दोस्रो चरणको मर्जरपछि बैंक ६ वटामा झर्छन् : बैंकर पाँडेको विचार

  २०७९ पुष २७ गते १८:४६     पृथ्वीबहादुर पाँडे

अहिले बैंक तथा वित्तीय संस्थामा मर्जरको लहर छ । नेपाल राष्ट्र बैंकले मर्जरको नीति ल्याएपछि अहिले बैंकहरु धमाधम मर्ज भइरहेका छन् । तत्कालिन गभर्नर चिरञ्जीवी नेपाललाई मर्जरको नीतिबारे मैले पनि केही सल्लाह दिएको थिएँ । सोही नीति अनुसार अहिले बैंकहरु मर्ज भएर १९ वटा कामय भएका छन् । जुन पहिलो चरणको मात्रै मर्जर हो । दोस्रो चरणको मर्जर प्रक्रिया सुरु हुन बाँकी नै छ । अब दोस्रो चरणको मर्जर आवश्यक छ । नेपाल राष्ट्र बैंकले दोस्रो चरणको मर्जर प्रक्रिया सुरु गरेर वाणिज्य बैंकहरुको संख्या ६÷७ वटामा झार्न आवश्यक छ ।

आज पृथ्वी जयन्तीको दिनमा नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको एकीकृत कारोबार सुरु भएको छ । मर्जर पश्चात् नयाँ सञ्चालक समिति पनि गठन भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक नाम हुनुअघि इन्डोस्वेज बैंक थियो । सन् १९८६ मा फ्रेन्च ज्वाइन्ट भेञ्चरमा १५ प्रतिशत लगानीमा इन्डोस्वेज बैंक स्थापना भएको थियो । इन्डोस्वेज बैंकका अध्यक्ष सन् १९८३ मा चीन हुँदै नेपाल भ्रमणमा आउनु भएको थियो । उहाँले एक दिन पनि नेपालमा बिताउनु भएन । तर, त्यो थोरै समयमा एउटा बैंक नेपालमा खोल्ने निर्णय गर्नु भयो ।

सन् १९८६ फेव्रुअरी २६ मा इन्डोस्वेज बैंकले नेपालमा वित्तीय कारोबार सुरु गर्याे । सन् २००२ सम्म इन्डोस्वेज बैंक त्यति धेरै ठूलो पनि थिएन र आक्रामक व्यापार पनि गरेको थिएन । सन् २००२ मा इन्डोस्वेज बैंकको केन्द्रिय कार्यालयमा छलफल भयो । एशियन देशहरु बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, क्यम्बोडिया लगायत नेपाल देशबाट आफ्नो बैंक फिर्ता गर्ने निर्णय गर्याे । कारण थियो वित्तीय विवरणमा जति नाफा कमायो त्यति नै प्रोभिजन राख्नुपर्ने पर्ने व्यवस्था गर्याे ।

त्यसपछि मलाई खरिद गर्न प्रस्ताव आयो । मैले पनि प्राइभेट इक्वीटी ग्रुप लिएर ५० प्रतिशत सेयर खरिद गरेँ । त्यो बेलामा नेपालइ न्डोस्वेज बैंकलाई छोटकरीमा एनआईबिएल भनिन्थ्यो । त्यो नाम हामीलाई दिनुस् भन्दा दिइएन । । तर, एनआईबिएललाई निरन्तरता दिन नेपाल इन्भेष्टमेन्ट बैंक नाम राखेका थियौं । नेपाल इन्भेष्टमेन्ट बैंक भएपछि ३ वटा संस्थालाई प्राप्ति गर्यौं । यो बिचमा एस डेभलपमेन्ट बैंक, जेबिल्स फाइनान्स र सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ति गर्यौं ।

