२०७९ मंसिर ६ गते १५:२७ विकासन्युज
काठमाडौं । निर्वाचनको प्रचारप्रसार तिव्र भएको अवधिमा ४५ अर्ब रुपैयाँ भन्दा बढी बैकिङ खातामा जम्मा भएको छ । चुनावको बेलामा बजारमा पैसा आउँछ भन्ने अनुमानलाई यसले केही हदसम्म पुष्टि गरेको छ ।
नेपाल बैंकर्स संघको अनुसार कात्तिक १७ अघि वाणिज्य बैंकहरुमा कुल निक्षेप ४५ खर्ब २४ अर्ब रुपैयाँ थियो । कात्तिक ३० गतेसम्म वाणिज्य बैंकहरुमा निक्षेप करिब ३९ अर्ब रुपैयाँले बढेर ४५ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ । निर्वाचनको असरले यो सातामा बैंकहरुमा निक्षेप अझ वृद्धि हुने अनुमान बैंकर्सको रहेको छ ।
विकास बैंक र फाइनान्स कम्पनीहरुमा यस अवधिमा निक्षेप वृद्धि सन्तोषजनक रहेको उनीहरुले बताएका छन् । विकास बैंकहरुमा निक्षेप वृद्धि राम्रो भएकोले नै मंसिरदेखि ब्याजदर घटाउने निर्णय भएको विकास बैंकर्स संघको अध्यक्ष प्रद्युम्न पोखरेलले बताए । ‘ठ्याक्कै रकम भन्न सकिन्न, तर पछिल्लो तीन सातामा ६/७ अर्ब रुपैयाँ विकास बैंक र फाइनान्स कम्पनीमा निक्षेप वृद्धि भएको अनुमान गर्न सकिन्छ,’ उनले भने ।
नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाका कुल निक्षेप ५१ खर्ब ८३ अर्ब रुपैयाँ भएको छ । सिडी रेसियो पनि ८६ प्रतिशतमा झरेको छ ।
राष्ट्र बैंकले सिडी रेसियो ९० प्रतिशतभन्दा कम राख्न बैंक तथा वित्तीय संस्थाहरुलाई भनेको छ । ८५ प्रतिशत सीडी रेसियो हुनलाई तरलताको हिसाबले बैंकिङ क्षेत्र सामान्य अवस्थामा फर्किएको मानिन्छ । तरलता बढ्दै जाँदा पोलिसी रेट ४ प्रतिशतमा झरेको छ । बैंकको अल्पकालिन कर्जाको व्याजदर ९.१९ प्रतिशतमा झरेको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.