२०७९ पुष ८ गते १२:२९ विकासन्युज
काठमाडौं । सरकारले गाडी लगायत विभिन्न वस्तुको आयातमा लगाएको प्रतिबन्धको असर भन्सार राजश्वमा देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिनाको तथ्यांंकअनुसार आयात प्रतिबन्धको असर राजश्व संकलनमा देखिएको हो ।
गत आर्थिक वर्षको पहिलो ५ महिनामा विभिन्न वस्तुको आयातबाट मात्रै २ खर्ब १७ अर्ब ३३ करोड रुपैयाँ राजश्व संकलन गरेकोमा चालु आवमा ६३ अर्ब १९ करोड रुपैयाँले कमी आएको छ । चालु आवको पाँच महिनामा एक खर्ब ५४ अर्ब १३ करोड रुपैयाँ मात्र राजश्व संकलन भएको हो ।
चालु आर्थिक वर्षको पाँच महिनाको अबधिमा विदेशी वस्तुको आयातसँगै स्वदेशी वस्तुको निर्यात घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/०८० को पाँच महिना (गत साउनदेखि मंसिर मसान्तसम्म) को तथ्यांकअनुसार आयातसँगै निर्यातमा कमी आएको छ ।
तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आवमा आयातमा २०.७१ र निर्यात ३४.६१ प्रतिशतले कमी आएको हो ।
गत आवमा ८ खर्ब ३८ अर्ब ४० करोड राबरको आयात भएकोमा चालु आवमा ६ खर्ब ६४ अर्ब ७४ करोड रुपैयाँ बराबरको बराबरको विदेशी वस्तुको आयात भएको छ।
यस्तैगरी, उक्त अवधिमा ६७ अर्ब ३० करोड ४५ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । गत आवमा एक खर्ब २ अर्ब ९२ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । तथ्यांकअनुसार कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९०.८१ र निर्यातको हिस्सा ९.१९ प्रतिशत बराबर रहेको छ ।
६ खर्बको वैदेशिक व्यापार घाटा
चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ५ महिनाको अवधिमा नेपालको करिब ६ खर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार घाटा व्यहोरेको छ । विभागले सार्वजनिक गरेको ५ महिनाको तथ्यांकअनुसार वैदेशिक व्यापार घाटा ५ खर्ब ९७ अर्ब ४४ करोड १९ लाख रुपैयाँ पुगेको हो ।
गत वर्षको सोही अवधिमा नेपालले ७ खर्ब ३५ अर्ब ४८ करोड ७६ लाख रुपैयाँको व्यापार घाटा व्यहोरेको थियो । जुन १८.७७ प्रतिशतले कमी हो ।
उक्त अवधिमा नेपालले सात खर्ब ३२ अर्ब ५० करोड ९५ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । गत आवमा ९ खर्ब ४१ अर्ब ३२ करोड ८८ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.