मेगा बैंकको स्थापना सन् २०१० सालमा स्थापना भएको हो । मेगा बैंकले १२ वर्षमा ठूलो ग्रोथ गरेको छ । एनआईबिएल बैंकले स–साना संस्था मात्रै गाभ्यो भने मेगा बैंकले समान हैसियतका संस्थालाई पनि प्राप्ति गर्याे । बैंकले २०७३ बैशाख १३ गतेका दिन पश्चिामाञ्चल डेभलपमेन्ट बैंकसँग मर्जर गरी एकीकृत कारोबार गरेको थियो । टुरिजम डेभलपमेन्ट बैंक र गण्डकी विकास बैंकलाई पनि मेगाले प्राप्ति गर्यो ।

हालसम्म नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले प्राप्ति मात्रै गरेको छ । यो एनआईबिएल बैंक र मेगा बैंकबीच पहिलो मर्ज हो । प्राप्ति गर्दा संस्था सञ्चालन गर्न सजिलो हुन्छ तर मर्ज गर्दा सजिलो हुँदैन । जुन चुनौति सञ्चालक समितिमा पर्छ । अब ठूल्ठूला बैंक मर्ज हुँदा धेरै सिनर्जी आउँछ ।

नेपालमा नेपालीबाटै लगानी गरेर सुरु गरेको पहिलो बैंक हिमालयन हो । त्यो बेला राष्ट्र बैंकले तपाइले बैंक सञ्चालन गर्नुभयो भने हामी डुब्छौं भन्थे । हामीले बैंक सञ्चालन गरेपछि बैंक, बीमा कम्पनी, होटलहरुको वृद्धि भयो । राष्ट्र बैंकले जथाभावी लाइसेन्स वितरण गर्याे । अस्वस्थ प्रतिस्पर्धा बढ्यो । नेपालको ३६ बिलियन डलरको जिडीपी छ । प्रतिबैंक जिडीपी १.१७३ मिलियन डलर मात्रै छ । भारतको जिडीपी २० हजार ५३४ बिलियन डलर छ । ३३ वटा बैंकको प्रतिबैंक जीडीपी १००.७ बिलियन डलर छ ।

बङ्गलादेशमा ५२ बैंक छन् । नेपालको जस्तै संख्या धेरै छन् । तर, बंगलादेशमा नेपालको भन्दा प्रतिबैंक ७ गुणा बढी जीडीपी छ । बङ्गलादेशमा प्रतिबैंक जिडीपी ८ बिलियन डलर छ । थाइल्याण्डमा प्रति बैंक जिडीपी १४ बिलियन डलर, पाकिस्तानमा २१ वटा बैंकमध्ये प्रति बैंक जीडीपी १६ बिलियन डलर, श्रीलङ्कामा २४ वटा बैंकहरुमध्ये प्रतिबैंक जीडीपी ३.४१ बिलियन डलर छ । मलेसिशयामा केन्द्रिय बैंकले फोर्सफुल्ली मर्ज गरेको थियो । केन्द्रिय बैंकले ६/७ बैंक भए पुग्छ भनेपछि ८ वटा बैंकमा झारेको थियो ।

यी सबै देशसँग नेपालका बैंकहरुको तुलना गर्ने हो भने धेरै तल छ । अब केन्द्रिय बैंकलाई मर्जरका लागि बैंकहरु आफैले सहयोग गर्नुपर्छ । सुदृढ अर्थतन्त्र, ग्राहकको सेवामा गुणस्तरीयता, लगानीकर्ताको प्रतिफल वृद्धि गर्न सबैले सहयोग गर्नुपर्छ । मर्ज भएर ठूलो पूँजी भयो भने चुनौतिलाई कम गर्न सकिन्छ । लगानी गर्ने क्षमतामा वृद्धि हुन्छ । बैंक ठूलो भयो निक्षेपकर्ताको रकम झनै सुरक्षित हुन्छ । लगानीका लागि नयाँ ढोका खुल्ला हुन्छन् । स्वस्थ प्रतिस्पर्धा हुन्छ । नयाँ–नयाँ श्रृजनात्मक काम गर्न सकिन्छ । नयाँ टेक्नोलोजीमा जान सकिन्छ । राष्ट्रिय स्तरको आयोजनामा लगानी गर्न सकिन्छ । ठूला आयोजना बनाउनु पर्याे भने लगानीको सुनिश्चितता हुन्छ ।

