२०७९ पुष २४ गते ११:२५ विकासन्युज
काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबार प्रतितोला १ हजार रुपैयाँले बढेसँगै सुनको मूल्यले रेकर्ड तोडेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार आइतबार १ हजार रुपैयाँले बढेसँगै छापावाला सुनको मूल्य तोलामै १ लाख ३ हजार ३ सय रुपैयाँ कायम भएको छ । महासंघका अनुसार आइतबार तेजावी सुन प्रति तोला १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएतापनि सुनचाँदी व्यवसायीले भने बिक्री नभएको भन्दै आयात रोक्न सिफारिस गरेका छन् । बजारमा पुराना गहना बेच्नेको संख्या बढेको भन्दै नेपाल सुन चाँदी व्यवसायी महासंघले आयात रोक्न सिफारिस गरेको हो ।
महासंघका अध्यक्ष मणिकरत्न शाक्य पुराना गहना बेच्नेको भीड लागेपछि आयात रोकिएको बताउँछन् ।
‘अहिले बजारमा सुनको माग अत्यधिन न्यून छ, नयाँ सुनको मागभन्दा पनि पुराना गहना बेच्नेको भीड लागेपछि हामीले नयाँ सुन आयात रोक्न सिफारिस गरेका हौँ, माघ लागेसँगै आयात खुला हुन्छ’, उनले भने ।
महासंघको आग्रहमा बैंकर्स संघले बैंकहरुलाई सुन आयातको सिफारिस रोकेको छ ।
सामान्य अवस्थामा नेपाली बजारमा दैनिक १५ देखि २० किलो सुनको बिक्री हुनेगरेको महासंघले जनाएको छ । महासंघको तथ्यांक अनुसार पछिल्लो समय बैंकमा मात्रै १ सयभन्दा किलोभन्दा बढी सुन थन्कीएको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.