राष्ट्रिय वाणिज्य बैंक वित्तीय क्षेत्रको विश्वविद्यालय हो, ठूला बैंकसँग प्रतिस्पर्धा गर्न सक्षम छ : डीसीईओ खनाल

  २०७९ माघ १० गते ११:३१     विकासन्युज

वि.सं २०२२ साल माघ १० गते स्थापना भएको राष्ट्रिय वाणिज्य बैंक देशको एक अग्रणी बैंकका रुपमा परिचित छ । बैंकले हरेक वर्षको माघ १० गते आफ्नो वार्षिकोत्सव मनाउँछ । मंगलबार (आज) पनि बैंकले ५८औं वार्षिकोत्सव मनाउँदैछ । नेपाली वित्तीय क्षेत्र सुधार र वित्तीय पहुँच र वित्तीय साक्षरतामा अग्रणी भूमिका खेलेको राष्ट्रिय वाणिज्य बैंक पछिल्लो समय निजी क्षेत्रबाट सञ्चालित ठूला बैंकहरुसँग प्रतिस्पर्धा गर्न सक्षम बनेको छ । सरकारको स्वामित्वमा रहेका अन्य सार्वजनिक संस्थानहरु नोक्सानमा भइरहँदा राष्ट्रिय वाणिजय बैंक भने प्रत्येक वर्ष सरकारलाई लाभांश खुवाउँछ । बैंकले देशमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा हजारौंलाई रोजगारी प्रदान गरेको छ भने देशमा उद्योग व्यवसायको वातावरण सिर्जना गर्नमा पनि यस बैंकको योगदान महत्वपूर्ण छ । बैंकले गरिरहेको काम कारवाही, बैंकिङ क्षेत्रका समसामयिक विषयवस्तु र बैंकको व्यक्तिगत बिजनेस लगायतको विषयमा हामीले बैंकका नायव प्रमुख कार्यकारी अधिृकत देवेन्द्र रमण खनालसँग कुराकानी गरेका छौं ।

राष्ट्रिय वाणिज्य बैंक ५८औं वार्षिकोत्सव मनाउँदै छ, यो बैंकको विगत स्मरण गरौं न, वित्तीय क्षेत्र सुधारमा राष्ट्रिय वाणिज्य बैंकको भूमिका कस्तो रह्यो ?

राष्ट्रिय वाणिज्य बैंक रहन्छ वा रहन्न भन्ने अवस्थाबाट अहिलेको अवस्थामा आइपुगेको हो । देशकै सबैभन्दा ठूलो, सबैले पत्याएको र विश्वसनिय बैंकका रुपमा चिनिएको छ । अग्रजहरुले यो बैंकलाई जसरी प्रगतिमा डोर्याउनु भयो, त्यो किसिमको सफलता पनि हासिल गरेको छ । यो बैंकले धेरै आरोह अवरोधहरु सामना गरेको छ । ५० को दशकमा बैंकले खासै सफलता हासिल गर्न सकेको थिएन । खराब कर्जा धेरै थियो । बजारमा प्रतिस्पर्धा नै गर्न सक्ने अवस्थामा थिएन । कर्मचारी व्यवस्थापनको समस्या थियो । तर, पछि बैंकको अध्ययन गरियो । ६० को दशकपछि बैंकले काँचुली फेर्याे । म बैंकमा आउँदा अर्थात् १५ वर्ष अगाडि बैंकमा २५ अर्बको हाराहारीमा कर्जा थियो । सोही हाराहारीमा निक्षेप थियो । बैंकका शाखाहरु थिए, कर्मचारीहरु थिए । तर, यो रुपमा उन्नति प्रगति हुन सकेको थिएन ।

बैंक सरकारी कारोबारमा निर्भर थियो । तर, अहिले बैंकले त्यो अवस्थाबाट धेरै प्रगति गरिसकेको छ । ६० को दशकपछि बैंक अन्य बैंकसँग प्रतिस्पर्धा गर्न सफल भयो । त्यो समयको तुलनामा बैंकको निक्षेप करिब ६ गुणा बढेको छ । कर्जा करिब १० गुणा बढेको छ । ठूला बैंकहरुसँग प्रतिस्पर्धा गरिरहेको छ । त्यतिबेला धेरै कर्मचारी भर्तिको प्रक्रियामा झमेला थियो । हामी पछिल्लो समय कर्मचारी भर्ति गर्न सफल भएका छौं । अहिले योग्य कर्मचारीको भर्ति भइरहेको छ । यसै वर्ष हामीले ८ सय बढी कर्मचारीलाई बैंकमा भर्ति गराउने प्रक्रियामा छौं । पहिले र अहिलेको राष्ट्रिय वाणिज्य बैंक आकाश–पातल फरक भइसकेको छ । बैंक व्यवसायिक हिसाबमा चलेको छ । अहिले हामीलाई हेर्ने सबैको दृष्टिकोण नै परिवर्तन भएको छ ।

