बसाइँसराइले गाउँ रित्तिने खतरा

  २०७९ माघ १२ गते ७:१३     विकासन्युज

बलेवा । बागलुङको एउटै गाउँपालिकाबाट पछिल्लो ५ महिनामा ५८ परिवार बसाइँ सरेका छन् । जिल्लाको काठेखोला गाउँपालिकाबाट ५ महिनाको अवधिमा ५८ परिवारका २२१ जना सदस्य बसाइँ सरेका हुन् ।

गाउँपालिकाले तयार गरेको तथ्याङ्कअनुसार गत साउनदेखि पुस मसान्तसम्म अन्य व्यक्तिगत घटनाभन्दा बसाइँ सर्नेको तथ्याङ्क धेरै छ । ८ वटा वडा रहेको गाउँपालिकामा सबैभन्दा धेरै वडा नं ५ बिहुँबाट बसाइँ सरेर बाहिर गएको गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापाले बताए ।

बिहुँबाट मात्रै ५ महिनामा २२ परिवारका ८४ जना सदस्यले गाउँ छोडेका छन् । वैदेशिक रोजगारीमा रहेका र उच्च शिक्षाका लागि विदेशमा रहेका युवाको परिवार धेरै बसाइँ सरेका छन् । वडा नं ६ बिहुँबाट पनि बसाइँ सर्नेको सङ्ख्या उच्च छ । यो वडाबाट ५ महिनामा ११ परिवारका ४३ सदस्य बसाइँ सरेको तथ्याङ्क छ ।

गाउँपालिकाबाट बसाइँसराइ लिएर जानेबाहेक थातथलो छोडेर अन्यत्रै बस्नेको सङ्ख्या पनि उच्च छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले फन्को मारेको साविकको बिहुँ गाविस (हाल वडा नं ५ र ६) मा सदरमुकामदेखि छोटो दूरीका वडा हुन् । यहाँ सडक सुविधा छ । २ वटा सामुदायिक क्याम्पस, विद्यालय, खानेपानी, विद्युत्, स्वास्थ्य संस्थालगायतका संरचना तयार भए पनि गाउँ रित्तिन नछोडेको उपाध्यक्ष थापा बताउँछन् ।

‘अहिले राष्ट्रिय परिचयपत्र बनाउने कामका लागि पहिल्यै बसाइँ सरेकाले पनि घटना दर्ता गराए भन्ने हाम्रो आँकलन छ, यस्तै अवस्थामा बसाइँसराइ रहने हो भने हामीले गाउँमा विकास पुर्याउने, गाउँ खाली हुने अवस्था हुन्छ, यसप्रति हामी चिन्तित र सचेत छौँ,’ उनले भने ।

काठेखोलामा सबैभन्दा कम बसाइँसराइ वडा नं ६ लेखानीमा छ । यो वडाबाट ५ महिनाको अवधिमा एक परिवारका ३ जना सदस्य मात्रै गाउँ छोडेर अन्यत्रै गएको थापाले जानकारी दिए । वडा नं १ पालाबाट २ परिवारका ८, वडा नं २ भीमापोखराबाट ६ परिवारका १८, वडा नं ३ धम्जाबाट ५ परिवारका १९, वडा नं ४ तङ्ग्रामबाट २ परिवारका १२ र वडा नं ७ रेशबाट ९ परिवारका ३४ जना बसाइँ सरेको गाउँपालिकाको तथ्याङ्क छ ।

बसाइँ सर्नेमा आर्थिक हिसाबले मध्यम वर्ग कम रहेको वडा नं ५ का अध्यक्ष ज्ञामनाथ कँडेलले बताए ।

‘कतिपय बसाइँ सर्ने लहरको पछि लागेर गएका छन्, कतिपयको परिस्थितिले बसाइँसराइ गराएको छ, वैदेशिक रोजगारी बसाइँसराइलाई थप सहयोग गरिरहेको छ,’ उनले भने । गाउँपालिकाको तथ्याङ्कअनुसार दैनिक ज्याला मजदुरी गरेर खाने अवसरको खोजीमा सहरबजार झरेका छन् भने आर्थिकरुपले सक्षम भएका देशका ठूला सहर र तराई बसाइँ सरेका छन् ।

