काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को दबाबका कारण त्रिभुवन विश्वविद्यालय (टीयू)ले विद्यार्थीको परीक्षा सारेको बुझिएको छ । फागुन पहिलो साता हुने २३औं राष्ट्रिय महाधिवेशनका कारण अनेरास्ववियुले त्रिभुवन विश्व विद्यालयलाई परीक्षा सार्न दबाब दिएपछि टीयू पनि परीक्षा सार्न बाध्य भएको बुझिएको हो ।
त्रिभुवन विश्वविद्यालयले यसअघि फागुन दोस्रो सातादेखि स्नातक तह पहिलो र चौथो वर्षका सबै संकायको परीक्षा तोकेको थियो । सोही समयमा परीक्षाको कारण अनेरास्ववियुको महाधिवेशन प्रभावित हुने भन्दै अनेरास्ववियुका विद्यार्थी नेताहरुले परीक्षा सार्न दबाब दिएपपछ परीक्षा सरेको स्रोतको भनाइ छ ।
विद्यार्थी नेताहरुको दबाबपछि विश्वविद्यालयले पनि फागुनामा हुने परीक्षा रद्द गरेर नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । विश्व विद्यालयले ती परीक्षाहरुलाई चैतको दोस्रो सातादेखि सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरेको छ । विद्यार्थी नेताको दबाबकै कारण विद्यार्थीहरुको परीक्षा १ महिना पछाडि धकेलिएको छ ।
पुरानो परीक्षा तालिका
[pdf id=382353]
अनेरास्ववियुका महासचिव समिर बडालले भने दबाब नभई विश्व विद्यालयलाई आग्रह गरेको बताए । अनेरास्ववियुले विद्यार्थीको परीक्षा नै सार्नको लागि विश्वविद्यालयलाई दबाब नदिएको बताउँदै उनले विश्वविद्यालयलाई अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन र स्ववियु निर्वाचनको तालिकाको विषयमा जानकारी गराएर विद्यार्थीको परीक्षा प्रभावित नहोस् भनेर अग्रिम जानकारी गराएको बताए ।
‘हाम्रो महाधिवेशनको कार्यतालिका यस्तो छ, स्ववियु पनि नजिकिँदैछ, यसले गर्दा विश्व विद्यालयको क्यालेन्डर प्रभावित नहोस, त्यही बिचमा धेरै विद्यार्थीको परीक्षा पनि छ, यो बेला विश्व विद्यालयले मिलाएर काम गर्नु पर्छ भनेर हामीले आग्रह मात्रै गरेका थियौं, परीक्षा नै सार्नु पर्छ भनेर हामीले दबाब दिएका छैनौं,’ बडालले विकासन्युजसँग भने ।
त्रिभुवन विश्वविद्यालयमा राजनीतिक दृष्टिकोणका आधारमा व्यवस्थापन तथा प्राध्यापकहरुको काम कारवाहीमा विद्यार्थी संगठनहरुले आफ्नो दृष्टिकोण राख्दै सोही अनुसार प्रतिक्रिया जनाउँदै आएको देखिन्छ । लामो इतिहास र प्रशस्त सम्भावना बोकेको विश्वविद्यालय पटक–पटक राजनीतिक निशानामा पर्दै पनि आएको छ ।
त्रिभुवन विश्वविद्यालयका रजिष्टार पेशल दाहाल भने विद्यार्थी नेताको दबाबमा परीक्षा सारेको विषयलाई अस्वीकार गर्छन् । उनका अनुसार केही मिलाउन बाँकी आन्तरिक विषयहरु मिलाउनका लागि परीक्षा सारिएको उनको तर्क छ । यसअघि तयारी सकेर परीक्षा तालिका नै सार्वजनिक गरिसकेको अवस्थामा अहिले कसरी तयारी पुगेन भन्ने प्रश्नमा भने उनी नाजवाफ भए ।
‘विद्यार्थी नेताहरुको दबाबमा विश्वविद्यालय बस्दैन, अहिले केही विषयहरुमा तयारी नपुगेर एक महिना पछाडि सारेका हौं, यसमा अन्यथा सोच्नु हुँदैन,’ उनले भने ।
समयमा परीक्षा लिने, नतिजा सार्वजनिक गर्ने र पाठयक्रमको नियमित विकास गर्ने लगायतका विषयहरुमा अब्बलता पदर्शन गर्न नसकेको विश्वविद्यालयले एउटा विद्यार्थी संगठनको दबाबमा विद्यार्थीको परीक्षालाई एक महिना सार्ने काम गरेको भन्दै अहिले चौतर्फी रुपमा आलोचना पनि भइरहेको छ । कोरोना महामारीले प्रभावित पारेको शैक्षिक क्षेत्रको तालिका अझै नियमित हुन नसकिरहेको अवस्थामा विश्वविद्यालयले विद्यार्थीको परीक्षालाई थप एक महिना धकेल्दा यससँग सम्बन्धित हजारौं विद्यार्थीको पढाई पनि प्रभावित हुने देखिन्छ ।
नयाँ परीक्षा तालिका
[pdf id=382349]