२०७९ मंसिर ११ गते १३:३० विकासन्युज
काठमाडौं । कपडाको नेपाली ब्रान्ड ‘कासा’ले सर्वोच्च शिखर सगरमाथामा ‘द एभरेष्ट शो’ आयोजना गर्ने भएको छ । आफ्नो पाँचौ वार्षिकोत्सवको अवसरमा शनिबार कासाका सञ्चालक डा. पंकज गुप्ताले उक्त घोषणा गरेका हुन् ।
यसअघि पनि पहिलो पटक ‘कासा’ले कालापत्थरमा र दोस्रो पटक सगरमाथाको ५५०० मिटर उचाईमा पर्ने ‘गोक्यो’ मा फेशन शो आयोजना गरी विश्व रेकर्ड बनाइसकेको छ । ‘द एभरेष्ट शो’ मार्फत तेस्रो विश्व रेकर्ड बनाउन उक्त कार्यक्रम आयोजना गर्न लागिएको गुप्ताले जानकारी दिए ।
वार्षिकोत्सवकै अवसरमा ‘कासा’ ले शनिबार साँझ रेड कार्पेट इभेन्ट ‘काठमाडौं फ्यासन गाला’ (फेशन शो) आयोजना गर्याे । रेड कार्पेट इभेन्ट नेपालमा पहिलो पटक आयोजना भएको सञ्चालक गुप्ताले बताए ।
कासाकी सञ्चालिका रमिला नेमकुल भनिन्, ‘यो रेड कार्पेट इन्भेट हामीले नेपालमा पहिलो पटक आयोजना गरेका हौं, फेसन ग्लामर मात्रै होइन्, यो विजनेश पनि हो, फेसन उद्योग विश्वकै दोस्रो ठूलो उद्योग पनि हो, तर नेपालमा यस उद्योगको खासै विकास हुन् नसकेको अवस्थामा हामीले ‘काठमाडौं फ्यासन गाला’ आयोजना गरेका हौं, यस किसिमको कार्यक्रमले फेसन डिजाइनिङ क्षेत्र र यससँग सम्वन्धी अन्य क्षेत्रका सबै व्यक्तिहरुलाई एकआपसमा भेटघाट र चिनजान गर्ने अवसर पनि प्रदान गर्छ ।’
चार वर्षअघि स्थापना भएको कासा ब्राण्ड विश्वका थुप्रै मुलुकमा निर्यात हुँदै आएको छ । ‘कासा’को मुख्य शाखा पाटनढोकामा रहेको छ भने नयाँ आउटलेट दरबारमार्ग र गैरीधारामा पनि सञ्चालनमा छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.