ब्रिजटेकले फर्निचर उद्योगमा चाहिने ७० प्रतिशत मेसिन उपलब्ध गराउँछ : राजेश थापा

  २०७९ मंसिर ९ गते १२:४९     विकासन्युज

ब्रिजटेक इन्टरनेशनल कम्पनीले विगत लामो समयदेखि फर्निचर उद्योगमा चाहिने नयाँ प्रविधिका मेसिनहरूको बिक्री वितरण गर्दै आइरहेको छ । उक्त कम्पनीले सन् २००६ बाट मेसिन बेच्न सुरु गरेको हो । प्रविधिको अवलम्बन गर्दै ठूला उद्योग स्थापनामा सहयोग गर्नुपर्छ भन्ने उद्देश्य बोकेको उक्त कम्पनीले अहिले उच्च गुणस्तर मेसिन उपलब्ध गराउँदै आएको छ । कम्पनीले युरोपियन देशबाट प्रत्यक्ष फर्निचर उद्योगमा चाहिने साना तथा ठूला मेसिनको निर्यात गरी सुलभ दरमा उद्योगहरूलाई बेच्दै आएका छ । कम्पनीले मेसिन बेच्नुका साथसाथै मेसिन चलाउने प्रशिक्षण समेत दिँदै आएको ब्रिजटेक इन्टरनेशनल कम्पनीका प्रबन्ध निर्देशक राजेश थापा बताउँछन् । उनै थापासँग फर्निचर उद्योगले खोज्ने नयाँ प्रविधिका मेसिन, कम्पनीको आगामी योजना लगायतका विषयमा विकासन्युजका लागि राजिव न्यौपानेले कुराकानी गरेका छन् ।

ब्रिजटेकले फर्निचर उद्योगमा चाहिने कस्तो मेसिनहरू बेच्दै आएको छ ?

ब्रिजटेक इन्टरनेशनल फर्निचर उद्योगमा चाहिने आधुनिक मेसिनहरू बेच्ने कम्पनी हो । काठलाई आधुनिक प्रविधिकाको प्रयोगबाट गुणस्तर फर्निचरका सामान बनाउने मेसिनहरू बेच्दै आएको छ । यो कम्पनीको स्थापना भएदेखि नै नेपाललाई विदेशी प्रविधिसँग जोड्नको लागि धेरै मेहनत गरेको छ । हामीले फर्निचर उद्योगहरूमा पहिला मेसिन बेच्दा यो मेसिनबाट गरेको काम पनि यस्तो हुन्छ वा नेपालमा पनि यस्तो बन्छ र भन्ने प्रश्नहरू उठ्थ्यो । तर, आज त्यही मेहनत लगाव पश्चात् आजका दिनमा नेपालका ठूला उद्योगलाई एउटा प्रविधिसँग जोड्दै आएका छौं ।

हामीले घरमा चाहिने तथा फर्निचर उद्योगलाई ठूलो मात्रमा उत्पादन गर्न सक्ने क्षमताका मेसिन दिनको लागि सक्षम छौं । अहिले देश विकासको चरणमा छ । हामी विकासको चरणमा भए पनि कतिपय प्रविधिलाई ग्रहण गर्न सक्दैनौं । हामी मेसिन मात्र बेच्दैनौं ग्राहकहरूलाई यस प्रविधिको बारेमा जानकारी पनि दिन्छौं ।

काठ एउटै हो । चाहे त्यो विदेशी होस् वा स्वदेशी । काठबाट कस्तो सामाग्री बनाउने त्यो मेसिन र डिजाइनमा भर पर्छ । प्रविधिको विकास सँगसँगै अहिले डिजाइन पनि मेसिनले नै गर्न थालिसकेको छ । विदेशबाट आयात भएको काठको सामानको मात्र फर्निचरका सामाग्रीहरू राम्रो हुन्छ भन्ने छैन । नेपालीले पनि प्रविधिको प्रयोग गरेर फर्निचरका धेरै राम्रो सामाग्रीहरू बनाउन सकिन्छ । हाम्रो कम्पनीले फर्निचर उद्योगहरुलाई सुरक्षित मेसिनहरू दिइरहेका छौं ।

