नेपालमा डेढ लाख रुपैयाँसम्म पर्ने हेलमेट, कुन कम्पनीको बढी सुरक्षित ?

  २०७९ माघ १२ गते १७:०४     विकासन्युज

काठमाडौं । दुई पाँग्रे सवारी साधन चलाउनका लागि अत्यावश्यक चिज हो हेलमेट । दुईपाँग्रे सवारी चालकले आफ्नो सुरक्षाका लागि हेलमेटको प्रयोग गर्छन् । ‘भैँसी किन्दा पाडो उपहार’ भने जस्तै धेरै कम्पनीले मोटरसाइकल खरिद गर्दा हेलमेट निःशुल्क प्रदान गर्छन् । जुन हेलमेटमा कम्पनीको लोगो पनि हुन्छ ।

सुरक्षा सँगसँगै नयाँ तथा आकर्षक डिजाइनका महँगा हेलमेट लगाउनु युवाहरुको प्यासन नै बनिसकेको छ । मूल्यका हिसाबमा बजारमा हेलमेट लाखौं रुपैयाँसम्म पर्छन् । एउटा मोटरसाइकलको आधा मूल्य नै राम्रो हेलमेटमै पर्न जान्छ । दुईपाँग्रे सवारी चालकहरूले सबैभन्दा बढी भारतीय कम्पनीले उत्पादन गरेका हेलमेट प्रयोग हुने हेलमेट नेपालका सेल्स म्यान करन श्रेष्ठले बताए ।

उनका अनुसार नेपालमा सबै भन्दा बढी ६ देखि १० हजार रुपैयाँसम्म पर्ने हेलमेट प्रयोग हुन्छन् । ‘पहिला मान्छे सेफ्टी हेर्दैन थिए, अहिले सेफ्टटीको विषयमा मान्छे निकै चासो राख्छन्, युवाले ग्राफिक्स र बुढा पाकाले सहज किसिमको हेलमेट खोज्छन्, हेलमेटका पनि मोडल हुन्छन्, एउटै कम्पनीले धेरै मोडल बनाउँछ, मोडल अनुसार फिचर हुन्छन्, त्यही अनुसारको मूल्यको निर्धारण गरिएको हुन्छ,’ उनले भने ।

नेपालमा महँगोमा हेलमेट १ लाख ६० हजार रुपैयाँसम्म प्रयोग भएको पाइएको उनको भनाइ छ । एलएसटु, एमटी, एसएमके बिलमोला लगायतका कम्पनीको हेलमेटको माग बढेको उनी बताउँछन् ।

स्टिलबर्ड हेलमेट

स्टिलबर्ड धेरै युवाको रोजाइमा पर्न सफल हेलमेट हो । उक्त हेलमेट दुईपाँग्रे सवारी चलाउँदा सुरक्षाको हिसाबले पनि निकै उपयुक्त मानिन्छ । स्टिलबर्ड हेलमेटका विभिन्न मोडल बजारमा पर्याप्त उपलब्ध छन् । यो सानो र हेर्दा आकर्षक देखिने भएकाले सो हेलमेट सबैको रोजाइमा पर्छ । यसको सेल सानो भएका कारण स्कुटरको डिग्गीमा पनि सहजै राख्न सकिन्छ । अन्य हेलमेटको तुलनामा यो हेलमेट सस्तो पनि छ । स्टिलबर्ड हेलमेट नेपालमा ३ हजार रुपैयाँदेखि ७ हजार रुपैयाँसम्मको पाइने बताइएको छ । यो हेलमेट विभिन्न रङ र मोडलमा उपलब्ध छ ।

एसएमके हेलमेट

पछिल्लो समय एसएमके हेलमेटका नयाँ नयाँ मोडलहरू बजारमा आइरहेका छन् । यो हेलमेट टाउकामा लगाउँदा निकै सहज भएको महसुस हुन्छ । जसले गर्दा भाइजरको प्रयोग गरेर नै सवारी कुदाउन सकिन्छ । यो हेलमेटमा डबल भाइजर छ । हेलमेट प्रयोग गर्दा मानिसको मुखबाट निस्किएको बाफले भाइजलाई नछेकोस् भनेर एन्टी फग पनि दिइएको हुन्छ ।

यो युरोपेलीबाट मान्यता प्राप्त हेलमेट हो । एसएमकेका पनि विभिन्न मोडल छन् । मूल्य अनुसार यस कम्पनीको हेलमेटमा पनि विशेषता समेटिएका छन् । एसएमकेका ७/८ वटा ग्राफिक्स रहेको बताइएको छ । एसएमकेका हेलमेट नेपाली बजारमा ७ हजारदेखि साढे २४ हजार रुपैयाँसम्मका उपलब्ध छन् ।

