एनसीसी बैंकबाट तीन डेपुटी सीईओसहित १ दर्जन कर्मचारी बाहिरिए, उच्च व्यवस्थापनमा तीन जना बाँकी

  २०७९ मंसिर १३ गते ११:१३     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स  बैक (एनसीसी)  बाट एक दर्जन कर्मचारी बाहिरिएका छन् । कुमारी बैंकसँग मर्जरको प्रक्रियामा रहेको एनसीसी बैंकबाट तीन जना डेपुटी प्रमुख कार्यकारी अधिकृतसहित एक दर्जन कर्मचारीहरु बैंकबाट बाहिरिएका हुन् ।

बैंक स्रोतका अनुसार १३ जना वरिष्ठ कर्मचारीहरुले स्वैच्छिक अवकाश लिएका हुन् । बैंकले कुमारीसँग मर्जरको सम्झौता गरेपछि १३ जनाले स्वेच्छिक अवकाश लिएको बैंकका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले बताए ।

उनका अनुसार बैंकका तीन जना डेपुटी प्रमुख कार्यकारी अधिकृतहरु बन्दना पाठक, रेवन्तकुमार दाहाल र सन्दीपप्रसाद पाण्डेले अवकाश लिएका छन् भने नायब महाप्रबन्धक विनोदकुमार शर्मा, वरिष्ठ प्रबन्धक नगेन्द्रप्रसाद बिमली, व्यवस्थापक (म्यानेजर) युरेशमान कायस्थ, विनयप्रसाद अधिकारी, सरिना पाण्डे र अमित श्रेष्ठले अवकाश लिएका छन् ।

यस्तै, डेपुटी म्यानेजर मीनराजजंग शाह, अनिल पराजुली, प्रीतमकुमार दास श्रेष्ठ र एसिस्टेन्ट म्यानेजर दुर्गाप्रसाद पाण्डेले पनि अवकाश रोजेका लिएका छन् । अवकाश लिनेहरुलाई न्यूनतम २८ महिनादेखि अधितम् ४२ महिनाको तलब सुविधा दिएर अवकाश दिएको बताइएको छ । उनीहरुले करिब ९ करोड रुपैयाँ लिएका छन् ।

वरिष्ठ पदमा रहेका १३ जनाले स्वेच्छिक अवकाश लिएपछि अहिले एनसीसी बैंकको उच्च व्यवस्थापनको दोस्रो वरियतामा डेपुटी जनरल म्यानेजर मुकुन्द सुवेदी र कार्यवाहक एसिस्टेन्ट जनरल म्यानेजर लक्ष्मी प्रसाद दुवाल तेस्रो वरियतामा छन् । अब एनसीसी बैंकको उच्च व्यवस्थापनमा तीन जना मात्रै बाँकी रहेका छन् ।

दुवै बैकले मंसिर २५ गते विशेष साधारणसभा बाेलाएका छन् । दुवैले अन्तिम स्वीकृति चाँडै पाएमा पुस १७ गतेदेखि एकीकृत कारोबार गर्ने योजना बनाएका छन् ।

कुमारी बैंक र एनसीसी बैंकबीच १ः१ को स्वाप रेसियोमा मर्ज हुने सहमति भएको छ । तर, बैंकको डीडीए रिपोर्टमा भने १००ः९६.५९ को स्वाप रेसियो आएको थियो । मर्जरपछि बैंकको सीईओ एनसीसी बैंकका रमेश अर्याल र वरिष्ठ डेपुटी सीईओमा कुमारी बैंकका रामचन्द्र खनाल बन्नेछन् । बैंकको अध्यक्षको विषय भने टुङ्ग्याउन बाँकी छ ।

यस्तै, बैंकका सीईओ रमेश कुमार अर्यालले गत आर्थिक वर्षमा बैंकबाट १ करोड ३२ लाख रुपैयाँ तलब सुविधा बुझेका छन् । अन्य पदाधिकारी तथा कर्मचारीले ३ करोड २४ हजार रुपैयाँ बुझेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.