हामी युरोपका विभिन्न देशबाट मेसिनहरू ल्याएर उद्योगमा दिन्छौं । एससीएम, फ्रिउड, जिकार, बिस्से लगायतका ब्राण्डका ठूला साना मेसिन उपलब्ध गराउँदै आइरहेका छौं । सस्तो प्रविधिको लागि हामीले चीनबाट पनि मेसिनहरू ल्याइरहेका छौं । चाइनाको भन्दैमा सस्तो छ, कम गुणस्तरको हुन्छ भन्ने आमजनमानसको मानसिकता छ । तर, हामी त्यो मेसिनको पनि सम्पूर्ण पाटपुर्जाको चेक गरेर मात्र ग्राहकलाई दिन्छौं ।

तपाईंले प्रायः नेपालका ठूला फर्निचर उद्योगमा ब्रिजटेक कम्पनीका मेसिनहरू प्रयोग हुन्छन् भन्नु भयो, उद्योगीहरू कस्ता मेसिनहरू खोज्छन् ?

फर्निचर उद्योगमा एउटा मात्र मेसिनको प्रयोग हुँदैन । त्यहाँ अनेकौं प्रविधिको प्रयोग भएका हुन्छन् भने विभिन्न कम्पनीको मेसिनहरू प्रयोग गरेको पाइन्छ । आकर्षक फर्निचरका सामाग्री निर्माण गर्नको लागि फर्निचर उद्योगिहरूले सबैभन्दा बढी कटिङ, कोल्ड प्रेस, हट प्रेस, एजिङ, मल्टी बाेरिङ्ग, सिङगल हेड लगायतका सामानहरू खोज्न अथवा खरिद गर्नको लागि आउनु हुन्छ । यी सामग्री भयो भने एउटा सानो उद्योग खोली करोडौंको कारोबार गर्न सक्छौं । यी मेसिनको आ–आफ्नै विशेषताहरू छन् ।

उद्योग खोल्न चाहनेहरूले ५०/६० लाख रुपैयाँ लगानी गरेर एउटा उद्योगको खोल्न सकिन्छ । नेपालमा वार्षिक ३/४ अर्बको फर्निचर आयात हुन्छ । हामीले उद्योग राखेर काम गर्ने भन्दा पनि आयातित वस्तुको व्यापार मात्र गरिरहेका छौं । त्यसले देशको अर्थतन्त्रलाई पनि टेवा पुर्याउँदैन । न देशको पुँजी पलायन हुनबाट रोक्छ । यदि मेसिन राम्रो ल्याउने हो भने सोही मेसिन २० वर्ष प्रयोग गर्न सक्छौं । यदि तपाईंले युरोपियन मेसिन ल्याउनु भयो भने १०/१५ वर्ष सम्म एउटा पार्ट पनि फेर्नु पर्दैन । मेसिन कहिले नदेखेको मान्छेलाई पनि हामीले तालिम दिएर मेसिन चलाउन सक्ने दक्ष बनाएर पठाएका छौं ।

राज्यले प्रविधिको विषयमा त्यति धेरै चासो देखाएको देखिँदैन । आज प्रविधिका कारण अन्य देशहरू निकै अगाडि पुगिसकेको छन् । विद्यार्थीहरुलाई विद्यालय तहदेखि नै प्राविधिक विषय पढाउन सकिरहेका छैनौं । त्यसले गर्दा पनि कुनै मानिसलाई पहिलो पटक मेसिनको ज्ञान दिन चाहिँ पछि समस्या हुँदो रहेछ । किन भने पहिलाबाट नै उसले सिकेर आएको थियो भने छिटो बुझाउन सिकन्थ्याे होला ।