यो बैंकबाट गएका कर्मचारीहरु विभिन्न निकायको नेतृत्व गरिरहनु भएको छ । बैंक एउटा वित्तीय क्षेत्रको विश्वविद्यालयको रुपमा चिनिएको छ । यो बैंकमा राम्रो अनुभव लिन सकिन्छ भन्ने बोध सबैमा भएको छ । हामी अहिले बजारमा प्रतिस्पर्धीहरुको अगाडि शिर ठाडो बनाएर हिड्न सकेका छौं । हाम्रो सेवा सुविधा पनि प्रतिस्पर्धी बैंकसरह नै छ । हाम्रा ग्राहकहरु पनि सन्तुष्ट हुनुहुन्छ । हामी चुनौतिसँग जुध्न सक्षम भएका छौं ।

राष्ट्रिय वाणिज्य बैंक वित्तीय क्षेत्रकै एउटा विश्वविद्यालय भन्नुभयो, यो बैंकले वित्तीय क्षेत्रमा छोडेका पदचिह्नहरु के–के हुन् ?

राष्ट्रिय वाणिज्य बैंक नेपाल सरकारको बैंकिङ क्षेत्रको एक प्रतिनिधि हो । विभिन्न ठाउँमा यो बैंक पुगेको छ । जहाँ–जहाँ राष्ट्रिय वाणिजय बैंक पुगेको छ, त्यहाँ राज्यको प्रतिनिधिको रुपमा छ । मान्छेले हामीलाई वाणिज्य बैंक भन्छन् । हुन त अहिले २२ वटा वाणिज्य बैंक नै छन् । तर, सबैले हामीलाई मात्र वाणिज्य बैंक भन्छन् । उद्योग व्यवसाय तथा साना व्यापार क्षेत्रमा पनि यो बैंकको ठूलो योगदान छ । अहिले देशका विभिन्न उद्योग व्यवसायहरुमा हाम्रो संलग्नता छ । पहिले केही केही निजी बैंकहरुमा वा अन्य संस्थाहरुमा राष्ट्रिय वाणिज्य बैंकको सेयर थियो । पछि क्रस होल्डिङको कारण सेयर हट्यो । राष्ट्रिय वाणिजय बैंककै कारण कतिपय बैंकहरु पनि चले । ती बैंकहरुलाई प्रतिस्पर्धामा ल्याउन पनि राष्ट्रिय वाणिज्य बैंकले भूमिका खेलेको छ । देशको आर्थिक सामाजिक क्रियायाकलापमा यो बैंकले ठूलो भूमिका खेलेको छ । प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगारी सिर्जना गरेको छ । अहिले बैंकमा २२ सय बढी कर्मचारी छन् । ८० हजार बढी व्यवसायिक संस्थाहरु जोडिएका छन् । यो बैंकले लाखौं रोजगारीको सिर्जना गरेको छ । यो योगदान इतिहासमा दर्ज गर्न लायक छ ।

बैंकहरुले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्, राष्ट्रिय वाणिज्य बैंक आफ्नो ब्यालेन्सिटप्रति कत्तिको सन्तुष्ट छ ?

राष्ट्रिय वाणिजय बैंकको वित्तीय विवरण सन्तोषजनक छ । जति गर्न सकिन्थ्यो, त्यति भने भएको छैन । त्यसका धेरै कराणहरु छन् । विश्व महामारीका रुपमा फैलिएको कोराना भाइरसको कारणले अर्थतन्त्रमा देखिएको संकुचनले पनि बैंकहरुको वित्तीय विवरणहरु उत्साहजनक छैनन् । बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावको समस्याले पनि खासै कर्जा विस्तार हुन सकेन । तरलता अभावकै कारण हामीले बजेटमा गरिएको ब्यवस्था अनुसार काम गर्न सकेनौं । अतिप्रभावित क्षेत्रका ग्राहकले पनि सावाँ ब्याज तिर्न सकेनन् । त्यस कारण पनि आशा गरे जति ग्रोथ हुन सकेन ।

अहिले धेरै ऋणीले सावाँ ब्याज नतिर्दा बैंकहरुलाई रिकभरीमा ठूलो दबाब पर्यो भन्ने सुनिन्छ, यो सकस राष्ट्रिय वाणिज्य बैंकले कति झेल्नु पर्यो ?

