२०७९ मंसिर ११ गते १५:५१ विकासन्युज
काठमाडौं । रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपालीहरुले प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिनका लागि विप्रेषण (रेमिट्यान्स) बचत खाता खोली सिआरएन नम्बर लिनु पर्ने भएको छ । विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि १० प्रतिशत आईपीओ पाउने व्यवस्था गरेसँगै रेमिट्यान्स बचत खाता खोली सिआरएन नम्बर लिन सिडिएस एण्ड क्लियरिङ्गले आग्रह गरेको हो ।
‘धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन गर्दा संगठित संस्थाद्वारा निष्कासित सेयरको १० प्रतिशत सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि छुट्याई बाँडफाँट गर्नुपर्ने व्यवस्था छ, नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र निष्कासन तथा बाँडफाँट (छैठौं संशोधन) निर्देशिका, २०७९’ कात्तिक १७ गतेदेखि लागू भइसकेको छ, आश्वा सदस्य बैंक तथा वित्तीय संस्था मार्फत रेमिट्यान्स बचत खाता खोली सि–आश्वा रजिष्ट्रेशन नम्बर लिन सकिन्छ,’ सिडिएस एण्ड क्लियरिङ्गले जारी गरेको सूचनामा उल्लेख छ ।
सम्पूर्ण सि–आश्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्थालाई सि–आश्वा प्रणालीमा आफ्ना ग्राहकको रेमिट्यान्स बचत खाता तथा सो को लागि प्रदान गरिने सिआरएन नम्बर प्रविष्टि गर्ने व्यवस्था गरि सकिएको बताएको छ ।
विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि छुट्याईएको सेयरको खरिदका लागि रेमिट्यान्स बचत खाता उल्लेख गरि दर्ता गरिएको सिआरएन नम्बर अनिवार्य रहेकाले यथाशीघ्र सिआरएन नम्बर लिनहुन सिडिएसले आग्रह गरेको हो ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.