अहिले कुनै आयोजना बनाउनु पर्याे भने लगानी नै जुटाउन गाह्रो छ । मेरो आफ्नै कम्पनीले एउटा अयोजना बनाइरहेका छौं । तर, मलाई पैसा जुटाउन ७ वर्ष लाग्यो । अब कुनै आयोजना निर्माण गर्नुपर्याे लगानीको स्रोत सुनिश्चित भएको छ । फिनटेक कम्पनी पनि बढ्दै छन् । बैंकहरुको सञ्चालन खर्च कटौति हुन्छ । बैंकहरुले एउटा मोबाइलबाट सबै सेवा दिन सक्नुपर्छ । ठूलो बैंक भएपछि टेक्नोलोजीमा खर्च कम हुन्छ । फेरी टेक्नालोजी तिव्र रुपमा परिवर्तन भइरहेको छ । अहिले केही सिस्टम ल्यायौं भने ६ महिनामा अर्काे आइदिन्छ । टेक्नोलोजीमा पनि नयाँ नयाँ फेज आइरहेको छ । अब शाखा कार्यालय खोलेर मात्रै एक्सपान्स हुँदैन । अब सबै शाखा कार्यालय भनेको मोबाइल बैंक हो ।

पछिल्लो समय बैंकहरुबीच अस्वस्थ प्रतिस्पर्धा बढ्दो छ । बैंकहरुको नाफा घट्दै गएको छ । कुनै समय बैंक धेरै राम्रो नाफा कमाउँथे । बैंकहको प्रतिफल ऐभरेजमा २०/२५ प्रतिशत थियो । अब त्यो घट्दा घट्दै १० प्रतिशत भन्दा तल झरेको छ । बैंकहरुको नाफा र सेयर मूल्य पनि घटेको छ । व्यापारीहरुले जहिले पनि बैंकहरुले नाफा कमायो भन्छन् । बैंकहरुले विजनेशम्यानहरु पारदर्शी छैनन् भन्छन् । लगानी गरेपछि नाफा कमाउने हो । बजारमा चुक्ता पूँजीमा नाफा कमाएको भन्ने सन्देश गएको छ । चुक्ता पूँजीमा नाफा कमाएको होइन । बैंकहरुको कोर क्यापिटल कति प्रतिफल आयो भनेर हेर्नु पर्छ ।

बैंकहरुको नाफा लगानीको आधारमा हुन्छ । कुनै बैंकले ३/४ अर्ब कमाउँछन् । ५८ अर्ब सम्पत्ति हुँदा बैंकले ४/५ अर्ब नाफा पनि कमाउन नपाइने हो ? फेरि बैंकहरुमा जोखिम पनि धेरै हुन्छ । बजारमा बैंकहरुले नाफा कमायो भनेर विरोध हुन आवश्यक छैन । विदेशमा ८/१० प्रतिशत नाफा कमायो भने गजब राम्रो गरेको भन्छन् । किनभने मूल्य वृद्धिदर २/३ प्रतिशत मात्रै हुन्छ । नेपालमा १० प्रतिशत बढी मूल्य वृद्धि छ ।