कोभिड–१९ को प्रभाव अझै देखिन बाँकी छ । अहिले हामीले कोभिड अघिका ग्राहकको लोन रिकभरी गरिरहेका छौं । राष्ट्रिय वाणिज्य बैंकको खराबकर्जा पनि प्रत्येक वर्ष कम हुँदै गएको छ । गत वर्षको तुलनामा यस वर्ष पनि खराबकर्जाको अुनपात घटेको छ । व्यवसायको विस्तारमा काम गरिरहेका छौं । समस्याहरु छन् । बजारमा केही ऋणीहरु वित्तीय अनुशासन नभएको हामीले पाएका छौं ।

वित्तीय अनुशासनको उल्लंघन कसले गर्यो ?

कुनै व्यक्ति विशेष वा संस्थाले वित्तीय अनुशानसको उल्लंघन गर्यो भनेर भन्न मिल्दैन । हामी पब्लिकसँग काम गछौं । पब्लिककै पैसा चलाउँछौं । कतै धर्ना, जुलुस, नारवाजी भइरहेका छन् । यो व्यवसायी जगतकै समूहहरु हो । यसमा निश्चित व्यक्ति वा संस्थालाई जोड्न मिल्दैन । यसमा पब्लिक नै जोडिएका छन् । हामी सबै पक्षले अनुशासनमा बस्नु पर्छ ।

विगतका वर्षहरुको तुलनामा यस वर्ष बैंकहरुको लाभांशदर घटेको देखिन्छ, राष्ट्रिय वाणिजय बैंकको पनि घटेको छ, यो किसिमको संकुचन किन आयो ?

अघिल्लो आर्थिक वर्षको तुलनामा राष्ट्रिय वाणिज्य बैंकको लाभांशदर पनि घटेको छ । हामीले गत आर्थिक वर्षको नाफाबाट कुल १२.५ प्रतिशत लाभांश वितरण गरेका छौं । हामीले साधारणसभा गरेर पनि लाभांश खातामा पठाइसकेका छौं । हामी प्रतिस्पर्धी बैंक अनुसार नै काम गरिरहेका छौं । लाभांशदर नियामक रिजर्भमा राख्नु परेकोले लाभांशदर घटेको हो । नेपाल राष्ट्र बैंकको निर्देशन र केही नीतिगत विषयकै कारण पनि बैंकहरुको लाभांश घटेको हो । अघिल्लो वर्ष हामीले ३३ प्रतिशत लाभांश दिएका थियौं ।

जब इक्विटी बढ्दै जान्छ त्यसको आधारमा रिटर्न कम हुँदै जाने हो । अहिले बजारमा सबै बैंकहरु मर्ज भइरहेका छन् । ती बैंकहरुको पुँजी पनि बढिरहेको छ । राष्ट्रिय वाणिज्य बैंकको पुँजी पनि अघिल्लो वर्षको तुलनामा बढेको छ । पुँजी बढ्दै जाँदा रिर्टन पनि घट्छ । ९ अर्ब र १४ अर्बले दिने रिटर्न फरक नै हुन्छ । ३० अर्ब पुँजी भएकाहरुको रिटर्न पनि अब कम हुन्छ । पहिले अपेक्षा गरे जस्तो प्रतिफल बैंकहरुले दिन सक्ने अवस्था अहिले छैन ।

राष्ट्रिय वाणिज्य बैंक बढी नै लाभांश दिनेमा प्रतिवद्धत छ । तर, बजारमा प्रतिस्पर्धा छ । बैंकहरुबीच मर्जर भइरहेको छ । कर्जामा पनि पछिल्लो समय केही संकुचन देखिएको छ । बजारमा प्रिमियमदर तोक्नु पर्ने, ब्याजदर कायम गर्नु पर्ने र स्प्रेडदर घटाउनु पर्ने लगायतका कारणले नाफामा चाप पर्छ । तरपनि हामी अहिलेको भन्दा नाफा बढाउनेमा छौं ।

अहिले बैंकहरुबीच मर्जरको लहर छ, बैंकहरु पुँजीको हिसाबमा ठूला बैंक बनिरहेका छन्, अब ती बैंकहरुको बिजनेस भोलुम पनि सोही अनुसार बढ्छ, सरकारी बैंकहरुलाई मर्जरको चुनौति बढ्यो नी ?

