५ वर्षअघि अर्बमा बिजनेस गर्ने एनआईसी एशियाको अहिले खर्बको हिसाब, यी हुन् बैंकलाई सफलता दिलाउने रणनीति

  २०७९ मंसिर १२ गते १५:४७     विकासन्युज

काठमाडौं । अहिले बैंकिङ क्षेत्रमा आफूलाई नम्बर वान बैंकको रुपमा चिनाउन ठूलो प्रतिस्पर्धा छ । वाणिज्य बैंकहरुले आफुलाई यो सूचकमा आफु नम्बर वान भनेर दाबी गरिरहन्छन् । बैंकहरुबीच व्यवसायलाई विस्तार गर्दै आफूलाई नम्बर वान बन्ने अभ्यास व्याप्त छ ।

बैंकहरुमा सबैभन्दा मुख्य सूचकका रुपमा निक्षेप संकलनलाई लिने गरिन्छ । अहिले तरलताको संकट परिरहेको बेला बैंकहरुबीच निक्षेप संकलनको प्रतिस्पर्धा छ । एक बैंकसँग भएको निक्षेप अर्को बैंकले तान्ने परिपाटी अहिले बढेको छ । तर, आफुसँग भएको निक्षेपलाई अन्य बैंकले तान्न नसकोस् र ग्राहकलाई पनि सहज र सरल सेवा दिएर बढीभन्दा बढी निक्षेप संकलन गर्ने बैंकको अग्रणी स्थानमा एनआइसी एशिया बैंक देखिएको छ ।

नेपाली बैंकिङ्ग क्षेत्रमा एनआईसी एशिया एउटा ब्राण्ड नै बनेको छ । एनआईसी एशिया बैंक्ले छाटो अवधिमा निक्षेप संकलन र कर्जा प्रवाहमा उल्लेख्य रुपमा सफलता हासिल गरेको छ । नेपाली बैंकिङ्ग क्षेत्रमा वाणिज्य बैंकहरुको निक्षेप ४५ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ । जसमा एनआईसी एशिया बैंकको निक्षेप अन्य बैंकको तुलनामा सबैभन्दा धेरै रहेको छ । हरेक सूचकमा आफूलाई अब्बल बनाउँदै आएको एनआईसी एशियाले निक्षेप संकलनमा पनि अब्बल बनेको सूचकहरुबाट देखाउँछ । समग्र बैंकिङ्ग क्षेत्रमा आफूलाई नम्बर वान बनाइरहेको एनआईसी एशियाले निक्षेप वृद्धिमा ठूलो फड्को मारेको देखिन्छ ।

बैंकहरुले निक्षेप संकलन बढाउन विभिन्न प्रडक्ट र योजनाहरु ल्याइरहेका हुन्छन् । साथै बैंकहरुले उच्च ब्याज प्रदान गरेर पनि निक्षेप बढाएका हुन्छन् । जुन बैंकको निक्षेप जति धेरै हुन्छ त्यो बैंकको ब्यापार विस्तार तथा कर्जा विस्तार पनि धेरै हुन्छ । बैंकको निक्षेप बढेर कर्जा लगानी पनि बढायो भने आम्दानी पनि बढी हुने गर्दछ । सोही कारण बैंकहरुमा निक्षेप संकलनका लागि प्रतिस्पर्धा बढी नै हुन्छ ।

आफ्नो विजनेश बढाउन एनआईसी एशिया बैंकले निक्षेप संकलनमा जोडबल लगाउँदै आएको छ । जसमा एनआईसी एशिया बैंकको हिस्सा ३ प्रतिशत भन्दा बढी रहेको छ । ५ वर्षको अवधिमा एनआईसी एशिया बैंकले निक्षेप वृद्धि ह्वात्तै बढाएको छ । बैंकले आर्थिक वर्ष २०७३/०७४ सालमा ८६ अर्ब ६९ करोड ७१ लाख ५० हजार रपैयाँ निक्षेप संकलन गरेको थियो । त्यो बेलामा अर्ब क्लबमा निक्षेप राखेर ब्यापार गरिरहेको यस बैंकले ५ वर्षको अवधिमा २ खर्ब १३ अर्ब ५५ करोड रुपैयाँ निक्षेप पुर्याउन सफल भएको हो ।

५ वर्षको अवधिमा बैंकले २४६ प्रतिशत निक्षेप वृद्धि गरेर आर्थिक वर्ष २०७७/०७८ सम्म ३ खर्ब भढी रकम संकलन गरेको हो । आर्थिक वर्ष २०७४/०७५ मा बैंकले ६४ अर्ब ४७ करोड रुपैयाँ निक्षेप वृद्धि गरेर १ खर्ब ५१ अर्ब १७ करोड ५८ लाख ३८ हजार रुपैयाँ निक्षेप पुर्याएको थियो । उक्त अवधिमा ७४.३७ प्रतिशत निक्षेप बढाउन सफल भएको थियो ।

यस्तै, आर्थिक वर्ष २०७५/७६ मा बैंकले २९ अर्ब ३५ करोड रुपैयाँ निक्षेप वृद्धि गरेर १ खर्ब ८० अर्ब ५३ करोड १४ लाख ५२ हजार रुपैयाँ भित्र्याएको थियो । जुन अघिल्लो वर्षको तुलनामा १९.४१ प्रतिशत बढी थियो ।