केही बैंकहरुले धेरै लाभांश दिए । ती बैंकको विगत हेर्ने हो भने खासै राम्रो छैन । ती बैंकहरुले एसेट वा सम्पत्ति र सेयर बिक्री गरेर पैसा कमाइरहेका छन् । २/३ वटा बैंकको वित्तीय रिपोर्ट राम्रो भएपनि समग्रमा१०/११ प्रतिशत नाफा आउँछ । यो दीर्घकालका लागि धेरै ठूलो मुद्धा हो । मर्जर पश्चात् मर्चेन्ट बैंकको सेवा पनि उच्च हुनेछ । एनआईबिएल एस क्यापिटल र मेगा क्यापिटल मर्ज भएर नम्वर वान बन्नेछ । जुन क्यापिटल मार्केट लागि महत्वपूर्ण हो ।

मर्जर पश्चात् नम्वर वान

मर्जर पश्चात् नम्वर वान बन्ने लक्ष्य हो । हामीले नम्बर वान बन्ने लक्ष्य लिएपनि जहिले पनि टप थ्रीमा हुनेछौं । दुई बैंक मर्जर भएर बलियो बनाउने मात्रै होइन ग्राहकको सेवा, नियामक निकायका नीति निर्देशन भित्र रहेर काम गर्ने रसेयरधनीलाई उच्च प्रतिफल दिएर नम्वर वान बन्ने हो । नेपाली बैंकहरु पारदर्शी भएर गुणस्तरीय सेवा दिन सक्ने बनाउने हो ।

कर्मचारीलाई व्यवस्थापन गर्न सकिएन भनेसेवा गुणस्तर दिन सकिँदैन । कर्मचारीलाई सक्षम,लगनशील, इथिकल स्ट्याण्डर्ड, प्रोफेसनशल र कर्पाेरेट गभर्ननेन्स बनाउनु पर्छ । मर्जर पश्चात् सेयरधनीहरुलाई प्रतिफल उच्च दिने हो । २०/२५ प्रतिशत भन्दा बढी लाभांश दिनुपर्छ भन्ने छैन । तर, १५ प्रतिशत भन्दा कम हुनु हुँदैन । नेपाल इन्भेष्टमेन्ट बैंकले मर्जर पश्चात् १५ प्रतिशत भन्दा बढी प्रतिफल दिनेछ ।

मेगा बैंकले साना तथा लघु कर्जा (एसएमईएस) कर्जामा जोड दिएको थियो भने नेपाल इन्भेष्टमेन्ट बैंकले कर्पाेरेट सेक्टरलाई जोड दिएको थियो । अब दुइवटै क्षेत्रमा सिनर्जी ल्याउने गरी कर्जा प्रवाह गरिनेछ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कूल पूँजी ५८ अर्ब पुग्नेछ । जुन बैंकिङ्ग क्षेत्रमा पहिलो नम्बरमा हुनेछ ।

मर्जर पश्चात् चुक्ता पूँजी ३४ अर्ब रुपैयाँ रजगेडा कोष २४ अर्ब रुपैयाँ पुग्नेछ । सेयर होल्डरको फण्ड ३९९ अर्ब रुपैयाँ, कूल कर्जा ३२९ अर्ब रुपैयाँ, निक्षेप ३०७ अर्ब रुपैयाँ, कूल सम्पत्ति ४७१ अर्ब रुपैयाँ जुन बैंकिङ्ग क्षेत्रमा दोस्रो स्थानमा हुनेछ । तर, खुद नाफा आर्जनमा भने तेस्रो स्थानमा पुग्नेछ । शाखा कार्यालय २९६ पुग्नेछ । उपत्यकामा ८८ शाखा र उपत्यका बाहिर २०८ शाखा कार्यालय हुनेछन् । एटिएम मेशिन २७९ पुग्नेछन् । कर्मचारी संख्या ३ हजार ३१५ जना, एक्सटेन्सन काउन्टर ५९ वटा पुग्नेछन् । जुन बैंकिङ्ग क्षेत्रमा तेस्रो नम्बरमा हुनेछ । बैंकमा नेपालको जनसंख्याको १० प्रतिशत ग्राहक रहेका छन् ।

( बैंकर पाँडे नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष हुन् । )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.