मेसिनरी सामान हो कहिले काँहि समस्या नआउँला भन् सकिन्न । मेसिन कहिले काहीँ काम गर्दैगर्दा रोकिन्छ । त्यो बेला रातको १२ बजे पनि हामीलाई फोन आउँछ । मेसिन बेचेर मात्र हुँदैन । पहिलो चोटि सोही मेसिनको प्रयोग गर्दा त्यसको विषयमा उद्योगीहरूलाई थाहा नहुनु पनि सक्छ । त्यस कारणले पनि राज्यले प्राविधिक तालिम दिने ठाउँमा व्यवस्था गर्नु जरुरी छ । अहिले आधुनिक प्रविधिका मेसिन आएको कारण धेरै मानिस उद्योगको लागि आवश्यक पर्दैन । मान्छेले गर्ने काम भन्दा हजारौं गुणा मेसिनको माध्यमबाट गुणस्तर सामाग्रीको उत्पादन गर्न सकिन्छ ।

तपाईंको कम्पनीले फर्निचर उद्योगलाई चाहिने मेसिन बिक्री गर्न थालेको पनि एक दशक भइसक्यो, यस कम्पनीले एउटा उद्योगमा चाहिने कति प्रतिशत मेसिन उपलब्ध गराउन सक्छ ?

हामी किल्ला–काँटीमा फोकस छैनौं । हामी ठूला मेसिन बेच्छौं । हामीले प्रत्यक्ष निर्यात गरेर ल्याउने भएको कारण अर्डरमा मेसिनहरु धेरै आउने गर्छ । एउटा फर्निचर उद्योगको लागि चाहिने करिब ७०/८० प्रतिशत हाम्रो कम्पनीबाट मेसिनहरू उपलब्ध गराउन सक्छौं । प्रविधिको ग्यापलाई अलिक माथि लगेर जोडौं भन्ने हाम्रो चाहना हो ।

फर्निचर उद्योग सञ्चालन गर्नको लागि कस्तो खालको मेसिनको आवश्यकता पर्छ ?

कुनै पनि कम्पनीले एउटा मात्रै सामानको उत्पादन र बिक्री गर्दैन । एउटा कुर्सी मात्र बनाएर बस्छु भन्ने हुँदैन । एउटा उद्योगले कुर्सी नै बनाए पनि फरक फरक बनाउला । एउटा उद्योग भित्र सोफा, कुर्सी, खाट, फर्निचर लगायतका सामाग्री बन्छन् । ह्यान्डीक्राफ्ट एउटा सीमित मान्छेले मात्र बनाउँछन् । प्रविधिको विकाससँगै आजको दिनमा त्यो पनि लोप हुँदै गइसक्यो । तर, म त्यसलाई पनि जीवन्त राख्नु पर्छ भन्छु । त्यो हाम्रो इतिहास हो । फर्निचर उद्योगमा काठको काम गर्ने सबै मेसिनहरुको आवश्यकता पर्छ ।

आधुनिक प्रविधिको प्रयोग गरी नेपालको वनजंगललाई सुरक्षित गर्दै त्यसलाई सदुपयोग गर्न सक्यौं भने फर्निचरका सामाग्रीहरू निर्यात पनि गर्न सकिन्छ । हाम्रो मेसिनमा खराबी आयो भने कुन ठाउँमा बिग्रिएको छ त्यो मेसिनमा नै देखाउँछ । त्यो हेरेर बनाएर छिटो पुनः सञ्चालनमा ल्याउन सकिन्छ ।

काठमाडौंको ठूला फर्निचर उद्योगमा हाम्रो मेसिनहरू सञ्चालन भइसकेका छन् । पोखरामा अहिले ३ वटा फर्निचर उद्योग सञ्चालनमा आएका छन् । सोही उद्योगमा पनि हाम्रो कम्पनीबाट लगेको मेसिनहरू प्रयोग भएको छन् । उहाँहरू खुसी हुनु हुन्छ । हिजोका दिनमा ४०÷५० जना मान्छेले हातले काम गरिरहेको ठाउँमा आधुनिक मेसिन प्रयोग गरेर काम सुरु गर्दा मानिस छिट्टै बिग्रियो भने कसरी बनाउने भन्ने विषयले धेरै उद्योगीहरूलाई सताउँदो रहेछ । त्यसैले उहाँहरूलाई प्राविधिक सहयोग पनि गर्दै आएका छौं । अन्य कम्पनीले मेसिन दिनुहुन्छ तर चलाउन सिकाउनु हुन्न । हामी त्यसो गर्दैनौं । जबसम्म उद्योग चल्दैन तबसम्म हामीले सहयोग गरिरहेका हुन्छौं । मेसिनले राम्रोसँग काम गरेको छैन भनेर उद्योगमा नै पुगि अवलोकन पनि गरिरहेको हुन्छौं ।