‘उच्च शिक्षाका लागि विदेश जाने, उतै कार्ड बनाउने र परिवार मधेस झर्ने गरेका कारणले पनि बसाइँसराइको तथ्याङ्क बढ्दो छ, हाम्रो गाउँपालिका दुर्गम होइन तर गाउँ छोड्नेको कमी रहेन्,’ उनले भने ।

गाउँपालिकामा पछिल्लो ५ महिनामा ११ परिवार गाउँ फर्किएका छन् । बसाइँसराइ गरेर गाउँ छोडेका ११ परिवारका २८ सदस्य गाउँ फर्केको थापाले बताए । गाउँ फर्किनेको सङ्ख्या पनि अन्य वडाभन्दा बिहुँमा बढी छ । वडा ५ बिहुँमा ५ परिवारका १६ जना, वडा नं ६ बिहुँमा ३ परिवारका ५ जना गाउँ फर्केका छन् । वडा नं २ मा एक परिवारका ५ जना र वडा नं ८ मा २ परिवारका २ जना गाउँ फर्किएका छन् ।

बसाइँसराइको तथ्याङ्क बढ्न थालेपछि गाउँपालिकाले आफ्ना नीति तथा कार्यक्रम र बजेटमा सोहीअनुसार तर्जुमा गर्ने योजना बनाएको छ । पछिल्लो तथ्याङ्कलाई आधार मानेर आफूहरुले छलफल थालेको उपाध्यक्ष थापा बताउँछन् ।

‘अर्को ५ महिना कुरेर हामीले तथ्याङ्क तयार गर्छौँ, अवस्था यस्तै रह्यो भने विचार गर्ने बेला आयो, बनेका संरचनाको उपयोग कसले गर्छ भन्ने चिन्ता हुन थाल्यो,’ थापाले भने ।

यहाँबाट बसाइँ सरेका कसैले पनि घर गोठ, पाखोबारी र खेत भने बिक्रि गरेका छैनन् । जसका कारण बाँझो जग्गाको क्षेत्रफलसमेत बढेको छ । बागलुङका १० वटा स्थानीय तहमध्ये जैमिनी नगरपालिका, बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकामा बसाइँसराइ धेरै भएका छन् । काठेखोलाको जस्तै तथ्याङ्क अन्य स्थानीय तहले तयार गरिनसकेका भए पनि काठेखोलाबाहेकका स्थानीय तहमा पनि बसाइँसराइको दर उच्च छ ।

‘यही वर्ष मात्रै मैले पाँच परिवारलाई चितवन पुर्याएर फर्किएको छु, गाउँ त खाली हुने भए, पहाडको जग्गा बाँझै राखेर, तराईमा घडेरी मात्रै भएका पनि बसाइँ सरेका छन्,’ यातायात व्यवसायी तेजेन्द्र नेपाली भने ।

जैमिनी नगरपालिकाको वडा नं ९ मा पर्ने लाम्सु गाउँ, बागलुङ नगरपालिकाको वडा नं ११ मा पर्ने रायडाँडा, ओख्ले गाउँ बसाइँसराइका कारण रित्तिँदै गरेका गाउँका नमुना हुन् । यी गाउँका अधिकांश घरहरु खाली छन् ।

जैमिनी नगरपालिकाले भूउपायोग नीति नै बनाएर बसाइँसराइ रोक्ने प्रयास गरेको छ । गलकोट नगरपालिका र बरेङ गाउँपालिकाले पनि बसाइँसराइ बढ्दो रहेको बताउँदै आएका छन् । ‘दुर्गम गाउँबाटभन्दा सुगम गाउँबाट बसाइँ सर्ने धेरै छन्, कसरी थाम्न सकिन्छ भन्ने उपाय नै खोज्न सकिएन्,’ जैमिनी नगरपालिका–१ कुश्मीशेराका वडाध्यक्ष विष्णु आचार्यले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.