२०७९ माघ १३ गते १०:५६ विकासन्युज
काठमाडौं । आत्मदाहको प्रयास गरेका आचार्यले चाँडै संसार छाड्दैछ भन्ने थाहा पाएरै आफू उनको आँखा तथा बोली बन्द हुनुअघि नै अस्पतालमा भेट्न गएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डाक्टर तोसिमा कार्कीले स्पष्ट पारेकी छिन् ।
कार्कीले शुक्रबार सामाजिक सञ्जालमा (फेसबुकमा) लामो स्टाटस लेख्दै एक सचेत नागरिकको हिसावले आत्मदाहको प्रयास गरेका उनलाई भेट्न अस्पताल पुगेको स्पष्टीकरण दिएकी हुन ।
आत्मदाह गरेका आचार्य अस्पतालको आईसीयूमा उपचाररत रहँदा संवेदनशीलता विचार नगरी भेट्न गएको भन्दै उनको व्यापक आलोचना भएपछि स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले स्पष्टीकरण दिदैँ दिएकी हुन ।
गत मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि आफ्नै जिउमा आगो लगाएका आचार्यको उपचारका क्रममा निधन भएको थियो । उनलाई तत्काल उद्धार गरी कीर्तिपुरस्थित वर्न अस्पताल लगिएको थियो । त्यहाँ आईसीयूमा राखेर उपचार भइरहँदा स्वास्थ्य राज्यमन्त्री कार्की भेट्न अस्पताल पुगेकी थिइन् ।
‘राज्य छैन भनेर आत्मदाह सम्मको प्रयास गरेका यो देशको नागरीकलाई उ चाँडै नै यो संसार छोड्दैछ भन्ने थाहा भएरै उनका आँखाहरु सधैँका लागि बन्द हुनु अगावै, उनका बोलि सधैँको लागि रोकिनु अगावै म उहाँलाई भेट्न पुगेको थिँए, भोलिपल्ट बिहानै उहाँ बित्नुभएछ्र धन्न मैले ढिला गरिनछु’, उनले समाजिक सञ्जालमा लेखेकी छिन् ।
आफूले आइसियूमा बिरामी भेटेको भिडिओ कस्ले खिच्यो भन्नेबारे जानकार नभएको समेत उनले बताएकी छिन् ।
आचार्य जीवनको अन्तिम चरणमा छन् भन्ने बुझेपछि आफूभित्रको ‘मानव’ ले उनलाई नभेटी रहन नदिएको राज्यमन्त्रीको कार्कीको भनाइ छ ।
‘आत्मदाह गरेका प्रेम आचार्य जीवनको अन्तिम चरणमा छन् भन्ने बुझ्नेबित्तिकै म भित्रको मानव उहाँलाई भेट्न नगई बस्न सकिनँ, मभित्रको शल्यचिकित्सक उहाँको स्वास्थ्य स्थिति, उहाँको चेत र उहाँको बाँच्ने सम्भावनालाई नबुझी बस्न सकिनँ र मभित्रको ‘राज्य प्रतिनिधि’ जीवनबाट आजित भएर जीवन त्याग्दै गरेको यही देशको नागरिकलाई अन्तिम घडीमै पुगे पनि नआत्तिनुस् है, नडराउनुस् है, राज्य छ नि नभनी बस्न सकिनँ ।’
Copyright © 2023 Bikash Media Pvt. Ltd.
Great. Don’t worry what people Said. Hope you are Honest.