अर्थतन्त्रका सूचक सकारात्मक

  २०७९ पुष २९ गते १४:२३     विकासन्युज

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा अर्थतन्त्रका महत्वपूर्ण सूचकहरु सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार अर्थतन्त्रका महत्वपूर्ण सूचकहरुमा सुधार देखिएकको हो । पछिल्लो समय बैदेशिक रोजगारीमा जानेहरुको संख्या बढेपछि रेमिट्यान्स पनि बढेको छ । बैदेशि रोजगारीमा जानेको संख्या बढेसँगै चालु आर्थिक वर्षको ५ महिनामा रेमिट्यान्स पनि २३ प्रतिशत बढेको छ ।

नेपाल राष्ट बैंकका अनुसार चालु आर्थिक वर्षको मंसिरसम्म ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जुन गत आर्थिक वर्षको तुलनामा २३ प्रतिशत बढी हो । गत वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ६.३ प्रतिशत घटेको थियो ।

यस्तै, अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १३.१ प्रतिशत वृद्धि भई ३ अर्ब ७१ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा ६.८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २१.६ प्रतिशतले वृद्धि भई ५ खर्ब ३० अर्ब ६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद ट्रान्सफर ५.३ प्रतिशतले घटेको थियो ।

विदेशी मुद्रा सञ्चिती बढ्यो

चालू आर्थिक वर्षको ५ महिनामा विदेशी मुद्रा सञ्चिति पनि बढेको छ । पछिल्लो समय अर्थतन्त्र सहज हुँदै गइरहेका बेला विदेशी मुद्रा पनि थपिँदै गएको हो । मंसिरसम्म विदेशी मुद्राको संचिती ६.३ प्रतिशत बढेको छ ।

मंसिर मसान्तसम्म १२ खर्ब ९२ अर्ब ५६ करोड कुल विदेशी विनिमय सञ्चिति रहेको राष्ट्र बैंकले जनाएको छ । जुन ५ महिनामा ६.३ प्रतिशत बढेको हो । गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको विदेशी मुद्रा रहेको थियो ।

अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति २०७९ असारसम्म ९ अर्ब ५४ करोड रहेकोमा मंसिरसम्म ३.० प्रतिशत वृद्धि भई ९ अर्ब ८२ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको मुद्राको ७.८ प्रतिशत वृद्धि भई ११ खर्ब ३९ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तसम्म सञ्चिति १० खर्ब ५६ अर्ब ३९ करोड रुपैयाँ रहेको थियो ।

बैंक तथा वित्तीय संस्थासँग असार मसान्तसम्म १ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ रहेकोमा मंसिरसम्म ३.८ प्रतिशतले कमी आई १ खर्ब ५३ अर्ब ३४ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति रहेको छ । २०७९ मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको छ ।

आयात घट्यो

विदेशी मुद्राममा संकुचन आउने अर्को महत्वपूर्ण सूचक आयात हो । चालू आर्थिक वर्षको ५ महिनामा आायत घटेको छ । आर्थिक वर्ष २०७९÷८० को ५ महिनामा कुल वस्तु आयात २०.७ प्रतिशत कमी आई ६ खर्ब ६४ अर्ब ७५ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५९.५ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २०.० प्रतिशत, २२.६ प्रतिशत र २१.४ प्रतिशतले कमी आएको छ ।

मंसिरसम्म ३४.६ प्रतिशत निर्यात घटेको हो । मंसिरसम्म कूूल वस्तु निर्यात घटेपनि ६७ अर्ब ३० करोड रुपैयाँको निर्यात भएको हो । गत वर्षको सोही अवधिमा १०५.६ प्रतिशत निर्यात वृद्धि भएको थियो । सबैभन्दा धेरै निर्यात भारत र चीनतर्फ भएको छ । भारतमा ४३.७ प्रतिशत र चिनमा ३५.९ प्रतिशत निर्यात घटेको छ । अन्य मुलुकतर्फको निर्यात ७.१ प्रतिशतले वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७९/८० को पाँच महिनामा कुल वस्तु व्यापार घाटा १८.८ प्रतिशतले कमी आई ५९७ अर्ब ४४ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५४.७ प्रतिशतले बढेको थियो ।

शोधनान्तर स्थिति बचतमा

चालू आर्थिक वर्षको ५ महिनामा शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १९५ अर्ब १ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६४ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३४ करोड ६८ लाखले बचतमा रहेको छ ।

चालू आर्थिक वर्षको ५ महिनामा चालु खाता ३७ अर्ब ९१ करोड रुपैयाँ घाटामा रहेको छ । गत वर्षको सोही अवधिमा चालु खाता २९८ अर्ब ५१ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ५१ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २९ करोड ७२ लाखले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २५.३ प्रतिशतले कमी आई ३ अर्ब ४७ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६० करोड ४९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ४ अर्ब ६४ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी ७ अर्ब ७ करोड रुपैयाँ रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.