यस्तै, आर्थिक वर्ष २०७६/०७७ मा बैंकको निक्षेप ३० अर्ब ३१ कोड वृद्धि गरेर २ खर्ब १० अर्ब ८४ करोड ३४ लाख १ हजार रुपैयाँ पुर्याएको थियो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १६.७९ प्रतिशत बढी थियो । यस्तै, आर्थिक वर्ष २०७७/७८ मा बैंकले ८९ अर्ब ४० करोड रुपैयाँ बढाएर ३ खर्ब २५ करोड २४ लाख७८ हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा ३० प्रतिशत निक्षेप वृद्धि भएको थियो ।

समयअनुरुप ग्राहकमैत्री योजना ल्याउँदै निक्षेप बढाइरहेको एनआईसी एशिया बैंकले पछिल्लो तथ्याङ्क अनुसार ३ खर्ब ५ अर्ब रुपैयाँ निक्षेप पुर्याएको छ । बैंकले ग्राहकहरुलाई बैंकिङ्ग सेवाका साथै आफ्नो विजनेश गर्नका लागि मुलुकभर रहेका ३५९ शाखा कार्यालयमार्फत् निक्षेप बढाइरहेको छ ।

चालू आर्थिक वर्षको ४ महिनामा बैंकको निक्षेप वृद्धि ३.४१ प्रतिशत बढेर ३ खर्ब ५ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । यसअघि गत असार मसान्तसम्ममा २ खर्ब ९४ अर्ब ९८ करोड रुपैयाँ निक्षेप रहेको थियो । यसपटक बैंकिङ्ग क्षेत्रमा तरलता अभाव कायमै रहेको बेलामा पनि बैंकले निक्षेप बढाउन सफल भएको हो ।

बैंकसँग साउनमा ३ खर्ब ५ अर्ब १३ करोड रुपैयाँ, भदौमा ३ खर्ब ८ अर्ब ९२ करोड रुपैयाँ, असोजमा ३ खर्ब ८ अर्ब १८ करोड रुपैयाँ र कात्तिकमा ३ खर्ब ५ अर्ब ४२ करोड रुपैयाँ निक्षेप रहेको छ ।

एनआईसी एशिया बैंकका सूचना अधिकारी सरोज भट्टराइले बैंकिङ्ग क्षेत्र तरलता अभावले थलिएको भएपनि निक्षेप बढाउन सफल भएको बताए । उनले अन्य बैंकको तुलनामा एनआईसी एशिया बैंकको निक्षेप वृद्धिदर उत्साहजनक रहेको बताए ।

‘बैंकका ३५९ वटा बढी शाखा कार्यालय छन्, एटीएम मेसिनहरु ४५० भन्दा बढी छन्, बैंकले ग्राहकहरुलाई सहज रुपमा राम्रो सेवा सुविधा दिइरहेको छ, निक्षेप राख्न र झिक्न सहज गर्दा निक्षेप बढेको हो,’ उनले भने । उनका अनुसार गाउँगाउँमा एनआईसी एशिया बैंकको पहुँच पुगेर सर्वसाधारणलाई उत्कृष्ट सेवा दिएकाले पनि बैंकमा निक्षेप बढेको हो । मुलुकका मुख्य शहरहरुमा पनि एनआईसी एशिया बैंकको उपस्थिती राम्रो रहेको उनले बताए ।

साथै, बैंकले निक्षेप खातामा पनि राम्रै ब्याजदर दिने भएकाले पनि निक्षेप आउने गरेको उनको भनाइ छ । आगामी दिनमा पनि निक्षेप बढाउन थुप्रै रणनीतिहरु तयार पारिसकेको बताए । ‘आगामी दिनमा कसरी निक्षेप बढाउने भनेर बैंकले थुप्रै रणनीतिहरु तयार पारेको छ, निक्षेप संकलन गर्न ग्राहकहरुलाई सहज सेवा दिने, मार्केटिङ गर्ने ब्राण्डिङ लगायतका रणनीतिहरुलाई आत्मसाथ गरेर अघि बढ्ने हो, अहिले पनि हामी यिनै रणनीतिहरु प्रयोग गरेर काम गरिरहेका छौं,’ उनले भने ।

One comment on "५ वर्षअघि अर्बमा बिजनेस गर्ने एनआईसी एशियाको अहिले खर्बको हिसाब, यी हुन् बैंकलाई सफलता दिलाउने रणनीति"

  • कमल शर्मा says:

    यस्तो राम्रो बैन्कले पोहोरसाल आफ्ना शेयरधनीलाई कुनै पनि लाभान्स दिएन । धेरै बैन्कहरुले यो बर्सको लाभान्स दिईसके । यसले अझै कुनै निर्णय गरेको छेेन । नेपाल रास्ट्र बैन्कका हाकिमसङ मिलेर पोहोर जस्तै यो बर्स पनि शेयरधनीलाई फुस्सा पार्न बेर छेेन । बरु यसले यस्तै प्रायोजित समाचारमा लगानी गरेर आफुलाई अब्बल भएको देखाउदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.