काभ्रेपलाञ्चोकमा १२ पटक म्याद थप्दा पनि सम्पन्न भएन आयोजना, नयाँ ठेकेदारको खोजी

  २०७९ माघ १२ गते १४:५०     विकासन्युज

काभ्रेपलाञ्चोक । तीन नगरपालिका समेटिएको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको बाह्रवर्ष बितिसकेको छ ।

सम्झौताको तीन वर्षमा आयोजना सम्पन्न गर्ने जनाइए पनि ठेकेदार कम्पनीलाई १२ पटकसम्म म्याद थप्दा पनि अझै काम सम्पन्न हुनसकेको छैन । चिनियाँ ठेकेदार कम्पनी निम्बो निङ्सिङ इन्टरनेशनल इङ्क नामक ठेकेदार कम्पनीलाई १२औँ पटक म्याद थप्दा पनि आलटाल गरिदिइएको समयमा काम नसकेपछि आयोजनाले नयाँ ठेकेदार कम्पनीको खोजी गर्ने भएको हो ।

इङ्कले सन् २०२० देखि बाँकी काम नगरको आयोजनाले जनाएको छ । ‘अब इङ्कले काम नगरेपछि नयाँ ठेकेदार कम्पनीको खोजी गरिने निर्णय भएको छ, यसका लागि तीन नगरको बैठकले तय गर्नेछ’, आयोजनाका सूचना अधिकारी रामसुन्दर वादेले भने । उनका अनुसार नयाँ ठेकेदार कम्पनीको खोजीबारे तीन नगरका जनप्रतिनिधिको बैठक छिट्टै बस्ने तयारी भइरहेको छ । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत सकिएको जनाउँदै आइएको छ । आयोजना सम्पन्न नहुँदा तीन नगरका करिब ९३ हजारले खानेपानी पाउन नसकेका हुन् । गत वर्षको चैतसम्ममा काभ्रेपलाञ्चोकका तीन पूराना नगर बनेपा, धुलिखेल र पनौती नगरको स्थानीयवासीका घरघरमा २४ सै घण्टा स्वच्छ खानेपानी खानेपानी पु¥याउने जनाइएको थियो ।

परीक्षणका विविध प्राविधिक समस्या दर्शाउँदै आयोजनाको खानेपानी वितरणकार्य लम्ब्याइएको हो । नयाँ कम्पनी छनोट गरिएपछि चार महिनाको अवधिमा आयोजना सम्पन्न हुने जनाइएको छ । बनेपा, धुलिखेल र पनौती नगरका करिब ९३ हजार नागरिकलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने उद्देश्यले करिब बाह्र वर्षअघि नेपाल सरकार र एशियाली विकास बैंक एडिबी बीच ऋण सम्झौता गरी आयोजनाको प्रक्रिया सुरु गरिएको थियो । सन् २०१० अक्टोवर २६ मा सम्झौता गरिएको खानेपानी आयोजना करिब एक अर्बमा सम्पन्न हुने जनाइएको थियो ।

हाल खानेपानी वितरणकार्यमा अन्योलता देखिएपछि तीनै नगरका प्रमुखले आयोजनाप्रति चासो देखाएका हुन् । नगरप्रमुखले खानेपानी संस्थानको वितरण प्रणालीमा मेनलाइनबाट पानी मिसाइ परीक्षण गराउनुका साथै पनौती–खोपासी सडक, पनौती–बनेपा सडकको दायाँबायाँका वितरण प्रणालीका बिग्रेका पाइप फेर्दै प्रणालीले समेटेका बस्तीमा खानेपानी वितरणको प्रक्रिया थाल्न लगाएका छन् ।

यस्तै पनौती नपा–९ देवीस्थानस्थित बोर्डको खानेपानी प्रशोधन केन्द्रको अवस्था तथा केन्द्र निर्माणकार्य सक्न नयाँ ठेकेदार कम्पनीको खोजी गर्नुपर्ने जनाइएको छ । आयोजनाको रिजर्भवायर ट्याङ्की निर्माण र पाइप ओछ्याउनेलगायतका भौतिक पूर्वाधारको सम्पूर्ण काम सम्पन्न भइसकेको छ । वादेका अनुसार भौतिक पूर्वाधार निर्माणको काम सकिएपछि परीक्षणस्वरुप हाल पनौतीको शारदादेवीस्थानमा पानी पु¥याइएको छ भने पानी वितरणका लागि व्यवस्थित गरिएका पाइपमा प्रेसर तथा चुहावट परीक्षणको काम गर्ने भइरहेको छ । मुख्य तथा अन्य पाइपलाईनमा प्रेसर जाँच गर्दै धमाधम घरमा धारा जडानको प्रक्रियासमेत भइरहेको जनाइएको छ ।

आयोजनाअन्तर्गत अन्तिम चरणमा तीनै नगरमा हाल सञ्चालित सञ्चालित खानेपानी आयोजना तथा उपभोक्ता समितिमार्फत वितरण भएको पानीको पाइपमा हाल नयाँ खानेपानीको पाइप जडान गर्ने इन्टर कनेक्सनको काम भएको छ । तीन नगर र सडक विभागले सडक विस्तारका क्रममा कतिपय स्थानमा खानेपानीको पाइप फुटेकाले पछिल्ला केही महिना खानेपानी आयोजनाको काममा ढिलाइ भएको जनाइएको छ ।

आयोजनाअनुसार क्षति पु¥याइएका सामग्रीको नगर र विभागले नै बनाइदिएका छन् । तीन नगरका एक हजार एक सय १४ इन्टर–कनेक्सन गरिएको छ । उपभोक्तालाई गुणस्तरीय खानेपानी उपलब्ध गराउन फिल्टर मिडिया जडानसमेत गरिएको छ । आयोजना सम्पन्न भएपछि तीन नगरमा ‘नेपाल स्टायण्डर्ड’को पर्याप्त मात्रामा गुणस्तरीय स्वच्छ खानेपानी उपभोग गर्न पाउने छन् ।

“अब केही महिनामा तीन नगरका जनताले स्वच्छ पिउने खानेपानी पाउँदै छन्, यो निकै सुखद विषय हो” धुलिखेल नगरप्रमुख अशोक ब्याञ्जूले भने । उनका अनुसार नयाँ ठेकेदार कम्पनीले केही महिनामै आयोजना सकेर खानेपानी वितरण हुनसक्ने उनको अनुमान छ । आयोजनाको कूल लागतको ५० प्रतिशत रकम नेपाल सरकार र एशियाली विकास बैंकबाट अनुदान तथा ३५ प्रतिशत रकम विसं २०६९ असारमा नगर विकास कोषबाट ऋणका रुपमा लिइएको थियो । बाँकी १५ प्रतिशत रकम भने तीनवटै नगर र स्थानीय उपभोक्ताबाट ब्यहोरिने जनाइएको छ ।

वार्षिक पाँच प्रतिशत ब्याज तोकिएको उक्त ऋणको साँवा र ब्याज तीनै नगरबाट २० वर्षभित्र चुक्ता गरी सक्नुपर्ने सम्झौतामा भएको थियो । यस आयोजनालाई तत्कालीन अवस्थामा एडिबीको सहयोगमा सञ्चालन भएको बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनापछिको दोस्रो ठूलो आयोजनाको रुपमा हेरिएको थियो । आयोजनाको कूल लागत भ्याटबाहेक ९९ करोड ८ लाख सात हजार रुपैयाँ रहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.