयरधनीलाई १० प्रतिशतका दरले नगद लामांश दिएको छ । हाल यस कम्पनीको सेयर प्रतिकित्ता सवा ५ सयको हाराहारीमा किनबेच भैरहेको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.