केही मान्छेसँग थोरै पुँजी हुन्छ तर उद्योगको स्थापना गरेर बस्ने सपना हुन्छ, उनीहरूको लागि तपाईंको कम्पनीले निश्चित समय अवधि भित्र रकम तिर्ने सक्ने सर्तले मेसिन उपलब्ध गराई दिन सक्नुहुन्छ ?

उद्योग सञ्चालन गर्नको लागि बैंक तथा वित्तीय संस्थाहरूले पनि सहयोग गरिरहेको हुन्छ । आफ्नो र सो संस्थाको सहयोगमा सहजै सानोतिनो उद्योग सञ्चालनमा ल्याउन सकिन्छ । केही समय अगाडि हामीले लगानीका लागि बैंकसँग आग्रह गरेका थियौं । आज गाडीमा लगानी गर्न सकिन्छ भने मेसिनमा किन लगानी गर्न सक्दैन ? गाडीको पुनबिक्रय मूल्य छ, मेसिनको छैन । भनेपछि उद्योग नचला भनेको हो । उद्योगले कमाउँछ, गाडीले सक्काउँछ । उद्योग सञ्चालन गर्नको लागि बैंक तथा वित्तीय संस्थाले पनि लगानी गरिदिन्छ । हामी सतप्रतिशत नै रिक्स लिन सक्दैनौं । ग्यारेन्टी दिएर पैसा किस्तामा छोटो समय अवधि भित्र नै मेसिनको रकम उपलब्ध गराउन सक्छ भने मेसिन दिन सक्छौं । गाडी बेच्न सजिलो छ तर मेसिन बेच्न चर्को छ ।

यस्ता मेसिन बेच्ने कम्पनी बिचमा प्रतिस्पर्धा कस्तो छ ?

प्रतिस्पर्धा बिनाको बजार हुँदैन । कसले कस्तो सामान उपलब्ध गराउन सक्छ भन्ने विषय मात्र हो । यस्ता सामान बेच्ने कम्पनीहरू अन्य धेरै पनि हुन सक्छन् । प्रतिस्पर्धा समान ब्रान्डसँग हुनुपर्छ । यसमा प्रविधिले इफेक्ट गर्छ । आजको दिनमा युरोपमा निर्माण कार्य गर्दा बरु ३ वर्ष प्रोजेक्ट लम्बिन्छ, त्यहाँ मान्छेको मृत्यु हुँदैन । अनि उनीहरू भन्छन् हामीले कसैको पनि ज्यान नलिई निर्माण कार्य समय अवधि पुरा गर्यौं । तर, मेसिनमा पनि प्रविधिको काम त्यही हो । तपाईं जति सेफ्टी हुनुहुन्छ त्यति लामो समयसम्ममा काम गर्न सक्नुहुन्छ । यहाँका उद्योगमा सेफ्टिको प्रयोग नगरी काम गरिरहेका छन् । हामीले बेच्ने मोसिनमा सेफ्टी पनि छ ।

अन्त्यमा कम्पनीका भावी योजना के छन् ?

हामीले केही समयपछि उपत्यका भित्र नै डेमो सेन्टरको स्थापना गर्ने सोच बनाएका छौं । ताकि मेसिन किन्ने ग्राहकहरूलाई मेसिनको बारेमा बुझाउँन सकौं । उद्योगमा काम गर्नेहरूलाई मेसिनको बारेमा जानकारी दिने कोसिस पनि गरी रहेका छौं । तर यसको लागि समय लाग्न सक्छ । अहिले हामी विभिन्न प्लेटफर्म मार्फत् मेसिनहरूको बेचबिखन गर्दै आएका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.