नेता रावलको प्रश्न : मेयर बालेनले अमेरिकी राजदूतलाई भेट्न अनुमति लिएका हुन् ?

  २०७९ मंसिर १६ गते १८:३६     विकासन्युज

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका लागि अमेरिकाका राजदूत डीन आर.थम्पसनबीच भएको भेटवार्तामा प्रश्न उठाएका छन् । रावलले बालेनले परराष्ट्र मन्त्रालयको अनुमति लिएर अमेरिकाकी राजदूत थम्पसनसँग भेट गरेको हो वा होइन ? भन्दै प्रश्न गरेका हुन् ।

साथै, शुक्रबार सामाजिक सञ्जालमा लेख्दै रावलले यो विषयमा स्पष्ट पारिनु पर्ने समेत बताएका छन् ।

‘नेपालको परराष्ट्र सम्बन्ध संघीय सरकारको मातहतमा रहने संविधानको स्पष्ट व्यवस्था छ । कामपाका प्रमुख वालेन साहाले अमेरिकी राजदूतसंग भेटवार्ता बारे विषय जानकारी गराई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन ? स्पष्ट गरियोस् । संविधान र स्वाधीन देशको स्वाभिमान र मर्यादाको रक्षा गरौं । परराष्ट्र सम्बन्ध जस्तो संवेदनशील विषयमा संविधान र कानूनको पद्धति मिचेर जुन कार्यालय वा निकाय प्रमुखलाई जतिबेला जो विदेशीसंग भेटवार्ता गर्न मन लाग्यो आाफुखुशी गर्ने संसारमा कहीं नभएको अभ्यास नेपालमा किन संक्रमणकालिन गठबन्धन सरकार ? जनउत्तरदायी हौ भने जवाफ देउ,’ रावलले लेखेका छन् ।

मेयर बालेन र अमेरिकाकी राजदूतबीच गत बिहीबार साँझ भेट भएको थियो । भेटका क्रममा प्रमुख शाहले काठमाडौँ मौलिक सांस्कृतिक सम्पदाले भरिएको जीवन्त सहर भएको बताए । शहरको जिवन्तता संरक्षण र प्रवद्र्धनका महानगरका लागि प्राथमिक कार्यक्रम रहेको उनको भनाइ छ ।

राजदूत थम्पसनले काठमाडौँसँग संयुक्त राज्य अमेरिकाका विभिन्न शहरहरुसँग भगिनी सम्बन्ध रहेको बताउँदै नगर र नागरिक स्तरीय दिगो सम्बन्धका लागि आफू प्रतिबद्ध रहेको धारणा राखे ।

सम्पदा संरक्षण तथा प्रवद्र्र्धन, शहरी विकासका आपसी सिकाई र अभ्यास तथा द्विपक्षीय सम्बन्धमा विषयमा कुराकानी भएको थियो । अमेरिकाका फेडरिसवर्ग, बोल्डर, युजिन सहर र रोचेष्टर सहरसँग काठमाडौं महानगरको भगिनी सम्बन्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.