चुनौति पक्कै छ । चुनौति मर्जरको मात्रै भन्दा पनि रिक्स र विभिन्न कम्प्लायन्स लगायतका विषयमा पनि छ । हिजो हामी पुँजी, शाखा सञ्जाल, ग्राहक लगायत सूचकहरुमा अगाडि नै थियौं । अब अन्य बैंकहरु मर्जर हुँदा हामीले प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ । सबै ठूला बैंक मर्जरमा गइसकेपछि त्यो चुनौति सरकारी बैंकमाथि पनि छ । त्यो चुनौतिको सामना गर्न हामी तयार छौं ।

 सरकारी बैंकबीच मर्जर गर्न आवश्यक छ या छैन ? नेपाल सरकारलाई तपाईंको सल्लाह के हुन्छ ?

यो नेपाल सरकारको विषय हो । सरकारको नीतिमा निर्भर हुने विषय हो । सरभाइव हुनका लागि प्रतिस्पर्धा आवश्यक हुन्छ । त्यो प्रतिस्पर्धाका लागि के गर्न सकिन्छ भन्ने विषय सरकारले सोच्नु पर्छ । त्यस्तै खालको नीति नियम आवश्यक पर्छ । प्रतिस्र्धामा जुध्नका लागि साइज पनि चाहिन्छ । साथसाथै पुँजी पनि चाहिन्छ । नेपाल राष्ट्र बैंकले लिएको मर्जर नीति एउटा चरणमा पुगिसकेको छ । सरकारी बैंकमाथि पनि चुनौति थपिएको हुनाले यस विषयमा पनि सोच्नु पर्छ ।

एकताका राष्ट्रिय वाणिज्य बैंकको सेयर सर्वसाधारणलाई पनि दिनु पर्छ भन्ने बहस थियो, अहिले अलिकति त्यो बहस सेलाएको छ, यो विषयमा तपाईंको धारणा के हो ?

यो मन्त्रिपरिषदबाट निर्णय भइसकेको विषय हो । बैंक तथा वित्तीय संस्था ऐनमा सरकारले एउटा बैंक राख्न सक्ने भन्ने नीति भएपछि रोकियो । पब्लिकमा सेयर जारी भइसकेको छैन  । तर, एनआइडीसीसँग मर्ज भइसकेपछि केही सर्वसाधारणको सेयर छ । तर, सरकारी बैंकहरुले पनि सेयर जारी गरेर पब्लिकबाट पैसा उठाउन सकियो भने राज्यलाई पनि फाइदा हुन्छ जस्तो लाग्छ ।

राष्ट्रिय वाणिजय बैंकका आगामी योजना के कस्ता छन्, बैंक आगामी दिनमा कसरी अगाडि बढ्छ ? 

राष्ट्रिय वाणिज्य बैंकको उज्वल भविश्य छ । अहिले सार्वजनिक संस्थानहरुमा औंलामा गन्न सकिने संस्थाहरुले मात्रै नेपाल सरकारलाई प्रतिफल दिइरहेका छन् । त्यतिमात्रै होइन, सरकारले ल्याएका कार्यक्रमहरुलाई सर्वसाधारणमा लिएर जानका लागि हामी प्रतिवद्ध छौं । ती विभिन्न कार्यक्रम लागू गर्नका लागि हामी प्रभावकारी माध्यम बनिरहेका छौं । हामी सबैभन्दा अग्रपंतिमा रहेर काम गरिरहेका छौं । अहिले कम कर्मचारीमा पनि हामी यति धेरै काम गरिरहेका छौं । अझै कर्मचारीहरु आउने क्रम जारी छ । अब कारोबारलाई प्रविधिसँग जोडर लैजानु पर्छ  । अन्तर्राष्ट्रिय प्रविधिलाई आत्साथ गरेर गरिबी र न्यून आयस्रोत भएका वर्गसम्म वित्तीय पहुँच पुर्याउनका लागि हाम्रो भूमिका महत्वपूर्ण हुन्छ । भविश्यमा अझै प्रभावकारी र  सफल बनाउन हामी प्रतिवद्ध छौं । कुनै पनि संस्थाको वृद्धि विकासका लागि योग्य र सक्षम जनशक्ति चाहिन्छ । त्यसका लागि राष्ट्रिय वाणिज्य बैंकमा भएको जनशक्ति अब्बल छ । अझै धेरै काम गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.