२०७९ माघ १२ गते १२:२० विकासन्युज
फाइल फाेटाे
काठमाडौं । पुस मसान्तसम्म निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले काठमाडौं–पोखरा रुटमा दैनिक १२ वटा उडान गर्दै आएको थियो । गत माघ १ गते पोखरामा भएको यती एयरलाइन्स दुर्घटनापछि पोखरा रुटमा उडानसँगै यात्रुको संख्यामा कमी आएको छ ।
दुर्घटना अघिसम्म दैनिक १२ उडान गरेको बुद्ध एयरले दुर्घटनाको ११ औँ दिन हुँदा हाल दैनिक ८ वटा उडान गर्दै आएको छ । बुद्धले पोखरा विमानस्थललाई आधार बनाएर भैरहवा, नेपालगञ्ज र भरतपुरमा नियमित उडान गर्ने गरेको थियो । उक्त रुटमा दुर्घटनापछि ५० प्रतिशत उडान कटौती भएको बुद्धले जनाएको छ ।
दुर्घटना अघिसम्म यती एयरलाइन्सले दैनिक ६ उडान गर्ने गरेकोमा हाल दैनिक ३ वटा मात्र उडान हुँदै आएको छ । पोखरा रुटमा उडान गर्ने बुद्ध र यती एयरलाइन्ससँगै श्रीएयरलाइन्स र गुण एयरले समेत हवाई यात्रुसँगै उडान संख्यामा कमी आएको बताएका छन् ।
माघ १ गते पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटना भएपछि हवाई सेवा पुरानै लयमा फर्कन सकेको छैन । अफ सिजन हुँदा र दुर्घटनाका कारण हवाई यात्रुहरु न्यून भएको वायुसेवा कम्पनीहरुले बताएका छन् ।
यती एयरलाइन्सको पोखरा दुर्घटनापछि समग्र रुटमा ५० प्रतिशतभन्दा बढि उडान घटेको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । पोखरा दुर्घटनापछि हवाई उडान घट्नु स्वभाविक भएको भन्दै विस्तारै बढ्दो क्रममा रहेको उनले बताए ।
‘सिजनमा दैनिक २८ वटा उडान हुँदै आएकोमा अहिले दैनिक ८ वटा मात्र उडान भएको छ, दुर्घटनाका पछि उडान न्यून थियो अब विस्तारै बढ्न थालेको छ’, उनले भने ।
उनले मंगलबारसम्म दैनिक ८ वटा मात्र उडान हुने गरेकोमा बुधबार १२ वटा उडान भएको छ । विस्तारै उडानसंख्या सँगै यात्रुको संख्यामा समेत बृद्धि हुन थालेको उनले बताए । दुर्घटना अघिसम्म यतीले विभिन्न गन्तव्यमा ९अफि सिजन० दैनिक १८ वटा उडान गर्दै आएको थियो ।
‘अहिले अफ सिजन हो, अन्य समयको तुलनामा अहिले न्यून उडान हुने गर्छ, तर दुर्घटनापछि न्यून भएको उडान विस्तारै बढ्न थालेको छ, अहिलो चिसो मौसमका कारण मानिसहरुको मुभमेन्ट पनि कम छ’, उनले भने ।
उनले मौसमका कारण समयमा नै विमानस्थल नखुल्दा हवाई यात्रुहरु बस मार्फत सम्बन्धित गन्तव्यमा जाने गरेको पाइएको बताए । ‘बिहान समयमा विमानस्थल नखुल्दा धेरै उडानहरु डिले हुने गरेका छन्, उडान डिलेहुँदा विमान कुरेर बस्नुभन्दा समय हुने मानिसहरु मिलेर बस रिजर्भ गरेर जाने गरेको पाइयो’, उनले भने ।
यस्तै, बुद्ध एयरले पछिल्ला केही दिन यता यात्रुको संख्यामा बृद्धि हुन थालेको जनाएको छ । केही दिनअघिसम्म न्यून यात्रु रहेकोमा विस्तारै यात्रुको संख्यामा बृद्धि हुन थालेको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्ण बताउँछन् ।
उनका अनुसार दुई दिन अघिको तुलनामा बुधबार २५ प्रतिशतले उडानसँगै यात्रुको संख्यामा बृद्धि हुन थालेको छ ।
‘जनवरी महिनामा अधिकांश विमानस्थल बिहान समयमानै खुल्दैनन्, विमानस्थल ढिला खुल्ला उडानसंख्यासँगै यात्रुको संख्यामा कमी आउने गरेको हो, पछिल्ला केही दिन यता यात्रुको संख्यामा बृद्धि हुन थालेको छ’, उनले भने ।
माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको दुर्घटनापछि यात्रुको संख्यामा अलि कमी आएतापनि अहिले पुरानै लयमा हवाई उडान सुरु भैसकेका उनले बताए ।
‘यतीको दुर्घटना हुनु र हाम्रो बजारमा अफ सिजन एकैपटक भयो, यतीको दुर्घटनाले खासै असर परेन, अहिले पुरानै अवस्थामा फर्किसक्यौँ’, उनले भने ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.