पर्वत अस्पताललाई डेढ करोडको डिजिटल एक्सरे मेसिन

  २०७९ माघ १२ गते १३:४१     विकासन्युज

पर्वत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले पर्वत जिल्ला अस्पताललाई झण्डै डेढ करोड मूल्य बराबरको डिजिटल एक्सरे मेसिन हस्तान्तरण गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा नियुक्ति भएपछि पहिलो पटक गृहजिल्ला आएका उनले स्वास्थ्य मन्त्रालय, आपूर्ति महाशाखामार्फत उपलब्ध आधुनिक मेसिन हस्तान्तरण गरे ।

पर्वत् अस्पतालमा स्वास्थ्य उपकरण हस्तान्तरण गर्दै मन्त्री गिरीले पिछडिएको क्षेत्रमासमेत गुणस्तरीय स्वास्थ्य सेवाको पुर्याउन सरकार प्रतिबद्ध रहेको बताए । आफू अहिले स्वास्थ्य क्षेत्रका समस्या पहिचानमा लागेको बताउँदै उनले ताप्लेजुङदेखि दार्चुलासम्मका समस्या पहिचान गरेर स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘गुणस्तरीय स्वास्थ्यको पहुँच सबै जनतामा पुर्याउने जिम्मा सरकारको हो । उपचार नपाएर अकालमा मर्नुपर्दैन भन्ने प्रत्याभूति जनतालाई दिलाउने गरी काम गर्छौँ’, उनले भने, ‘यसका लागि सबै स्वास्थ्य संस्थामा आधारभूत सुविधा र जनशक्तिको व्यवस्थापन गर्नेछौँ ।’

स्वास्थ्यमन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रका समस्याको समाधान सहज भने नरहेको स्वीकार गर्दै न्यूनतम स्वास्थ्य सेवाको मापदण्ड देशेभर पु¥याउने विश्वास दिलाए । उनले भने, ‘अहिले स्वास्थ्य क्षेत्रका विद्यमान समस्याबारे गहिरोगरी अध्ययन गर्दैछु । ती समस्या पहिचान गरेर जनतालाई सेवा दिने बाचा गर्दछु ।’ उनले गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा दिनका लागि स्वास्थ्य बीमालाई दिगो र भरपर्दो बनाउँदै गरीब जनताले स्वास्थ्य बीमामार्फत नै सेवा लिनसक्ने आवस्था सिर्जना गर्ने प्रतिबद्धता पनि जनाए ।

अर्को प्रसङ्गमा पर्वतका सातवटै स्थानीय तहमा आगामी ५ वर्षभित्र सुविधासम्पन्न अस्पताल खोल्ने घोषणा गरे । ‘यहाँको जिल्ला अस्पतालमा अत्यावश्यक उपकरणको कमी रहेछ । आगामी पाँच वर्षभित्र सातवटै पालिकामा अस्पताल हुनेछन्, डाक्टर, नर्स र ल्याब हुनेछ । कोही पनि उपचार नपाएर मर्ने अवस्था रहँदैन’, उनले भने ।

पर्वत अस्पतालमा ५० शय्या अनुसार जनशक्ति व्यवस्थापन गर्ने र आवश्यक उपकरण उपलब्ध गराउने पनि उनले प्रतिबद्धता जनाए । मन्त्री गिरीले पर्वत अस्पतालको निरीक्षणसमेत गरे । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.