संसदमा नयाँ समीकरणले झन् सकसपूर्ण हुन सक्छ अर्थतन्त्र

  २०७९ मंसिर ७ गते १७:०८     नारायण अर्याल

काठमाडौं । मंसिर ४ गते सम्पन्न भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । बुधबार दिउँसो १२ बजेसम्म प्रतिनिधिसभाको १६५ सिट मध्ये २३ सिटको मतगणना सकिएको छ भने १३५ सिटमा मतगणना जारी रहेको छ । मतगणना सकिएको र मतगणना जारी रहेको दुवै अवस्थालाई हेर्दा सत्ता गठबन्धन वा कुनै पनि राजनीनिक दलको एकल बहुमत आउने अवस्था देखिँदैन ।

ठूला राजनीतिक दलहरुमध्ये ०७४ सालको निर्वाचन नतिजाको तुलनामा नेपाली कांग्रेसले केही सुधार गर्ने देखिएको छ भने एमाले केही खुम्चिने भएको छ । माओवादी र मधेसवादी दलहरुको आकार निकै नै घट्न सक्ने संकेत प्रारम्भिक मतपरिणामले देखाएको छ । यो चुनावसँगै डा. सिके राउतको नेपाल जनमत पार्टी र रेशम चौधरीको नेपाल उन्मुक्ती पार्टी क्षेत्रीय पार्टीको रुपमा उदय हुने भएका छन् । त्यस्तै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षमा केही सिट र समानुपातिकतर्फ राम्रो मतसहित राष्ट्रिय पार्टीको रुपमा उदय हुने निश्चित भएको छ ।

तत्कालीन अवस्थामा माओवादीले उठान गरेका मुख्य राजनीतिक एजेण्डालाई समावेश गरेर जारी गरिएको संविधानपछिको पहिलो ५ वर्षको सरकार खासै लोकप्रिय बन्न सकेन । साथै संविधान जारी गरेपछिको पहिलो सरकारले संविधानले अंगिकार गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको कार्यान्वयन नगरेको आरोप पनि लाग्ने गरेको छ ।

विगतको तुलनामा आगामी नेपाली राजनीतिक परिदृष्य झनै समस्यायुक्त हुनसक्ने पूर्व मुख्यसचिव लिलामणि पौडेलको भनाई छ । अर्थराजनीति सुधारका लागि आवश्यक हुने राजनीतिक स्थिरताको अभाव रहने संकेत देखिएको पौडेलको बुझाइ छ । ‘अर्थतन्त्रमा सुधारका लागि चाहिने राजनीतिक स्थायित्व आगामी संसदले शुनिश्चित गर्दैन अथवा राजनीतिक अस्थिरतालाई थप वृद्धि गर्न सक्ने सम्भावना देखिन्छ’, पौडेलले भने, ‘त्यसको असर राज्यको सम्पूर्ण क्षेत्रमा पर्न जान्छ ।’

राजतन्त्र चाहिन्छ भन्ने पक्षको पनि मत बढेको कारणले पनि संविधान कार्यान्वयनको विषयमा पनि आवश्यकताअनुसार एकमत हुन नसक्ने उनले बताए । ‘अहिले गणतन्त्र चाहिँदैन र राजतन्त्र चाहिन्छ भन्ने पक्षको पनि मत बढेको छ’, उनले भने, ‘जसका कारणले गर्दा संविधानको कार्यान्वयनमा पनि एकमत हुने अवस्था रहँदैन ।’

शुसासन स्थापित गर्नुपर्छ भन्ने कुरामा स्थानीय चुनावमा नै मतदाताले ध्यान आकर्षण गराएको बताउँदै पौडेलले दलको विकल्पमा भने स्वतन्त्र हुन नसक्ने बताए । तर, आगामी दिनमा सत्ता बनाउने र भत्काउने शक्तिको चलखेल बढी हुने अबस्था देखिएकाले भविष्य थप चुनौतिपूर्ण रहेको उनले बताए ।

संविधानले नै अर्थराजनीतिक मार्ग स्पष्ट गरिसकेकोले त्यसमा धेरै चलाउनुपर्ने विषय नभएको पूर्व अर्थसचिव शिशिर ढुंगानाले बताए । ‘हाम्रो अर्थनीति कता, हाम्रो आर्थिक नीतिको स्वरुप कस्तो, के भन्ने विषयमा हामी स्पष्ट नै छौं’, उनले भने, ‘तर यसमा अप्रेसन गर्ने मान्छेहरुको स्वरुप, नियत, दृष्टिकोण र मान्यता के हो भन्ने हो ? तर यसमा संविधानले भनेकै छ नी कसरी जाने भनेर ।’

निजी क्षेत्रसँग सहकार्य गरेर जानुपर्ने र अबको सरकार बनाउनेले चुलिँदै गएको अर्थतन्त्रको समस्यालाई सम्बोधन गर्दै आर्थिक समृद्धिको एजेन्डालाई अंगिकार गर्नुपर्ने ढुंगानाले बताए । मतपरिणामको अंकगणितले देखाउने अस्थिरताको सन्दर्भमा उनले राजनीति र अर्थनीतिलाई फरक ढंगले हेर्नु पर्ने बताए ।

त्यस्तै, पूर्व अर्थसचिव रामेश्वर खनालले अहिलेको निर्वाचनमा मतदाताले दिन खोजेको सन्देश भनेको शुसासन भएको बताए । ‘विगतमा राजनीतिक नेतृत्वले क्रोनी क्याप्टिलिज्म, कार्टेलिङ, आफ्ना मान्छेहरुलाई ठेक्कापट्टा र लाइसेन्स दिलाउने, जस्ता काम गरे’, उनले भने, ‘आर्थिक असमानता कम गर्छु भनेर सत्तामा पुग्ने तर सत्तामा पुगिसकेपछि भने करका नीति, खर्चका नीति, आर्थिक नीति र मौद्रिक नीतिबाट आफ्ना मान्छेलाई फाइदा पुग्ने काम गरे, त्यसैले त्यसको विरुद्धमा अहिलेको जनमत हो ।’

खनालले आगामी दिनमा आर्थिक अन्याय र कुशासन हुनेगरी काम गरियो भने त्यसको विरुद्धमा राजनीति अझै सशक्त भएर जाने बताए । ‘स्वतन्त्र पार्टीबाट जितेका उम्मेदवारहरुले शुसासनको पक्षमा नै मत मागेर जितेका हुनाले सकारात्मक परिवर्तन हुन्छ की जस्तो लाग्छ’, उनले भने ।

संविधान पछिल्लो समयमा थप बलियो भएर आएको बताउँदै उनले सरकारले ५ वर्ष पूरा गरेर चुनावको गएको उनले बताए । राजनीतिक दलहरुले जे जसरी ५ वर्ष सरकार सञ्चालन गर्नुपर्ने बताए । सार्वजनिक संस्थाहरुमा हुने अस्थिरताले देशको आर्थिक गतिविधिमा समस्या बनाउने भएकाले आगामी दिनमा त्यस्तो नहुने उनले खनालको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.