२०७९ माघ १२ गते १३:५८ सीआर भण्डारी
काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा कृषि विकास बैंक १२ करोड रुपैयाँ नोक्सानमा गएपछि यस विषयमा धेरैकाे ध्यान केन्द्रीत भएकाे छ । विशेष गरेर बैंक तथा वित्तीय संस्था र लगानीकर्ताहरु माझ कृषि विकास बैंक किन नोक्सानमा गयो भन्ने विषय चर्चा चुलिएकाे छ ।
५ वर्षअघि अर्थात् आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासमा कृषि विकास बैंकले ६६ करोड ३१ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । त्यसपछि बैंकले निरन्तर नाफा कमाउँदै आफूलाई अब्बल र प्रतिस्पर्धी बैंकका रुपमा आफूलाईै देखाएको थियो ।
बैंकले आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासमा १ अर्ब ५८ करोड १७ लाख २७ हजार रुपैयाँ, आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासमा १ अर्ब ३२ करोड १६ लाख ८८ हजार रुपैयाँ र आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासमा १ अर्ब ४२ करोड २५ लाख १२ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
निरन्तर राम्रो नाफा कमाइरहेको बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा भने ऋणात्मक अर्थात् नोक्सानी ब्यहोर्नु पर्याे । बैंक दोस्रो त्रैमासमा १२ करोड ८९ लाख रुपैयाँ घाटामा गएको छ । तरलताको असहजता, लगानीयोग्य पूँजीमा आएको संकुचन, खराबकर्जाको वृद्धि लगायतका कारणले बैंक ऋणात्मक अवस्थामा पुगेको बैंकले जनाएकाे छ ।
पूँजी बजारको गिरावट, लागत वृद्धि, निष्कृय कर्जावृद्धि, नियामकले कर्जा नोक्सानी व्यवस्था सम्बन्धि गरेको परिवर्तनको निरन्तरता लगायतका कारण बैंकको नाफामा प्रतिकुल असर गरेको कायममुकायम प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदीले बताए । खराब कर्जा बढ्दा प्रोभिजन गर्नुपर्ने भएकाले नाफामा असर गरेको उनको भनाइ छ । उनका अनुसार बैंकले ८ अर्ब रुपैयाँको हाराहारीमा प्रोभिजन गर्नु परेको छ ।
‘कोरोनाले सिथिल पारेको अर्थतन्त्र विस्तारै सुधार हुँदै गएपनि बैंकिङ्ग क्षेत्रले तरलता अभाव खेप्नु पर्याे, जसले गर्दा समयमा पैसा उठाउन सकिएन, केही ठाउँबाट पुस मसान्तसम्म आउनु पर्ने थियो तर त्यो पैसा आउन सकेन, पैसा नआउँदा खराब कर्जा (एनपीएल) बढ्यो,’ उनले भने, ‘एनपीएल बढेको कारण प्रोभिजन गर्नुपर्याे, त्यो प्रोभिजिनिङ गर्नुपर्दा नाफा कम देखिएको हो तर माघ मसान्तसम्ममा नै सुधार हुन्छ, बैंकलाई आफ्नो साइजमा ल्याउँछौं, अहिलेदेखि नै सुधार हुँदै गएको छ ।’
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकको खराब कर्जा बढेर ४.५२ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा खराब कर्जा २.०८ प्रतिशत रहेको थियो ।
६ महिनामा बैंकको खुद ब्याज आम्दानी ०.५३ प्रतिशत घटेर ३ अर्ब ७२ करोड रुपैयाँ भएकाे छ । गत वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ७४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समिक्षा अवधिमा बैंकले ११ करोड १५ करोड सञ्चालन घाटामा भएको छ । गत वर्ष सोही अवधिमा बैंकले २ अर्ब ८ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।
तर, बैंकको वितरणयोग्य नाफा २ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १८ अर्ब ६२ करोड रुपैयाँ, जगेडा कोष ११ अर्ब ९५ करोड रुपैयाँ, निक्षेप १ खर्ब ७२ अर्ब रुपैयाँ र कर्जा १ खर्ब ७५ अर्ब रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ४.४३ रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी १९.१० रुपैयाँ रहेको थियो । बैंकको सीडी रेसियो ८७.५४ प्रतिशत र आधार दर ११.०६ प्रतिशत रहेको छ ।
पहिलो त्रैमासमै थियो समस्या
कृषि विकास बैंकको दोस्रो त्रैमासमा वित्तीय विवरण नकारात्मक आएपनि यो अवस्था पहिलो त्रैमासमा नै देखिनु पर्ने बैंक स्रोतको भनाइ छ । यसअघि बैंकको सीईओमा अनिल कुमार उपाध्याय थिए । धेरैको बुझाइ उपाध्याय बाहिरिएपछि बैंकको वास्तविक वित्तीय विवरण बाहिरिएको भन्ने छ ।
बैंकले सही तथ्यांक नराखेको भन्दै कृषि विकास बैंकलाई राष्ट्र बैंकले २० लाख रुपैयाँ जरिवाना समेत गराएको थियो । बैंकले सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेको भन्दै अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई २० लाख रुपैयाँ जरिवाना गराएको थियो ।
१३ वटा मुद्दा सर्वाेच्च अदालतमा
पछिल्लो समय कृषि विकास बैंकका विरुद्ध सर्वाेच्च अदालतमा १३ वटा मुद्दा दर्ता भएका छन् । ती मुद्दाहरु कर्जासँग सम्वन्धित रहेको कामु सीईओ सुवेदीले बताए । ऋणीहरुले चित्त नबुझ्दा मुद्दा हाल्ने गरेको उनको भनाइ छ ।
‘ऋणीहरुले समयमा कर्जा भुक्तानी गर्दैनन्, ऋण नतिरेपछि बैंकले लिलामी गर्छ, लिलाम गरेपछि बैंकले आफ्नो रकम असुल गर्छ, त्यसमा चित्त बुझेन भनेर मुद्दा हालिदिन्छन्,’ उनले भने, ‘ठूलठूला कर्जा लिएर पैसा नतिर्ने धेरै छन्, बिएन सुपरमार्केट, ल्याण्ड मार्क होटलको कर्जा धेरै छ, बैंकको कर्जा चुक्ता गरेका छैनन्, कर्जा चुक्ता नगरेपछि लिलामीमा राखिएकाे छ तर उनीहरुले अदालतको स्टे अर्डरबाट रोकेका छन् ।’
Copyright © 2023 Bikash Media Pvt. Ltd.