महानगरले दरबारमार्गको पार्किङ हटाउँदा व्यापारमा ७० प्रतिशत गिरावट, विकल्प नखोजे आन्दोलन गर्ने

  २०७९ माघ १२ गते १७:४२     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले दरबारमार्गको सडकमा हुने अव्यवस्थित सवारी पार्किङ हटाउँदा व्यापारमा गिरावट आएको छ । महानगरपालिकाले गत पुस १९ गतेदेखि दरबारमार्गमा पार्किङ गर्न नपाउने व्यवस्था गरेसँगै दरबारमार्गमा दैनिक हुने व्यापारमा ७० प्रतिशतसम्म गिरावट आएको बताइएको हो ।

महानगरपालिकाले सडकमा अव्यवस्थित पार्किङ भएको भन्दै दरबारमार्ग सडककमो किनारनामा गरिँदै आएको पार्किङ हटाएको थियो । सडकबाट पार्किङ हटाइएको भन्दै स्थानीय व्यवसायीले महानगरको विरोध समेत गरेका थिए ।

अहिले पनि महानगरपालिकाले वैकल्पिक ठाउँको व्यवस्थापन नगरी पार्किङ हटाएको भन्दै दरबारमार्गमा व्यवसायीले आक्रोश समेत व्यक्त गरिरहेका छन् । उनीहरुले विकल्पको रुपमा पार्किङको व्यवस्थापन नै नगरी सडकको पार्किङ हटाउँदा उल्लेख्य रुपमा व्यापार घटेको गुनासो गरेका हुन् ।

आइक्लबकामा कार्यरत आश कुमार गुरुङले पछिल्लो समय दरबारमार्गमा हुने व्यापारमा उल्लेख्य रुपमा कमि आएको बताए । उनका अनुसार सडकको पार्किङ हटाउँदा मानिसको आवतजावत कम भएर व्यापार पनि खस्किएको छ । आइक्लको ब्यापार पनि पार्किङ हटेपछि ५० प्रतिशतले कमि आएको उनको भनाइ छ ।

‘अहिले दरबारमार्ग क्षेत्रमा पार्किङको व्यवस्था छैन, ग्राहकको लागि पार्किङ स्थल छैन, जसको असर अहिले व्यापारमा देखिएको छ, दरबारमार्गमा आउने अधिकांश ग्राहकहरु आफ्नो सवारी लिएर आउनुहुन्छ, पछिल्लो समय सवारी पार्किङको सुविधा नभएपछि व्यापारमा नै कमि देखिएको छ, यसरी व्यापारमा कम हुँदै जाने हो भने घर÷सटर भाडा तिर्न नसक्ने अवस्था आउन सक्छ,’ उनले भने ।

उनका अनुसार स्थानीय व्यापारीले पनि सवारी पार्किङका लागि नजिकैका होटलमा पार्किङ गर्दै आएका छन् । लामो समयदेखि दरबारमार्गमा सःशुल्क सडकको छेउमा पार्किङको व्यवस्था थियो । महानगरले उक्त ठाउँमा पार्किङ निषेध गरेसँगै त्यसको असर अहिले दरबारमार्ग क्षेत्रको व्यापार/व्यवसायमा देखिन थालेको हो ।

दरबारमार्ग आन्तरिक तथा बाह्य पर्यटनको आवागमन हुने ठाउँ हो । पार्किङ हटाउँदा कोरोना महामारी र लकडाउनका कारण थलिएर बिस्तारै तंग्रिन लागेको दरबारमार्गको व्यापार व्यवसायमा नकारात्मक असर परेको व्यवसायीहरुको गुनासो छ ।

पार्किङ्गको व्यवस्था हट्नुअघिको दरबारमार्गको बेलुकीको दृष्य

यस्तै, दरबारमार्ग विकास बोर्डका कार्यालय सचिव यज्ञराज पाण्डेले अहिले दरबारमार्गको व्यापारमा ७० प्रतिशतसम्म कमी आएको बताए । उनका अनुसार अहिले दरबारमार्गमा दिनहुँ मानिसको आवतजावतमा पनि निकै कमि आएको छ । ‘अहिले पार्किङ छैन, केही ठाउँमा निजी पार्किङ छ, बिचमा ७० फिटको सडक छ, ४ लेन सडकमा गाडी चलाउँदा पनि १२/१३ फिट सडक खालि छ, तर पार्किङ गर्न पाइँदैन,’ उनले गुनासो गरे ।

विकास बोर्डले शुक्रबार पार्किङको विषयलाई नै लिएर पत्रकार सम्मेलन पनि गर्दैछ । पहिलाको ठाउँमा नै पार्किङ गर्न नदिए वा पार्किङ गर्ने स्थानको टुङ्गो नलगाए आन्दोलन गर्ने बोर्डको तयारी छ । दरबारमार्ग क्षेत्रको पार्किङ जानकारी नदिई हटाइएको पनि बोर्डको आरोप छ ।

‘यहाँको पार्किङको विषयलाई लिएर महानगरपालिमा पनि गयौं, उपप्रमुखसँग पनि कुरा गर्यौं, उहाँहरूले यस विषयमा सकारात्मक तरिकाबाट हेर्नु भयो, मेयरसँग पटक पटक भेट्न कोसिस गर्दा पनि सकेनौं, फोन पनि उठाउनु हुन्न, उहाँलाई पत्र पनि पठाएका छौं,’ उनले भने ।

सडकमै पार्किङ गर्न दिन्नौं : अध्यक्ष श्रेष्ठ

काठमाडौं महानगरपालिकाका वडा नम्बर १ का अध्यक्ष भरतलाल श्रेष्ठले दरबारमार्गको सडकमै सवारी पार्किङ गर्न दिने अवस्था नरहेको बताए । ‘उहाँहरू (व्यवसायी) पार्किङ गर्न पाउँ भनेर अडानमा हुनुहुन्छ, महानगर ट्राफ्रिक प्रहरी त्यो ठाउँमा पार्किङ गर्न नदिने पक्षमा छ, व्यापारिक दृष्टिकोले पार्किङ राख्न दिनुहुन्न भन्न पनि सकिन्न, दिन पनि भन्न सकिन्न, सबै मिलेर समस्याको समाधान गर्नु पर्छ,’ उनले भने ।

महानगरपालिकाले सडकको छेउमा सवारी पार्किङ राख्न नुहिने नियम भएका कारण नै त्यहाँ निषेध गरिएको उनको भनाइ छ । अहिले पार्किङ गर्ने ठाउँ छैन, तर निजी ठाउँमा पनि गर्न सकिन्छ, त्यसमा पार्किङ गर्ने सक्ने व्यवस्था मिलाउन महानगरले पनि पहल गर्नु पर्छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.