केवाईटी हेलमेट

केवाईटीका हेलमेट अधिकांश बाइक राइडरहरुले प्रयोग गरेको पाइन्छ । यो इटालियन हेलमेट हो । तर, इन्डोनेसियाबाट यो हेलमेट आएको कारण यसको मूल्य केही कम हुन गएको पनि बताइएको छ । अहिले नेपालमा सो ब्राण्डका हेलमेट ११ देखि १२ हजारसम्म उपलब्ध छन् ।

बिलमोला हेलमेट

बिलमोला हेलमेटका पनि मोडल धेरै किसिमका छन् । यसको मोडल अनुसार ग्राफिक्स पनि भिन्नभिन्न हुन्छ । बिलमोला स्पाइकर मोडेलको हेलमेटलाई नेपालमा १९ हजार ५ सय रुपैयाँमा पाइन्छ । यो दुवईबाट मान्यता प्राप्त हेलमेट हो । यस हेलमेटको अगाडिको भागलाई खोली आधा बनाइ पनि प्रयोग गर्न सकिन्छ । यसको लुक्स हेर्दा आकर्षक देखिन्छ । सेफ्टीको हिसाबले सो हेलमेट निकै सुरक्षित मानिन्छ । यो हेलमेट सिटी राइडको लागि बढी मात्रमा प्रयोग हुँदै आएको छ । यस हेलमेटका पनि धेरै वटा मोडल बजारमा उपलब्ध भएको कारण अलग अलग मूल्यको निर्धारण गरिएको छ ।

एजीवी हेलमेट

एजीवी ट्र्याकमा जाने हेलमेट हो । सेफ्टीको लागि यो हेलमेट निकै उपयुक्त मानिन्छ । एजीवीका विभिन्न मोडल छन् । यसको मोडल केवानदेखि सुरु हुन्छ । एजीवी हेलमेट नेपालीमा बजारमा ७ देखि एक लाख ८० हजार रुपैयाँसम्मका उपलब्ध छन् ।

शार्क हेलमेट

शार्क पनि ट्र्याकमा जाने हेलमेट हो । अन्य हेलमेट भन्दा यो हेलमेट सेफ्टीको हिसाबले नम्बर वान मानिन्छ । यो फ्रान्सको प्रडक्ट हो । यसका पनि विभिन्न मोडल छन् । मोडल अनुसार रकमको निर्धारण हुने बताइएको छ । यो कम्पनीको हेलमेट नेपालमा २० हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्म पर्ने बताइएको छ ।

ठन्डर हेलमेट

ठन्डर मोडलको कार्बन फाइबर भएको यो हेलमेट फुल फेस हेलमेट हो । यसका पनि विभिन्न सेग्मेन्टमा हेलमेट छन् । यस कम्पनीका हेलमेट पनि विभिन्न मोडलसँगै रङमा पनि उपलब्ध छन् । यो हेलमेट नेपालमा ७ हजार रुपैयाँदेखि माथि पाइने बताइएको छ ।

आइरो हेलमेट

यो हेलमेट झट्ट हेर्दा निकै आकर्षक देखिन्छ । यो कम्पनीले सेफ्टीलाई पनि उच्च प्राथमिकता दिदै सेफ्टी तयार पारिएको छ । यो सात वटै रङमा उपलब्ध छ । आइरो हेलमेट २९ हजारदेखि माथिसम्मका छन् ।

बेल हेलमेट

विश्वमा पहिलो पटक हेलमेट उत्पादन गर्ने कम्पनी हो, ‘बेल हेलमेट’ । यो कम्पनीले सस्तोदेखि महँगोसम्मको हेलमेट उत्पादन गर्छ । यो हेलमेट सबैले प्रयोग गर्छन् । बजारमा यस कम्पनीको हेलमेट २ हजार देखि ८० हजारसम्म मूल्य भएको पाइन्छ ।

डट हेलमेट

हेलमेट विशेष गरी अफरोडको लागि प्रयोग हुने बताइएको छ । डट बाइक प्रयोग कर्ताहरूले उक्त हेलमेटको सबैभन्दा बढी प्रयोग गर्छन् । यसको मूल्य पनि मोडल अनुसारको निर्धारण गरिएको छ । यो १०÷११ हजार रुपैयाँसम्ममा पनि पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.