२०७९ मंसिर १४ गते १८:५६ विकासन्युज
काठमाडौं । नेपाल उद्योग परिसंघले उद्योगी र व्यवसायीहरुको समस्या समाधान गर्न मौद्रिक नीतिको त्रैमासिक समीक्षा चुकेको बताएको छ ।
परिसंघले बुधबार विज्ञप्ती जारी गर्दै मौद्रिक नीतिको समीक्षामा भुक्तानी प्रणालीमा कुनै व्यवधान आउन नदिने, परिलक्षित कर्जा प्रवाहलाई सहयोग पुर्याउने र तत्काल ब्याजदर थप बढ्न नदिने गरी तरलता व्यवस्थापन गरिनेछ भन्ने उल्लेख भए पनि ठोस कदमको अभावमा उद्योगी र व्यवसायीहरुको समस्या समाधान गर्न चुकेको बताएको हो ।
परिसंघले प्रथम त्रैमासमा अघिल्लो त्रैमासको तुलनामा मुल्य अभिबृद्धि कर, अन्त शुल्क तथा भन्सार राजश्वमा आएको कमीले अर्थतन्त्रमा २२ प्रतिशत योगदान रहेको, १७ लाख जनालाई रोजगारी दिईरहेको घरेलु तथा साना उद्योगहरु सबै भन्दा बढी प्रभावित भएको बताएको छ ।
कर्जाको ब्याज तथा किस्ता भुक्तानी गर्न नसक्ने अवस्थामा आफुहरु पुगेको उनीहरुले बताएका छन् । ‘कर्जाको ब्याज तथा किस्ता भुक्तानी गर्न नसक्ने अवस्थामा घरेलु तथा साना उद्योगहरु छन्, यस समस्याले ऋण नउठ्ने र बैंकको एनपीएल समेत बढ्ने देखिएको छ, यस्तो समस्याको समाधान गर्न त्यस क्षेत्रमा गएको कर्जाको बैंकको तजविजीमा एक पटकका लागि पुनर्संरचना, पुनर्तालिकिरण र पुनर्कर्जाको सुविधा दिन आवश्यक छ,’विज्ञप्तीमा भनिएको छ ।
यस्तै, परिसंघले हाल मुलुकको अर्थतन्त्रमा आर्थिक गतिविधि सुस्त हुनुमा पुँजी बजार तथा घर जग्गा कारोबारमा आएको मन्दी पनि एक कारण रहेको बताउँदै हाउजिङ्ग र कर्मशियल कम्पलेक्स निर्माणमा जाने कर्जालाई केही खुकुलो गर्न परिसंघ अनुरोध गरेका छ । संघले पुँजी बजारलाई हौसला पुग्ने नीति अबलम्बन गर्न सुझाव दिएको छ ।
कर्जाको ब्याज तथा किस्ता भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेका उद्योगी व्यवसायीहरुको मनोबल खस्केको समयमा केन्द्रीय बैंकले जारी गरेको चालु पुँजी कर्जा सम्बन्धि मार्गनिर्देशनले उद्योगी व्यवसायीहरुलाई थप मार पारेको बताउँदै परिसंघले निर्देशनमा पुराना ग्राहकका लागि आवश्यक सुधारसहित न्यूनतम २ वर्ष पछि मात्र लागु गर्न आग्रह गरेको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.